काठमाडौं । काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघले दोस्रो काठमाडौं साकोस समिट सम्पन्न गरेको छ । माघ ११ गते ह्यात होटमा भएको दोस्रो काठमाडौं साकोस समिटमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख अतिथ्यता रहेको थियो ।
संघका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा भूमि ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्ण दुवाडी, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेत, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतको सहभागीता रहेको थियो ।
सहकारी व्यवसायलाई पुनः जागृत गर्न सरोकारवाला पक्षहरुसँगको सहकार्यमा कास्कूनले सहकारीको विशिष्टता आत्मसाथ गर्ने र प्रवर्धन गर्ने लक्ष्य राखेर समिट गरेको कास्कूनका महासचिव निराजन सेढाइले बताए ।
समिटमा सहकारी बैंकका लेखा समिति सदस्य केशवप्रसाद सापकोटा, पूर्व सचिव गोपीनाथ मैनाली तथा नेफ्स्कूनका सिइयो शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
समिटमा कार्यपत्र तथा गहन छलफलको निश्कर्षबाट साकोस अभियानलाई क्रियाशिलता, सञ्जालिकृत र गुणात्मक बनाउन महत्वपूर्ण योगदान पुग्ने, अभियानको सुदृढीकरण गर्दै शुद्धीकरण र सुशासन कायम गरी समृद्ध एवं आत्मनिर्भर समाज निर्माणको उच्च संकल्पसहित ९ बुँदे साझा प्रतिवद्धता पत्र जारी गरेको छ ।
प्रतिवद्धता
१, सहकारीको मूल्य (मान्यता, सिद्धान्तमा आधारित भई स्वनियमन अभ्यासलाई मर्यादित एवं व्यवस्थितरुपमा लागु गर्नेछौं ।
२, संस्थाको जोखिम पक्षहरुको पहिचान गरि न्यूनीकरण गर्न योजना निर्माण र कार्यान्वयन मार्फत व्यवस्थापन गर्न प्रतिवद्ध छौं । साथै संघहरुबाट गरिने अनुगमन एवं सुपरिवेक्षण कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनेछौं र सुपरिवेक्षण तथा स्तरीकरण कार्यक्रममा आवद्ध हुन र गराउन प्रतिबद्ध छौं
३, साकोस अभियानमा संचित रहेको वित्तीय एवं प्राविधिक श्रोतहरुको सदुपयोग अभियानको सञ्जाल मार्फत गर्न प्रतिबद्ध छौं ।
४, नियमनकारी निकायले जारी गर्ने निर्देशनहरुको कार्यान्वयन गर्न प्रतिबद्ध छौं । साथै अभियान मैत्री हुन नसकेका निर्देशनहरु संशोधनका लागि एक भई पहल गर्न कटीबद्ध हुनेछौं । सहकारी एकिकृत सूचना प्रणालीमा सहभागि हुनेछौं तथा सदस्य पहिचान र जोखिम विश्लेषण गर्ने छौं ।
५, हाल सहकारी क्षेत्रमा देखा परेको विश्वासको संकटको अवस्थामा यस प्रति सकारात्मक परिवर्तन ल्याई यस प्रतिको विश्वास पुनः जागृत गर्न र गराउन प्रतिबद्ध भई लाग्नेछौं ।
६, संचालकीय र व्यवस्थापकीय क्षमता वृद्धि गर्न नियामक निकायहरु, सहकारी सञ्जालबाट आयोजना हुने सहकारी शिक्षा, तालिम र गोष्ठीहरुमा सहभागी हुनेछौं ।
७, संस्था संचालन गर्दा सदस्य केन्द्रीयतालाई उच्च प्राथमिकता दिनेछौं ।
८, असल नियतका साथ संचालित संस्थाहरुमा हाल देखिएका समस्याहरु समाधान गर्न सरकारको सम्बन्धित निकाय, सहकारी अभियान र सम्बन्धित संस्था सहकार्य गर्न प्रतिबद्ध छौं ।
९, कार्यक्षेत्र मिल्ने र दोहोरो सदस्यता अधिक भएका साकोस एकीकरण गर्न र गराउन प्रतिबद्ध छौं ।
Leave a comment