काठमाडौं । दुग्ध उत्पादक किसानहरूको गुनाँसो तत्काल सम्बोधन गर्न राष्ट्रिय सहकारी महासंघले आव्हान गरेको छ । महासंघले प्रेस विज्ञप्ती प्रकाशन गरी दूध बिक्रीको करिब ६ अर्ब रुपैयाँको बक्यौता तत्काल भुक्तानी गर्न माग गर्दै शुरु गरेको आन्दोलनमा राष्ट्रिय सहकारी महासंघले ऐक्यवद्धता जाहेर गरेको जनाएको छ ।
संघले छ महिनादेखि दूध बिक्रीको भुक्तानी नहुँदा किसानले ठूलो क्षति व्यहोर्नुपरेको संघको भनाइ छ । यस्तो अवस्थामा किसानको गुनाँसो तत्काल सम्बोधन गर्न सरकारसँग महासंघले माग गरेको छ ।
गत मंसिरमा सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रीले नै गरेको सहजीकरणमा पुससम्मको बक्यौता तिर्ने र त्यसपछि नियमित रकम निकासा गर्ने आश्वासन दिएर पनि भुक्तानी नहुँदा बक्यौता वितरण हुन नसकेकोमा महासंघले खेद प्रकट गरेको छ ।
सम्झौता कार्यान्वयन नगर्नाले दुग्ध किसानहरूलाई आर्थिक तनाव बढाएको, संस्थागत संयन्त्रहरूमा समेत विश्वास गुम्दै गएको महासंघको भनाई छ ।
दुग्ध कृषकका गुनासो सम्बोधन गर्न र सहकारी प्रणालीमा विश्वास पुर्नस्थापित गर्न द्रुत र निर्णायक कदम चाल्न हामी सरकारसंग जोडदार माग गर्दछौ विज्ञप्तीमा, भनेको छ ।
ग्रामिण अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको दुग्ध किसानको समस्या समाधानलाई प्राथमिकता दिन सरकारी निकाय र उद्योग प्रतिनिधि लगायत सबै सरोकारवालाहरूलाई महासंघले आग्रह गरेको छ । त्यसैगरी दुग्ध कृषकहरूसँग गरेका प्रतिबद्धताहरू पूरा गर्न र कृषकहरूको आर्थिक समृद्धि सुनिश्चित गर्न आवश्यक कदम चाल्न महासंघले आव्हान गरेको छ ।
Leave a comment