ललितपुर । जिल्ला वचत तथा ऋण सहकारी संघ ललितपुरले साकोसका अध्यक्षहरुको क्षमता अभिवृद्धि गोष्ठी गर्ने भएको छ । संघको आयोजनामा “साकोसमा अध्यक्षको भूमिका र जवाफदेहिता” विषयक सहकारी संस्थाको बृहत्तर विकासका लागि “साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर” गर्न लागेको हो ।
संघले आगामी फागुन ४ र ५ गते नगरकोटको रत्नागिरी रिर्सोटमा गोष्ठी गर्ने जनाएको छ । विभिन्न विषय विज्ञहरुको प्रस्तुति रहने गोष्ठीमा वर्तमान परिस्थितिको सामाना गर्न अध्यक्षहरुको क्षमता विकास गर्ने उद्देश्य आयोजकको रहेको छ ।
गोष्ठीमा पूर्व अर्थ सचिव रामेश्वर खनालले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको उपस्थितिःराष्ट्रिय पुँजी निमार्ण र ग्राहस्थ उत्पादनमा योगदान, प्रेरक वक्ता एवं पूर्व राजदुत महेश दाहालले सकरात्मक सोच सहितको सहकारी नेतृत्व र व्यक्तित्व विकास, राष्ट्रिय सहकारी बैंकका सिइओ बद्री कुमार गुरागाईले वित्तीय सहकारीको जोखिम व्यवस्थापनःजोखिम पहिचान, विश्लेषण, मुल्याङ्कन पद्धती र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले सहकारीको समस्या समाधानमा प्रसासनको भूमिका विषयमा प्रस्तुति गर्ने संघले जनाएको छ ।
त्यसैगरी सिआइविको तर्फबाट सहकारी क्षेत्रमा कानुन पालनाको विद्यमान अवस्थाः कानुनको पालनामा नेतृत्वको जवाफदेहिता ,चन्द्रागिरी साकोसका सिइओ कृष्ण कुमार श्रेष्ठले सफल सहकारी निमार्ण कसरी ? संकट व्यवस्थापन नेतृत्वको जिम्मेवारी, भूमिका र जवाफदेहिता तथा हास्य कलाकार राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुति राख्ने भएका छन् ।
Leave a comment