चीना थापा, विराटनगर । विराटनगर १२ का सागर आले नेपाली स्टार ईटा उद्योगमा बजार प्रतिनिधिको रुपमा काम गर्छन । उनले आफूले काम गरेको केही रकम २०७८ सालदेखि विराटनगर १० मा रहेको स्वयम्भू बचत तथा ऋण सहकारीमा जम्मा गर्दै आएका थिए ।
उनीसँगै उनका साथि नरेन्द्र प्रसाद दुलालले पनि बचत गर्ने गरेका थिए । ८ प्रतिशत व्याज दिने सहकारीले बताएको थियो । तर, उनीहरुले व्याज त परको कुरा आफूले बचत गरेको पैसा लिनको लागि भौतारिरहेका छन् ।
बचत रकम लिन जाँदा सुरुमा नदिएको र दशैदेखि सहकारीको कार्यालय नै बन्द रहेको आलेले बताए । उनले विभिन्न मितिमा ४३ हजार १६५ रुपैया बचत गरेका थिए । उनले भने, ‘स्वयम्भु बचत तथा ऋण सहकारी संस्था विधिवत दर्ता भई सञ्चालन भएको सहकारी संस्था हो ।
उक्त सहकारी संस्थामा हामी पनि शेयर सदस्य रही सो संस्थामा खाता खोली खाता नं. २९३३ मा विभिन्न मितिमा ४३,१६५ रुपैयाँ जम्मा गरेको थिएँ र नगेन्द्र प्रसाद दुलालले खाता नं. २९३५ मा विभिन्न मितिमा जम्मा ३४, २१६ जम्मा गरेको थियो ।’ सुनसरी दुहबी न.पा वडा नं ४ का नगेन्द्र प्रसाद दुलाल र आले सँगै काम गर्ने साथि भएकाले उनीहरुले एउटै सहकारीमा बचत गरेका थिए।
सहकारीमा बचत गरेको रकम झिक्ने अवधी पुरा भएपछि रकम माग गर्न जाँदा व्यवस्थापकीय कारण देखाउँदै रकम फिर्ता दिन नसक्ने बताउँदै फर्काउदै गरेको उनीहरुको भनाई छ । पटक पटक जाँदा पनि पैसा छैन भन्दै फर्काएको बताउँदै आलले अहिले कार्यालय नै बन्द अवस्थामा रहेको बताए ।
बचत रकम फिर्ता गराईदिन माग गर्दै आले र दुलालले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी पनि दिएका छन् । आईतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आलले धेरै सदस्यको पैसा अपचलन गरेर भागेको हुनाले खोजी गरी अनुसन्धानमा ल्याउनुपर्ने बताए ।
बचतकर्ताको रकम ठगी गरी उक्त रकम अपचलन गरी सहकारीको मूल्य मान्यता विपरीत कार्य गरेको र उक्त कार्य सहकारी ऐन, २०७४ को दफा १२२ (ख) (घ) (च) विपरीतको कार्य भएको हुँद सहकारीका पदाधिकारीहरुलाई तत्काल पक्राउ गरी उक्त ठगीमा संलग्न अन्य व्यक्तिहरु भए निजहरु उपर समेत अनुसन्धान गरी ऐनको दफा १२४ बमोजिम हदैसम्मको कारबाहि गर्न उनीहरुले माग गरेका छन् ।
धेरै बचतकर्ताहरुले समेत जम्मा गरेको रकम विभिन्न डर र त्रास का कारण बाहिर आउन नसकेको उनीहरुले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा उल्लेख गरेका छन् । ‘हामी बचतकर्ताले आफुले जम्मा गरेको रकम पटक पटक स्वयम्भु बचत तथा ऋण सहकारी संस्थामा लिन जाँदा कार्यालय बन्द रहने, सहकारी संस्थाका अध्यक्ष प्रदिप महतो समेत सम्पर्कमा नआउने गरी फरार रहेको यहाँहरु समक्ष जानकारी गराँदछौ ।’ निवेदनमा भनिएको छ ।
सहकारीमा ठूलो संख्यामा बचत गर्ने मानिस भएकाले आफूले पनि व्याज आउने र आफ्नो र परिवारको भविष्य उज्वल बनाउने आशा र विश्वासमा बचत गर्दै आएको आलेले बताए ।
आफूहरुले सहकारीका सञ्चालक समिति, लेखा समिति, ऋण उपसमिति र सहकारीका व्यवस्थापक तथा कर्मचारीहरुले अन्याय गरेको बताउँदै सबैलाई अनुसन्धानमा ल्याएर बचत रकम फिर्ता हुने वातावरण बनाउन आग्रह गरिरहेको उनीहरुले बताए ।
उनीहरुले विराटनगर महानगरपालिकामा पनि उजुरी दिने तयारी गरिरहेका छन् । सहकारीका अध्यक्ष प्रदिप महतोलाई सहकारीको अवस्थामा बारेमा बुझ्न खोज्दा सम्पर्क भए पनि फोन रिसिभ गरेनन् । पछिल्लो समयमा सहकारीमा देखिएका यस्तै समस्याले सहकारीप्रति नकारात्मक धारणा बढीरहेका छन् ।
Leave a comment