काठमाडौं । इलामको रोङ गाउँपालिकाले सहकारी मार्फत बेसार प्रवर्धन अभियानमा लागेको छ । पालिकाले यसअघि गुन्द्रुक, र सिस्नोको उत्पादनलाई ‘ब्रान्डिङ’ र बजारीकरण गरेको थियो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ ।
स्थानीय सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले बताए । उनले गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको बाए ।
उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने र प्रतिकिलोग्राम ४० रुपैंयाँका दरले किसानबाट काँचो बेसार खरिद गर्ने बताइएको छ । सुरुमा ४५ जना किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइने छ र पर्याप्त उत्पादनपछि बाहिर निकास गर्न थालिने बताइएको छ ।
गाउँपालिकामा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । बेसार १० गुना बढी फल्ने गरेको किसान बताउँछन् । बाँदरलगायतका जंगली जनवारले बाली नष्ट गरेपछि किसान बेसार उत्पादनमा आकर्षित भएका हुन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने गरेको किसानको भनाइ छ ।
किसान शान्तकुमारी लाप्चाले एक किलोग्राम बेसारको बीउबाट १६ किलो बेसार उत्पादन गरेको अध्यक्ष स्याङ्बोले बताए । गाउँपालिकाले सबै छवटै वडामा बेसार खेती विस्तार गर्ने लक्ष्य लिएको छ । गाउँपालिका र जिल्लाबाहिर बेसार निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराउन यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष स्याङ्बोले बताए ।
गाउँपालिकाले कपुरबोट जातको बेसार किसानलाई वितरण गरेको छ । गाउँपालिकाले यसअघि ‘रोङ मह’ र गुन्द्रुक ब्रान्डिङ गरेको छ भने सिस्नो बजार पुर्याउन थालेको छ । उत्पादन सुरु भएपछि ‘रोङ बेसार’लाई पनि ब्रान्डिङ गरिने जनाइएको छ ।
Leave a comment