हाइलाइट

लेखापरीक्षकले ठिक छ भनेर लेखेका कतिपय संस्थामा पनि समस्या देखिएका छन्ः सिए दाहाल

लेखापरीक्षकले ठिक छ भनेर लेखेका कतिपय संस्थामा पनि समस्या देखिएका छन्ः सिए दाहाल :: Sahakari Akhabar

काठमाडौं । चाटर्ड एकाउन्टेन्ट(सिए) शेषमणि दाहालले लेखापरीक्षकले ठिक छ भनेर लेखेका कतिपय संस्थामा पनि समस्या देखिएको बताएका छन् ।

उनले लेखा परीक्षकले संस्था डुब्न लागेको छ भनेर लेखिदिए पनि सदस्यले तालि बजाएर परित गर्ने गरेको बताए । लेखा परीक्षकले रिपोर्टमा आफ्नो राय सुझाव लेखिदिए पनि सदस्यले अध्ययन नगर्नु गलत भएको उनले बताएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस कोषाध्यक्ष गोष्ठीमा सहकारीमा आन्तरिक र वाह्य लेखापरीक्षणको सम्बन्ध र लेखापरीक्षणमा अपनाउनु पर्ने बिधि र प्रक्रियाहरुका विषयमा प्रस्तुती गरेका थिए ।

लेखापरीक्षकले ठिक छ भनेर लेखेका कतिपय संस्थामा पनि समस्या देखिएको उनले बताए । साधारण सभाबाट लेखापरीक्षकको नियुक्ती हुने गरेको र लेखापरीक्षण सञ्चालकका लागि नभई सदस्यका लागि हुने गरेको उनको भनाइ छ ।

संस्थाका सदस्यलाई क्षति नपुग्ने गरी अडिट गर्ने काम लेखापरीक्षकको भएको उनले जनाए । कतिपय संस्थामा सञ्चालकहरुको दवावका कारण स्वतन्त्र र निर्भिक रुपमा लेखापरीक्षण हुन नसकेको उनको भनाई छ ।

साधारणसभाले नियुक्ती गरेको लेखापरीक्षक कसैले हटाउन नसक्ने दाहालले बताए । संस्थाको आन्तरिक नियन्त्रण प्रणाली,कानुनको अनुपालना,संस्थागत सुशासन र कारोबारमा त्रुटि छ कि छैन भनेर हेर्ने काम आन्तरिक लेखापरीक्षणले गर्नु पर्नेमा उनको जोड छ।

संस्थाको गुणस्तर कायम गर्न आन्तरिक लेखापरीक्षण गर्न आवश्यक रहेको उनको भनाई छ । लेखापरीक्षक र सञ्चालकबीच घ्यू सम्बन्ध हुन नहुने र केही मात्रामा भए पनि घर्षण आवश्यक रहेको उनले जनाए ।

संस्थाका कतिपय व्यवस्थापकले सफ्टवेयरको गलत प्रयोग गरेर नाफा लिने गरेको उनले जनाए । सहकारी संस्थाले हाइरिक्स भएका र हरेक प्रडक्टका ५ वटा खाता जाँच गर्दा समस्या पत्ता लगाउन सक्ने उनले जनाए ।

कार्यक्रम संघका कोषाध्यक्ष बसन्त मालीले अध्यक्षता गरेका थिए भने टिप्पणीकर्ताकारुपमा बागमती प्रोस्कूनकी उपाध्यक्ष कल्पना श्रेष्ठले गरेकी थिइन् ।

संस्थाका पदाधिकारी भएर हिड्ने तर सहकारी ऐन नियममा भएको कानुनी व्यवस्था ख्याल नगर्दा सहकारीकर्मीले ठगको सज्ञा खेप्नु परेको उनले बताइन् । हतारमा निर्णय नगरी आन्तरिक विधिहरु, कानुनका विषयमा कोषाध्यक्ष सचेत हुनु पर्ने बताइन् ।

वित्त व्यवस्थापनमा जहिले पनि कोषाध्यक्षको भूमिका महत्वपूर्ण हुनुपर्ने उनले बताइन् । आर्थिक बर्ष सकिएको ३ महिना भित्र अडिट गरि सक्नुपर्ने भएकाले लेखापरीक्षकले हिसाबकिताव राम्रोसँग जाँच नगरी गर्ने गरको घटना सहकारीमा भेटिएको उनले बताइन् ।

कोषको सम्पुर्ण जिम्मेवारी कोषाध्यक्ष भएको भन्दै उनले यी कुरा नछुटाइकन लेखापरीक्षकले हेरिदिन आग्रह गर्नुपर्नेमा उनको जोड छ। संस्थामा कम त्रुटी गराउन र नियतबस हुने वदमासीलाई रोक्न कोषाध्यक्ष चनाखो हुनुपर्ने बताइन् ।



Leave a comment