Sahakari Akhabar

काठमाडौमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी

काठमाडौमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी :: Sahakari Akhabar

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले लेखा सुपरिवेक्षण समितिको दोश्रो राष्ट्रिय गोष्ठी गर्दैछ । काठमाडौंको सोल्टी होटलमा बैशाख २५ र २६ गते हुने गोष्ठीमा अपेक्षा गरेअनुसार नै देशभरका संस्थाहरुबाट लेखा समितिका पदाधिकारीले नाम दर्ता गराएको नेफ्स्कूनकी उपाध्यक्ष एवं गोष्ठीकी संयोजक शान्ती अधिकारीले जानकारी दिइन्।

“संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूति ः प्रभावकारी लेखा सुपरिवेक्षण समिति” थिमका साथ दोश्रो राष्ट्रिय गोष्ठी हुन लागेको हो । गोष्ठीले लेखा समितिका पदाधिकारीहरुमा ज्ञान र सीप प्रदान गर्नुका साथै आफ्नो कर्तव्य के रहेछ भन्ने कुराको स्पष्ट जानकारी दिने अधिकारी बताउँछिन् ।

नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस अघि नै लेखा सुपरीवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न गरिसक्नुपर्ने भएपनि प्राविधिक कारणले केहि ढिला भएको बताए । संस्थाभित्र सुशासन कायम गर्न र लेखा समितिको क्षमता अभिवृद्धि गर्न यो गोष्ठी फलदायी हुने उनको भनाई छ ।

समय अनुकूल नभएपनि नेफ्स्कूनको साधारणसभा र बोर्ड बैठकले नै पारित गरिसकेकाले निर्धारित तालिका अनुसार नै गोष्ठी सम्पन्न गर्न लागेको उनले भने । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायका प्रमुख र प्रतिनिधिहरुले विविध विषयमा प्रस्तुतिकरण गर्ने भएकोेले सहभागिका लागि यो महत्वपूर्ण हुने उनको भनाइ छ ।

गोष्ठीको पहिलो दिन ‘संस्थागत सुशासन र सुरक्षणको प्रत्याभूतिः प्रभावकारी लेखा सुपरिवेक्षण समिति’ भन्ने विषयमा नेफ्स्कूनका सीइओ शवजी सापकोटाको प्रस्तुती रहने जनाइएको छ । त्यसैगरी प्रमुख कार्यकारी अधिकृत, लेखा सुपरिवेक्षण समिति, आन्तरिक लेखापरिक्षण र बाह्य लेखापरिक्षकको सम्बन्ध : परीक्षणका क्षेत्र, विधि र प्रकृयाहरु’ विषयमा आइक्यानका तर्फबाट संजिव ढकाल र ‘स्वस्थ एवम् सुरक्षित साकोस निर्माणः औजार र प्रविधि’ विषयमा आकुकी प्रतिनिधि एलिनिटा भि. सानरोक्यूले प्रस्तुति रहने तालिका रहेको छ ।

सोही दिन ‘लेखासुपरिवेक्षण समितिको अभ्यासः सरोकारवालाको चासो र भूमिका’ विषयमा सदस्य संस्थाका लेखा समिति संयोजक र विषय विज्ञहरुबीच सामुहिक छलफल हुनेछ । त्यसैगरी दोश्रो दिन ‘नियामकीय दृष्टिकोणमा सहकारी क्षेत्रको विद्यमान समस्या र समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेको प्रस्तुती रहनेछ भने ‘वित्तीय सहकारीमा आन्तरिक नियन्त्रण प्रणाली : विश्व अभ्यास र नेपालको सम्भावना’ विषयमा विश्व ऋण परिषद् (ओकु) की प्रतिनिधि एरिन ओ हेनरीले सहजीकरण गर्ने छन् ।

त्यसैगरी ‘संस्थागत सुरक्षा र सुपरिवेक्षणमा वित्तीय क्षेत्रको अभ्यास र साकोस अभियान’ विषयमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपाल र उत्प्रेरणात्मक प्रस्तुतीकरण ः ‘समस्या, नेतृत्व, सम्भावना र समाधान’ विषयमा रमण नेपालीको प्रस्तुति रहनेछ । गोष्ठीमा देशभरबाट ३ सय ५० जनाले नाम दर्ता गराएको नेफ्स्कूनले जनाएको छ ।



Leave a comment