हाइलाइट

नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको उपस्थितिः राष्ट्रिय पुँजी निर्माण र गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान

नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको उपस्थितिः राष्ट्रिय पुँजी निर्माण र गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान :: Sahakari Akhabar

के हो राष्ट्रिय पुँजी निर्माण ?

- नेपालमा राष्ट्रिय पुँजी निर्माणको गणना राष्ट्रिय तथ्यांक कार्यालयले चौमासिक र वार्षिक रूपमा गर्दछ ।
- गणना गर्ने विधि अन्तरराष्ट्रिय रूपमा स्वीकार्य संयुक्त राष्ट्र संघले जारी गरेको System of National Accounts, 2008 मा उल्लिखित कार्यविधि अनुरूप छ ।
- कुनै खास अवधिमा कुल राष्ट्रिय पुँजी निर्माण = त्यो अवधिमा (मुलुकभित्र भएको खुद स्थिर पुँजीगत लगानी + मौज्दात (Inventory) मा भएको वृद्धि + विदेशमा भएको खुद लगानी)
- खुद स्थिर पुँजी लगानी भनेको उत्पादनका निमित्त प्रयोग गरिने लगानी हो जुन राष्ट्रिय बचत र वैदेशिक लगानीबाट प्राप्त हुन्छ।

राष्ट्रिय पुँजी निर्माणको गणना

राष्ट्रिय पुँजी निर्माण गणना गर्दा निम्न तीनवटा इकाईले गरेको पुँजी निर्माणको रकम जोडिन्छ:
- सबै तहका सरकार, जसको आंकडा सरकारी पुँजीगत खर्चको विवरणबाट प्राप्त हुन्छ ।
- सरकारी स्वमित्वका सार्वजनिक संस्थानहरूको पुँजी निर्माण, जुन संस्थानहरूको एकीकृत वासलातबाट प्राप्त हुन्छ ।
- निजी क्षेत्रको पुँजी निर्माण जसको तथ्यांक अर्थतन्त्रमा पुँजीगत लगानीका भएको कुल प्रवाह, स्वपुंजी लगानीको रकमको अनुमान गरेर गरिन्छ ।

राष्ट्रिय पुँजी निर्माणमा सहकारीको योगदान कति त ?

- SNA 2008 ले सहकारीलाई अलग्गै इकाई मान्दैन । त्यसकारण राष्ट्रिय तथ्यांक कार्यालयले पनि समग्ररूपमा सहकारी संस्थाहरूले एक वर्षमा कति राष्ट्रिय पुँजी निर्माणमा योगदान पुर्याए त भनेर अलग्गै गणना गर्दैन ।
- राष्ट्रिय सहकारी महासंघका अनुसार मलुकभर ३१,३७३ सहकारी संस्थाहरू र ३४२ विभिन्न तहका सहकारी संघहरू छन्।
- राष्ट्रिय आर्थिक गणना २०७५ले मुलुकभर ९२३,३५६ व्यावसायिक प्रतिष्ठानहरू संचालनमा रहेको देखाउँछ ।
- संख्यात्मक हिसाबले सहकारीको उपस्थिति कम देखिनु स्वाभाविकै भए पनि नीजी प्रतिष्ठान र घरायशी क्षेत्र जस्तो आर्थिक गतिविधिमा विविधता सहकारीको छैन । पर्यटन, जलविद्युत उत्पादन, ठुला उद्योग, खानी उत्खनन्, सूचना प्रविधिमा आधारित सेवा, ढुवानी तथा हवाई यातायात सेवा, निर्माण ब्यवसाय आदिमा सहकारीको उपस्थिति शून्य छ । प्रशोधित खाद्य सामग्री तथा कृषि तथा बनस्रोतमा आधारित प्रशोधन उद्योगहरूमा सहकारीलाई रणनीतिक लाभ छ, तर नीजी क्षेत्रका प्रतिष्ठानहरू सहकारीको तुलनामा कोशौं अगाडि छन् ।
- सबै सहकारी संस्थाहरूको एकीकृत वासलात तयार गर्ने हो भने राष्ट्रिय पुँजी निर्माणमा सहकारीले कति योगदान गरे भनेर हिसाब निकाल्न त सकिन्छ । तर यसका निमित्त संस्थागत प्रयत्न हुनु पर्छ, जुन काम राष्ट्रिय सहकारी महासंघ जस्तो निकायले गर्न सक्नु पर्ने हो ।
- तर माथि नै भने जस्तो ठूलो लगानी आवश्यक पर्ने उद्योग व्यवसायमा सहकारीको उपस्थिति शून्य भएकोले सहकारी क्षेत्रबाट राष्ट्रिय पुँजी निर्माणमा योगदान उल्लेख्य नभएको अनुमान गर्न सकिन्छ । 
- सहकारी वित्तीय प्रणालीले आफ्ना सदस्यहरूलाई पुँजी निर्माण गर्न योगदान गरेका छन् भन्ने तर्क गर्न सकिएला, तर सहकारी क्षेत्रको ठूलो लगानी सम्पत्तिको बजारमा गएको छ, जसले सम्पत्तिको स्वामित्वको रूपान्तरण मात्र गर्दछ, सम्पत्ति सिर्जना गर्दैन।

के हो कुल गार्हस्थ्य उत्पादन ?

कुल गार्हस्थ्य उत्पादन भन्नाले मुलुकले एक अवधि (साधारणतया एक आर्थिक वर्षमा वा एक चौमासिकमा) गरेको कुल वस्तु तथा सेवा उत्पादनको मूल्य हो, जुन तलका तीनमध्ये कुनै एक विधिबाट गणना हुन्छ :

- उत्पादन विधिः सबै उत्पादन एकाइहरूले एक अवधिमा गरेको कुल उत्पादनको मूल्य + उत्पादनमा लागेको कर–उत्पादनमा दिइएको अनुदान / सब्सिडी) को जम्मा रकम 
- आय विधिः मुलुकभित्रका सबै उत्पादन इकाईहरूले गरेको प्राथमिक आम्दानीको जम्मा रकम 
- खर्च विधी : उपभोक्ता मूल्यमा सबै उपभोग इकाईहरूले गरेको अन्तिम वस्तु वा सेवाको उपभोगको रकम + निर्यात – आयात
- उत्पादन विधिबाट कुल गार्हस्थ्य उत्पादन गणना गर्दा १८ वटा औद्योगिक वर्गीकरण अनुसार खुद मूल्यवृद्धिको तथ्यांक संकलन गरिन्छ ।
- आय विधिबाट गणना गर्दा मुलतः तलब तथा ज्याला, सरकारको खुद राजस्व (उत्पादनमा दिएको अनुदान कटाएर) र उत्पादन इकाईहरूको खुद मुनाफा
- खर्च विधिबाट गणना गर्दा सरकारी उपभोग, निजी उपभोग र गैरमुनाफामुखी संस्थाले दिएको सेवाको लागत जोडेर आउने रकम

कुल गार्हस्थ्य उत्पादन गणना गर्दा के समावेश हुँदैन ?

आफ्नै अन्तिम उपभोगका लागि गरिने कृषि उत्पादन
- आफ्नो आवासका लागि आफ्नै सामाग्री र श्रमले बनाएको घर
- आफ्नै उपभोगका लागि आफ्नै सामग्री र श्रम प्रयोग गरेर उत्पादन गरेको वस्तु
- आफ्नै घरमा परिवारका सदस्य मिलेर उत्पादन गरेका व्यक्तिगत सेवाहरू

कुल गार्हस्थ्य उत्पादनको क्षेत्रगत संरचना (२०७९ / ८० को तथ्यांक)

प्राथमिक क्षेत्र २४.६ प्रतिशत
द्वितीयक क्षेत्र १२.९ प्रतिशत 
सेवा क्षेत्र ६२.४ प्रतिशत

कुल गार्हस्थ्य उत्पादनमा सहकारीको योगदान कति त ?

माथि प्रस्तुत तथ्यांकलाई सहकारीको सन्दर्भ राखेर विश्लेषण गर्दा निम्न स्थिति देखा पर्दछः

- प्राथमिक क्षेत्रमा (प्रत्यक्ष खेती, बन, मत्स्यपालन, र खानी उत्खनन) सहकारीको संलग्नता छैन । 
- द्वितीयक क्षेत्रमा (उत्पादनशील उद्योग, विद्युत उत्पादन, खानेपानी तथा सरसफाइ क्रियाकलाप, र निर्माण) एकदम गौण उपस्थिति रहेको देखिन्छ । 
- सेवा क्षेत्रमा वित्तीय सेवा र नगण्य खुद्रा व्यापार सेवा बाहेकका अरू उपक्षेत्रहरू जस्तै होटेल तथा रेस्टुरेन्ट, सूचना प्रविधि सेवा, शिक्षा, स्वास्थ्य सेवा, कला तथा मनोरञ्जन, घरायसी सेवा, ढुवानी तथा भण्डारण सेवा, सार्वजनिक प्रशासन, रियल इस्टेट क्रियाकलाप जस्ता काममा सहकारीको संलगनता शुन्यप्राय छ ।

यस आधारमा सहकारीले गार्हस्थ्य उत्पादनमा पुर्याएको योगदान ज्यादै कम देखिन्छ ।

दुई वर्ष अघिको तथ्यांकमा आधारित सहकारीमा गरिएको पुँजी लगानी, गरिएको बचत परीचालन र कारोबारको समग्र अवस्थामा मुल्यांकन गरेर हेर्दा सहकारी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा पुर्याएको योगदान करीब २.६२ प्रतिशत देखिएको थियो । यसै आधारमा राष्ट्रिय सहकारी विकास बोर्डले आर्थिक वर्ष २०८२ / ८३ सम्म ५ प्रातिशत पुर्याउने र २५ वर्षको अवधिमा बढाएर १५ प्रतिशत पुर्याउने लक्ष लिएको थियो ।

तर विगत दुई वर्षको अवधिमा प्रकट भएको सहकारी वित्तीय प्रणालीको सम्पत्तिमा आएको ह्रासलाई हेर्ने हो भने पछिल्ला आर्थिक वर्षहरूमा सहकारी क्षेत्रले गार्हस्थ्य उत्पादनमा पुर्याएको योग्दान २.६२ प्रतिशत बाट घटेर १.५ प्रतिशतमा झरेको अनुमान गर्न सकिन्छ । किनकी सहकारी क्षेत्रको करीब १०० अर्ब रुपैयाँको सम्पत्ति संकटग्रस्त बन्न गएको छ । ( ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले नगरकोटमा आयोजना गरेको साकोसका अध्यक्षहरुको दुइदिने गोष्ठीमा प्रस्तुत गरिएको कार्यपत्रबाट )



Leave a comment