काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रथम सहकारी रोजगार मेलाले रोजगारदाता र बेरोजगार बीच पुलको काम गर्ने बताएकी छन् । उनले रोजगारदाता र रोजगारीको खोजी गर्नेहरूको बीच पुलको काम गर्ने उद्देश्यका साथ प्रथम सहकारी रोजगार मेला आयोजना गरिएको बताइन् ।
राष्ट्रिय सहकारी महासंघले प्रथम सहकारी रोजगार मेलाको तयारी सम्वन्धमा आज आयोजना गरेको पत्रकार भेटघाटमा मेलाको आयोजनाले प्रतिभा पलायन रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन हुने अध्यक्ष मल्लको भनाइ छ ।
वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता हुने उनको भनाइ छ । त्यसैगरी स्टार्टअपहरू र साना व्यवसायमार्फत स्वरोजगार हुन चाहनेहरूको लागि नेटवर्किङको कार्य मेलाले गर्ने उनले बताइन् ।
मेलामा सहकारी क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ विभिन्न संघ संस्थाले सञ्चालन गर्ने व्यवसायिक तालिमहरू, शैक्षिक कोर्षहरू र सीप विकास कार्यक्रमहरूको विषयमा जानकारी हुने बताइन।
देशभित्रै स्वरोजगारीका अवसरहरू सिर्जना गर्दै आएको सहकारी क्षेत्रका विषयमा युवालाई जानकारी गराई वैदेशिक रोजगारीको प्रवाह कम गरी उद्यमशीलता विकास गर्न समेत टेवा पुग्ने अध्यक्ष मल्लले बताइन् । मेलाले समयमा नै जागिर सुरक्षित गर्ने र आफ्नो व्यक्तिगत विवरण अनलाइनमार्फत भरी रोजगारीको अवसरको लाभ लिन सकिने भएकाले मेलाप्रति युवाको थप आकर्षण हुने उनको भनाइ छ।
निशूल्क प्रवेश गर्न सकिने मेलामा विश्वविद्यालयदेखि विभिन्न कलेजका विद्यार्थीहरू, रोजगारीको खोजीमा रहेका युवाहरू, प्राविधिक जनशक्तिहरू, सहकारीकर्मीहरू गरी ५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेको युवाहरूका लागि क्युआर कोड स्क्यानमार्फत रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ।
मेलामा रोजगारदाताका स्टलहरू रहने छन् भने सहकारीमार्फत उद्यमी बनेकाहरूका उत्पादनलाई समेत स्थान दिइएको छ । असार ७ गतेदेखि ९ गतेसम्म संचालन हुने मेलाको उद्घघाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले गर्ने जनाइएको छ । मेला अवधिभर सहकारीका ठूलो रोजगारदाताहरूवाट कार्यपत्र प्रस्तुती, अन्तर्राष्ट्रिय श्रम संगठनका विज्ञद्वारा करियर काउन्सिलिङका सेसनहरू समेत सञ्चालन हुने जनाइएको छ ।
मेलालाई भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी बैंक, नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) र नेपाल कृषि सहकारी केन्द्रिय संघको सहकार्य रहेको छ ।
Leave a comment