हाइलाइट

भौतिक निर्माणमा आत्मनिर्भर बन्दै मोरङका सहकारी

भौतिक निर्माणमा आत्मनिर्भर बन्दै मोरङका सहकारी :: Sahakari Akhabar

चीना थापा, विराटनगर । छोटो समयमा नै मोरङको अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाले भवन किनेर त्यही भवनबाट कारोबार सुरु गर्यो । एउटा सटर लिएर भाडामा सञ्चालन भएको सहकारीले आफ्नै दुईतले भवन किन्न सफल भएको छ ।

अन्नपूर्ण मात्र हैन पछिल्लो समयमा मोरङका सहकारी संस्थाहरु भौतिक निर्माणमा आत्मनिर्भर हुदै गएका छन्। सञ्चालनमा आएको छोटो समयमा नै जग्गा किनेर सहकारी भवन बनाउनेहरुको संख्या बढ्दै गएको छ ।

सहकारी अभियानमा लामो समयदेखि लागेका व्यक्तिहरुले सञ्चालन गरेका सहकारी अझै पनि भाडाकै घरमा सञ्चालन भईरहेको अवस्था पनि छ । तर, धेरै सहकारी अहिले जग्गा किन्न र सहकारीको भवन बनाउन अग्रसर देखिएका छन् ।

इष्टर्न स्टार कृषि सहकारी संस्थाले विराटनगर बसपार्क छेउमा भवन निर्माणका लागि जग्गा किनिसकेको छ । अब छिट्टै भवन निर्माण गरिने सहकारीले जनाएको छ ।

विराटनगरको ट्राफिक चोकमा रहेको मकालु बहुउदेश्यीय सहकारीले पनि विराटनगर २ मा भवन निर्माणको लागि जग्गा किनिसकेको छ ।

भवन निर्माण गर्ने तयारीमा रहेको सहकारीले आफ्नै भवन भएपछि भाडा तिर्नु नपर्ने र आम्दानीको स्रोत पनि हुने भएका कारण भवनलाई पहिलो प्राथमिकता दिएको जनाएको छ ।

त्यसैगरी राष्ट्रसेवक बहुमुखी सहकारी संस्थाको चारतले भवन निर्माणाधिन अवस्थामा छ । अब छिट्टै भवन निर्माण सम्पन्न गरेर कारोबार थालिने सहकारीले जनाएको छ ।

सहकारीका सदस्य सहित संस्थालाई पनि मजबुद बनाउनको लागि संस्थाको भौतिक सम्पति पनि बढाउनुपर्ने सहकारीका संचालकको भनाई छ ।

त्यस्तै नयाँ जीवन बचत तथा ऋण सहकारी संस्थाले पनि भवन निर्माणको लागि जग्गा किनिसकेको छ । संस्थाले अव केही समयमा नै भवन निर्माणको काम थालिने जनाएको छ ।

जसरी एउटा परिवारलाई आफ्नो घर भए सजिलो हुन्छ र परिवार सुरक्षित हुन्छ भन्ने लाग्छ, संस्थालाई पनि त्यस्तै हुने गरेकाले भवन निर्माणमा प्राथमिकता दिनुपरेको सहकारीकर्मीहरु बताउँछन् ।

सहकारीहरुले भवन निर्माणको लागि शेयर सदस्यहरुबाट पनि केही रकम लिने गरेका छन् । कतिपयले सदस्यको खाताको रकम भवन निर्माणमा लगाउने र पछि फिर्ता दिने पनि गरेका छन् ।

मोरङमा १ हजार बढी सहकारी छन् । पछिल्लो समयमा केही सहकारी एकिकरण भएका छन् भने केही सहकारी स्थानीय सरकारको सम्पर्कमा नै छैनन् । केही सहकारी झोलामा नै सिमित भएका छन् ।

समुदायमा आधारित भएर सञ्चालन भईरहेका सहकारी संस्थाहरु आफु पनि सक्षम हुनु आवश्यक रहेको सहकारी अभियान्ताहरु बताउँछन् ।

संस्था सक्षम नभईकन सदस्यलाई सक्षम बनाउन नसकिने भएका कारण पनि सहकारी संस्थाहरु पहिला आफु सक्षम हुन लागि परेका उनीहरुको भनाई छ ।

आफ्नै भवनमा कार्यसम्पादन हुनु पनि संस्थाको राम्रो उपलब्धि भएका कारण पनि सहकारी संस्थाहरुले भौतिक निर्माणमा जोड दिएको उनीहरुको भनाई छ ।

मोरङका कतिवटा सहकारी संस्थाहरुको आफ्नै भवन र जग्गा छ भन्ने एकिन तथ्यांक नभएपनि लगभग ५ सय सहकारी सस्थाले भवन निर्माणको लागि जग्गा किनिसकेको र २ सय भन्दा बढी सहकारी संस्थाको आफ्नै भवन रहेको अनुमान साझा संघहरुले गरेका छन् ।



Leave a comment