Sahakari Akhabar

सहकारीमा लेखा समिति निश्कृय, संचालकको मनोमानी 

सहकारीमा लेखा समिति निश्कृय, संचालकको मनोमानी  :: Sahakari Akhabar

काठमाडौं । सहकारी संस्थाहरुमा आन्तरिक लेखापरिक्षणको भूमिका रहेको लेखा सुपरिवेक्षक समिति निश्कृय हुँदा संचालकले मनोमानी गरेको सरोकारवालाहरुले बताएका छन् ।

व्यवस्थापन र संचालकको कामको सुपरिवेक्षण गर्ने भूमिका समितिले निर्वाह नगर्दा संचालकले बदमासी गरेको र यसले सदस्यहरु पिडित भएको उनीहरुको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा बिहिबारदेखि सुरु भएको दोस्रो लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा कार्यपत्र पेश गर्दै एसियाली ऋण महासंघ (अक्कु)का चिफ टेक्निकल अधिकृत रञ्जित हिताराचीले नेपालको सहकारीमा समस्या आउनुमा लेखा सुपरिवेक्षण समिति मुख्य जिम्मेवार रहेको बताए ।

‘संचालक समिति र व्यवस्थापनले कामलाई हेर्न लेखा सुपरिवेक्षण समिति राखिएको हो’, उनले भने, ‘बोर्डले गलत काम गर्दा पनि समितिले हेर्न सकेन र सहकारीमा समस्या आयो ।’ सहकारीहरुमा लेखा समितिमा संचालककै परिवारका व्यक्ति राख्ने, बोर्डसँग संयुक्त मिटिङ बसेर लेखा लेखा प्रतिवेदन पास गर्ने जस्ता गलत प्रवृत्ती रहेको भन्दै यसलाई सुधार गर्न उनले सुझाव दिए ।

हिताराचीले नेपालका सहकारीहरुले ५ खर्ब पुँजी परिचालन गरिरहेको र यसको सुरक्षाका लागि बलियो नियमन आवश्यक रहेको बताए । ‘सहकारीको नियमन गर्नका लागि दोस्रो तहको नियामक गठन गर्न लागिएको सुनेको छुँ’, उनले भने, ‘यसको विरोध होइन, छिटो भन्दा छिटो स्थापना गर्नका लागि सहयोग गर्नुहोस् ।’

कार्यक्रममा अक्कुकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी साना रोक्योले लेखा सुपरिवेक्षण समिति प्रभावकारी बनाउनका लागि उपयुक्त व्यक्ति त्यहाँ पुग्ने व्यवस्था आवश्यक रहेकोमा जोड दिइन ।

सहकारीको संचालक, लेखा समिति तथा उच्च व्यवस्थापन तहमा काम गर्नुअघि ‘फिट एण्ड प्रोपर टेस्ट’ आवश्यक हुने उनले बताइन् ।लेखा सुपरिवेक्षण प्राविधिक काम भएकाले उक्त जिम्मेवारीमा जाने व्यक्ति सम्वधित विषयमा जानकार हुनुपर्ने उनको जोड थियो । कार्यक्रमको अध्यक्षता अक्कु एवं नेफ्स्कूनका पूर्व अध्यक्ष ऋिषिराज घिमिरेले गरेका थिए ।



Leave a comment