हाइलाइट

संचालकको सम्पत्ति बेचेरै भएपनि सदस्यको पैसा फिर्ता गर्ने मेगाड्रिमको प्रतिवद्धता

संचालकको सम्पत्ति बेचेरै भएपनि सदस्यको पैसा फिर्ता गर्ने मेगाड्रिमको प्रतिवद्धता :: Sahakari Akhabar

काठमाडौं । बचत फिर्ताको विषयमा कुनै शंका नर्गन मेगा ड्रिम बहुउद्देश्यी सहकारी संस्थाले सदस्यहरुलाई अनुरोध गरेको छ । संस्थामा उत्पन्न अल्पकालीन तरलता अभाव बिस्तारै ब्यवस्थापन हुँदै गएको समेत संस्थाले जनाएको छ ।

अन्य सहकारी संस्थामा उब्जिएको समस्याका कारण अनपेक्षित रुपमा धेरै सदस्यहरु एकैपटक आफुलाई आवश्यक नभएपनि बचत फिर्ता गर्न लागिपरेका कारण तरलता व्यवस्थापनमा कठिनाइ भएको संस्थाले जनाएको छ ।

संस्थाले सदस्य सेवा केन्द्र, कर्मचारी कटौती र स्थिर सम्पति बिक्रि गरेर तत्काल नियमित रुपमा संस्था सञ्चालन गर्ने जनाएको छ । यसका लागि वातावरण तयार गरिदिन समेत संस्थाले सदस्यहरुलाई अनुरोध गरेको छ ।

संस्थाले सहकारी विभागको निर्देशन अनुसार संस्थाले तत्काल श्वेतपत्र जारी गर्ने र बचत फिर्ता कार्ययोजना निर्माण गरी पेश गर्ने संस्थाका अध्यक्ष महाशंकर रेग्मीले जानकारी दिए ।

संस्थाको बचत दायित्वभन्दा लगानीमा रहेको सम्पति धेरै रहेको समेत अध्यक्ष रेग्मीले बताए । सञ्चालकहरुले आफ्नो सम्पत्ती बेचेरै भएपनि सदस्यको बचत फिर्ता गराउन लागि परेको उनले बताए ।

नियमित रुपमा संस्था सञ्चालन गर्नको लागि सदस्य, सञ्चालक र कर्मचारी बीच त्रिकोणात्मक सम्बन्ध अपरिहार्य रहेको समेत संस्थाले जनाएको छ ।

सोही बमोजिमको व्यवहार कर्मचारी तथा सञ्चालक समिति पदाधिकारीहरुसँग गरिदिन समेत संस्थाले सदस्यहरुलाई आग्रह गरेको छ ।

त्यस्तै ऋणी सदस्यहरुले सावाँ, ब्याज तथा बक्यौता रकम भुक्तानी गरिदिनुहुन समेत संस्थाले आग्रह गरेको छ । ऋणी सदस्यहरुले समयमै सावाँ, ब्याज नतिरिदिँदा समयमै बचत फिर्ता गर्न नसकेको स्विकार गर्दै रकम भुक्तानीको सुनिश्चितता गरी जिम्मेवार सदस्य बनिदिनहुन समेत संस्थाले अनुरोध गरेको छ ।

संस्थाले जारी गरेको अनुरोध पत्रमा भनिएको छ, ‘संस्थामा तरलता अभावका कारण बचत भुक्तानी नहुँदा खातामा रकम छैन भन्दा भन्दै जानकारी दिदा पनि केही सदस्यहरुले सुरक्षण बापत भनी पछिल्लो मितिमा विभिन्न बैंकहरुको चेक लिएकोमा उक्त चेक उपर कारबाही गर्ने, कालोसूचीमा संस्थालाई राख्ने एवं विभिन्न निकायमा उजुरी दिने जस्ता कामले संस्थाको समस्या समाधानमा थप जटिलता निम्त्याएको संस्थाको भनाइ छ ।

यस्तो कारबाही नगरी समाधानको लागि अन्य विकल्पको खोजी गर्ने तथा अन्य सुरक्षणको लागी समन्वय गरी यथाशिघ्र कालोसूची लगायत कारबाही फुकुवा गरी सहयोग गरिदिनहुन विनम्र अनुरोध गर्दछौं ।’

त्यसैगरी बचत रकम फिर्ता माग गरी आक्रोशित भई कर्मचारीहरुलाई गालीगलौज, हातपात तथा आक्रमण गर्ने, कार्यालय तोडफोड गर्ने, विभिन्न निकायमा उजुरी दिने जस्ता कार्यले कर्मचारीको मनोबल कमजोर हुने र एकैपटक बचत फिर्ता गर्न असम्भव हुने हुँदा बचत फिर्ता गर्ने र नियमित बचत गर्ने कार्यलाई निरन्तरता दिई सहयोग गरिदिन समेत संस्थाले सदस्यहरुलाई आग्रह गरेको छ ।



Leave a comment