हाइलाइट

धनीले सहकारी खोलेर गरिबका पैसा डुबाए : मेयर कोईराला

धनीले सहकारी खोलेर गरिबका पैसा डुबाए : मेयर कोईराला :: Sahakari Akhabar

चीना थापा, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोईरालाले धनीले सहकारी खोलेर गरिबको पैसा डुबाएको बताएका छन् ।

विराटनगर महानगरपालिका सहकारी शाखाले आईतबारदेखि सुरु गरेको सहकारी व्यवस्थाप सम्बन्धी तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मेयर कोईरालाले भने ‘हुने खानेले सहकारी खोले, घर–गाडी र जग्गा किने, सर्वसाधारणको पैसाको टुङ्गो छैन’ ।

पैसा हुनेहरुले पहुँच देखाउन खोलेका सहकारीले सामान्य नागरिकको पैसा डुबाएर बर्वाद पारेका गुनासाहरु दैनिक जस्तो महानगरपालिकामा आउने गरेको कोईरालाले सुनाए ।

“ज्येष्ठ नागरिक, सेवा निवृत कर्मचारी र सर्वसाधारणको पैसा सहकारीले डुबाएको छ”, उनले भने, “नियमसंगत सञ्चालन नगर्नेहरुले सर्वसाधारणको पैसाले घर, जग्गा र गाडी जोडेका छन् ।

नियमन गर्दै जाँदा धेरै सहकारी गोजीमा सिमित रहेको तर कारोबार भने बृहत गरिरहेका छन् । बदमासी सहकारीका सञ्चालकले गरिरहेका छन् ।” कोइरालाले सञ्चालकहरुमा बेइमानी देखिएको भन्दै नियमनमा कडाई गरिदैं लैजाने बताएका थिए ।

त्यसैगरी उपमेयर शिल्ला निराला कार्कीले सहकारीका सञ्चालकहरुले बेईमानी गरेर सोझा नागरिकलाई फसाएको बताईन। उनले विराटनगरको दक्षिणी क्षेत्रका धेरै नागरिकलाई नियतबस फसाएर सञ्चालकहरु सम्पर्कविहीन भईरहेको जानकारी न्यायिक समितिमा आएको बताईन ।

अनुगमनका क्रममा सहकारीको हिसाब प्रणाली व्यवस्थित नदेखिएको र ५० प्रतिशत सहकारीले मात्रै चार बहि खाता व्यवस्थित गरेको उपप्रमुख कार्कीको भनाई थियो ।

अहिले न्यायिक समितिमा समेत सहकारी पीडितको हप्तामा दुईवटासम्म उजुरी परिरहेको बताउँदै उपप्रमुख कार्कीले सर्वसाधारण झुक्याउन गोजीमा सञ्चालितन सहकारीको पहिचान गर्ने काम भईरहेको दावी गरिन् ।

उपमेयर कार्कीले भनिन् “सहकारी विभागले ऋण लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरेको छ । तर महानगरले अनुगमन गर्दा धेरै सहकारीले २० प्रतिशतसम्म  ऋण लगानीमा ब्याज लिएको पाइएको छ ।”

आर्थिक विकास समितिका संयोजक एवं विराटनगर १९ का वडाअध्यक्ष श्याम घिमिरेले भित्रभित्रै गैरकानुन ढंगबाट सहकारीमा सर्वसाधारणले बचत गरेको पैसा लगानी गरेर संस्थापक सदस्यहरुले बेइमानी गर्ने गरेको बताए ।

उनले गत वर्ष लेखा प्रणालीका विषयमा तालिम दिईएको र यो वर्ष व्यवस्थापनसँग सम्बन्धित तालिम दिइएकोले अब कुनै पनि बहानामा त्रुटी हुन नहुने तर्क गरे ।

त्यसैगरी महानगरका निमित्त प्रशासकिय अधिकृत तथा आर्थिक विकास महाशाखा प्रमुख दिपक पौडेलले सहकारी सस्थाका कर्मचारीको क्षमता विकास र अनुभव साटासाट गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताए ।

अनुगमनका क्रममा सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुको मागको आधारमा महानगरले तालिमहरु सञ्चालन गर्ने गरेको उनले जानकारी दिए ।

पछिल्लो समयमा सहकारीमा विभिन्न समस्या देखा परिरहेको अवस्थामा विराटनगर महानगरको नियमनमा रहेका सहकारी संस्था नियमसंगत  चलेका छन् भन्ने म्यासेज सबैतिर पुर्याउनका लागि महानगर लागिपरेको उनले बताए ।

त्यस्तै तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेलले अझै कति पालिकामा सहकारी शाखा नभएको र सहकारी हेर्ने कर्मचारीले अन्य शाखाको पनि काम गरिरहनु परेको अवस्थामा विराटनगर महानगरले बढी चासोका साथ सहकारीको क्षमता विकास र नियमनलाई प्राथमिकता दिएको बताए ।

उनले सुरुका केही बर्ष स्थानीय सरकारले सहकारीलाई वेवास्ता गरेको भएपनि अहिले केही न केही काम भईरहेको उल्लेख गरे ।

पोखरेलले तालिम लिनु मात्र ठूलो नभई तालिममा सिकेका सुरुलाई आफ्नो संस्थामा लगेर लागु गर्ने र संस्थालाई अगाडि बढाउने कुरा महत्वपूर्ण भएको बताए ।

विराटनगर महानगरपालिका सहकारी शाखाकी रोजी कार्कीका अनुसार महानगरपालिकामा १७४ वटा सहकारी सञ्चालित छन् । जसमध्ये चालु आर्थिक वर्षमा लेखा प्रतिवेदन बुझाउने सहकारीको संख्या ५० वटा रहेका छन् ।

महानगरपालिका भित्रका १२ वटा सहकारी विरुद्ध उजुरी दर्ता भएका छन् । सहकारीहरुको साधारणसभा भईरहेकोले लेखा प्रतिवेदन बुझाउने क्रम जारी रहेको कार्कीको भनाई छ । गत आर्थिक वर्ष १२० वटा सहकारी संस्थाले लेखा प्रतिवेदन बुझाएका थिए ।

महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका १ सय जना  सहकारी संस्थाका  व्यवस्थापक तथा प्रतिनिधिलाई तालिममा सहभागि गराएको छ ।

पहिलो ५० जनालाई आइतबार र सोमबार त्यसपछि बाँकी ५० जनालाई मंगलबार र बुधबार तालिममा सहभागि गराईने महानगर सहकारी शाखाले जनाएको छ ।

तालिमको सहजिकरण महानगरका निमित्त प्रशासकिय अधिकृत दिपक पौडेल, महानगर सहकारी शाखाकी रोजी कार्की, राष्ट्रिय सहकारी बैकका कोशी प्रदेश प्रमुख प्रभु पोखरेल, प्रतिक गड्तौलाले गर्नेछन् । तालिममा बचत परिचालन, ऋण परिचालन, कोषको व्यवस्थापन लगायतका विषयमा जानकारी दिइनेछ ।



Leave a comment