हाइलाइट

सहकारीको साधारण सभा र सदस्यको  भूमिका

सहकारीको साधारण सभा र सदस्यको  भूमिका :: Sahakari Akhabar

सदस्यको प्रतिभा प्रस्फुटन नाचगान जस्ता गतिविधिहरु संस्थाको बार्षिक स्थापना दिवस, सहकारी दिवस आदि कार्यक्रम गर्दा राम्रो हुन्छ।सदस्यको उपस्थितीलाई बढावा दिन सदस्यमैत्री बातावरणको लागि जोड दिनु पर्दछ । साधारण सभाको बैठकमा उपस्थित हुने र निर्णयमा सहभागिताको सुनिश्चित हुनुपर्दछ ।

हकारी ऐन २०७४ को दफा ३६ ले प्रत्येक संस्था वा संघको एक साधारण सभा हुने व्यवस्था गरेको छ । साधारण सभा  प्रत्येक संस्था वा संघको सर्वोच्च अंग हो । संस्था वा संघका सबै सदस्यहरु साधारण सभाका सदस्य हुने ऐनको दफा ३६ उपदफा २ ले ब्यवस्था गरेको छ । ऐनको दफा ३६ उपदफा ३ अनुसार साधारण सभा निम्न बमोजिम तीन प्रकार हुने व्यवस्था छ ।

१) प्रारम्भिक साधारण सभा 
२) वार्षिक साधारण सभा
३) विशेष साधारण सभा

१) प्रारम्भिक साधारण सभा :

समितिले सहकारी संस्था दर्ता भएको मितिले तीन महिना भित्र प्रारम्भिक साधारण सभा बोलाउनुपर्ने ऐनको दफा ३९ उपदफा १ मा व्यवस्था गरेको छ । ऐनको दफा ३७ ले प्रारम्भिक साधारण सभाको देहाय बमोजिम काम, कर्तव्य र अधिकार हुने व्यवस्था गरेकोछ ।

क) प्रारम्भिक साधारण सभा हुनु अघिल्लो दिनसम्मको काम कारबाही र आर्थिक विवरणको जानकारी लिने ।
ख) चालु आर्थिक बर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने ।
ग) प्रतिवेदन तथा वित्तीय विवरणहरु अनुमोदन गर्ने ।
घ) विनियमा उल्लेख भएबमोजिम संचालक समिति र लेखा सुवरिवेक्षण समिति गठन गर्ने ।
ङ) आन्तरीक कार्यविधि पारित गर्ने ।
च) लेखा परिक्षेकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने ।
छ) विनियमा उल्लेखित कार्यहरु गर्ने ।

२) वार्षिक साधारण सभा

सहकारी ऐन २०७४ को दफा ३९ उपदफा २ मा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिना भित्र प्रत्येक संघ÷संस्थाले वार्षिक साधारण सभा बोलाउनु पर्ने प्रावधान रहेको छ । वार्षिक साधारण सभाको छलफल गरिने सबै विषयहरु प्रस्तावको रुपमा पेश गर्नुपर्ने ऐनको दफा ३८ मा काम, कर्तव्य र अधिकार उल्लेख गरेकोछ ।

क) बजेट तथा कार्यक्रम स्वीकृत गर्ने ।
ख) वार्षिक लेखा परिक्षण प्रतिवेदन अनुमोदन गर्ने ।
ग) समिति वा लेखा सुपरिवेक्षण समितिको वार्षिक पारित गर्ने ।
घ) संचालक समिति र लेखा सुवरिवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने ।
ङ ) समिति वा लेखा सुवरिवेक्षण समितिको संयोजक वा सदस्यहरु पदबाट हटाउने ।
च) आन्तरीक कार्यविधि पारित गर्ने ।
छ) लेखा परिक्षेकको नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने ।
ज) संस्थाको एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने ।
झ) पारिश्रमिक लगायतका सुविधा तोक्ने ।
ञ) बाह्य दायित्व स्वीकार गर्ने ।
ट) सदस्यको दायित्व मिनाहा गर्ने ।
ठ) समितिलाई आवश्यक निर्देशन दिने ।
ड) विनियमा उल्लेखित कार्यहरु गर्ने ।

३) विशेष साधारण सभा

सहकारी ऐन, २०७४ को दफा ३९ को उपदफा (३) बमोजिम देहाय अवस्थमा समितिले विशेष साधारण सभा बोलाउन सक्ने व्यवस्था गरिएको छ ।

(क)    लेखा सुपरिवेक्षणको समितिको सिफारिशमा
(ख)    कुनै संचालकले विशेष साधारण सभा बोलाउन पेश गरेको प्रस्ताव संचालकाद्धारा पारित भएमा ।
(ग)    समितिले कुनै खास कामको लागि विशेष साधारण सभा बोलाउने निर्णय गरेमा,
(घ)    संस्थाको कुल सदस्यको १५ प्रतिशत सदस्यले संचालक समिति समक्ष निवेदन दिएमा ।
(ङ)    दफा ४० को उपदफा १ बमोजिम कुनै संस्थाको निरीक्षण वा सुपरिवेक्षण गर्दा वा कसैको उजुरी परी छानविन गर्दा रजिष्टार वा रजिष्टारको अधिकार प्राप्त अधिकारीले बिशेष साधारण सभा बोलाउने निर्देशन दिएमा ।

माथि उल्लेखित अवस्थामा बोलाईएको विशेष साधारण सभामा पेश गरिने सबै विषयलाई प्रस्तावको रुपमा पेश गर्नुपर्छ । मौखिक कुराको आधारमा गरिएको छलफलले वैधानिकता प्राप्त गर्न सक्तैन । तसर्थ लिखित रुपमै प्रस्ताव उपर छलफल गरि निर्णय गर्नुपर्दछ ।    साधारण सभा संघ÷संस्थाको विभिन्न महत्वपुर्ण विषयमा छलफल गरि निर्णय लिने उपयुक्त स्थान भएकोले साधारण सभालाई महत्वपूर्ण अंगको रुपमा लिइन्छ । साधारण सभालाई सामान्यतया निम्न तीनवटा दृष्टिकोणले हेर्ने गरिन्छ :

क) सर्वोच्च अंग
ख) निर्णय गर्ने मूख्य अंग 
ग) सदस्यहरुको सामुहिक मञ्च

सदस्यले सहकारी संस्थाको साधारणा सभाबाट सस्थामा आफ्नो बचत सुक्षित रहेको प्रत्याभुति हुन सक्ने सभा हुनु पर्दछ । यसको लागि सदस्यको सहकारी तथा वित्तीय शिक्षालाई व्यापक बनाउनु पर्दछ ।

सहकारी संघ / संस्थामा साधारण सभाको आफ्नो छुट्टै पहिचान रहेको छ । सहकारी संघ÷संस्थाका सदस्यहरु वा प्रतिनिधिहरुले साधारण सभा हाम्रो कार्यक्रम हो र त्यसमा हाम्रो सक्रिय सहभागिता आवश्यक छ भन्ने स्वामित्वको भावना रहेको हुन्छ ।

जुन हामी अन्य निकायको साधारण सभामा त्यस्ता भावना पाउन सकिन्नँ । त्यसैले सहकारीको साधारण सभामा सदस्यको सहभागिता / उपस्थिति बढि हुने गर्छ । सहभागितामूलक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न र उपलब्धीमूलक भावनाले प्रेरित गर्दछ ।

तर आजभोली सहकारीको साधारण सभा सदस्यको सभा जस्तो लाग्दैन । साधारणसभा हुनु दुई तिन दिन अगाडी सदस्यको उपस्थिती खुल्ला राख्ने गरेको छ । सदस्यहरु साधारणसभामा उपस्थिती गर्दै उपस्थित भए बापतको भत्ता बुझ्दै जाने गरेकोछ ।

साधारणसभाको उद्घाटन सत्रमा घेरै अतिथिहरु बोलाउने पाँच छ घण्टा भाषण सुनाउने सभा भएको छ । साधारणसभा सदस्यको सभा नभई अतिथिको सभा भएकोछ ।

सभामा सदस्यहरु बसुन् भनेर नाच, गीत, सम्मान, चिठा जस्ता कार्यक्रमहरु पनि समाबेश गरेको छ तर पनि सभामा खासै सदस्यहरु बस्दैन । साधारण सभाका विषय सूचीमा खासै छलफल हुदैंन । उद्घाटन सत्र सकेपछि दिन बित्छ ।

साधारण सभा पनि प्राय सकेको हुन्छ । आजकाल साधारण सभा अतिथि सभा, भाषण सभा, नाचगान सभा, सम्मान सभा र चिठ्ठा सभामा परिणत भएको छ । सहकारीको साधारण सभा कागज मात्र पुर्याउने काम भएको छ ।

सहकारी स्वनियममा संचालित संस्था हो । सदस्यको नियन्त्रण सहकारी संचालन भएको हुन्छ । सदस्यहरुको ठुलो बैठक भने कै साधारण सभा हो । सभामा सदस्यहरुले संस्था संचालनका लागि संचालक समिति र लेखा सुपरिवेक्षण समिति चुन्ने र चुन्न पाउने अधिकार राख्छन् ।

बर्ष भरी भएको काम र हिसाब किताबको केश्रा केश्रा केलाउने काम हुन्छ । आगामी बर्षमा के कस्ता कार्यक्रम गर्ने र के कति बजेट छुट्याउने विषयमा छलफल हुन्छ ।

हिसाब किताब जाँच कसलाई गराउने र कति पारिश्रमिक दिने, शेयर लाभांश कति दिने, संरक्षित पुँजी फिर्ता, विनियम संशोधन लगाएतका महत्वपूर्ण विषयहरुमा छलफल गरी निर्णय लिन साधारण सभा बोलाएको हुन्छ ।

सदस्य बिनाको संस्था कल्पना गर्न सकिन्न यस्तैगरी सदस्य विनाको साधारण सभा हुन सक्दैन । सहकारीमा सदस्य भएपछि साधारण सभामा अनिर्वाय उपस्थित हुनुपर्छ । लगातार तीन पटकसम्म उपस्थित नहुने सदस्य निष्कृय सदस्यमा राखिन्छ ।

सदस्यता समेत खारेज गर्न सकिने व्यवस्था सहकारी ऐन २०७४ को दफा ३४ उपदफा (ख) ले गरेको छ । संस्थामा सदस्यको बचत रकम सुरक्षित छ / छैन सदस्यबाटै नियमन गर्ने निकाय साधारण सभा हो ।

सदस्यले आफ्नो अधिकार, दायित्व र कर्तव्य नबुझ्दा र नबुझाउँदाको परिणाम सहकारी बदनाम भैइरहेको छ । संचालकले सदस्यहरुलाई गुम्राहमा राख्न सफल भएकोछ । सदस्यहरु ठगीँदा राज्य मुकदर्शक बन्नु बाहेक केही गर्न सकेको अवस्था छैन ।

तसर्थ, साधारण सभाको काम, कर्तव्य र अधिकार अनुसार साधारण सभा संचालन गर्नुपर्ने देखिन्छ । सहकारी संस्थाको साधारणा सभा प्रभावकारी बनाउन सके सहकारीका विकृतीहरु सम्बोधन गरी समयमै समाधान गर्न सकिन्छ ।

साधारण सभालाई प्रभावकारी र व्यवस्थित गर्न सहकारी विभागले जारी गरेको सहकारी संस्थाको साधारण सभा (कार्य व्यवस्था) निर्देशिका, २०७६ को परिपालना गर्नुपर्ने देखिन्छ ।

सहकारी संघ महासंघले साधारण सभाको औपचारिक उद्घाटन कार्यक्रमलाई कम समयमा सम्पन्न गरी उदाहरणीय सभाको अभ्यास गर्नुपर्दछ। सदस्यको प्रतिभा प्रस्फुटन नाचगान जस्ता गतिविधिहरु संस्थाको बार्षिक स्थापना दिवस, सहकारी दिवस आदि कार्यक्रम गर्दा राम्रो हुन्छ।

सदस्यको उपस्थितीलाई बढावा दिन सदस्यमैत्री बातावरणको लागि जोड दिनु पर्दछ । साधारण सभाको बैठकमा उपस्थित हुने र निर्णयमा सहभागिताको सुनिश्चित हुनुपर्दछ ।

सदस्यले सहकारी संस्थाको साधारणा सभाबाट सस्थामा आफ्नो बचत सुक्षित रहेको प्रत्याभुति हुन सक्ने सभा हुनु पर्दछ । यसको लागि सदस्यको सहकारी तथा वित्तीय शिक्षालाई व्यापक बनाउनु पर्दछ ।



Leave a comment