हाइलाइट

सहकारीको नीति, नियती र यथार्थ

सहकारीको नीति, नियती र यथार्थ :: Sahakari Akhabar

सहकारीमा राजनीतिक हस्तक्षेपको अन्त्य गरि नातावाद, कृपावाद र अराजकतावादको अन्त्य गर्नु सबभन्दा ठूलो चुनौतीको रुपमा रहेको छ । सहकारी ऐन विपरीतका गतिविधिले गर्दा कतिपय सहकारीका समस्याहरु समाधान भन्दा बाहिर गईरहेको अवस्था छ ।

हकारीको उत्पत्ति सहकार्य, एकता र सद्भावको लागि भएको हो । एक आपसमा मिलेर सामुहिक रुपमा सदस्यहरुको जिवनस्तर उकास्नका लागि सहकारीताको माध्यमबाट सहज हुने भएकाले सहकारीताको विकाश भएको पाउन सकिन्छ । कमजोर आर्थिक अवस्था भएका व्यक्तिहरुको आर्थिक, सामाजिक र साँस्कृतिक अवस्था सुधार गर्नका लागि सहकारी उपयुक्त माध्यम बनेको छ ।

व्यक्ति, समाज र राष्टको उत्थान र उन्नयनका लागि सहकारीले गर्न सक्ने कार्यहरु थुप्रै छन् । सहकारी अवधारणा आफैंमा एउटा सर्वव्यापी र सिंगो संसार हो । मानिसको जन्मदेखि मृत्यु पर्यन्त सहकारीले हरेक रुपमा सहयोग पुर्याईरहेको हुन्छ ।

छरिएर रहेको सानोतिनो पुँजिलाई एकत्रित गरि सदस्यहरुको सामुहिक भलाईको लागि उक्त पुँजि सदस्यहरुलाई नै ऋण लगानी गरेर आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको छ । सहकारीको सर्वव्यापी अवधारणा, मूल्य र मान्यता बमोजिम सञ्चालनमा रहने सहकारीहरुले आफ्नो नीति, नियम आफैं बनाउने र आफैंले त्यसको पालना गर्ने गर्दछन् ।

सहकारीले समुदायको उन्नयनका लागि गर्न सक्ने कुराहरु व्यापक छन् । सहकारीको मूल्य, मान्यता र सिद्धान्तको पूर्ण रुपमा पालना गर्न सकेको खण्डमा व्यक्ति, समाज र राष्ट्रका लागि सकारात्मक योगदान पुग्दछ । तत्कालिन समयमा बेलायतमा श्रमिक वर्गहरुको समस्या समाधान गर्ने उद्धेश्य बमोजिम सहकारीताको उद्भव भएको इतिहास पाउन सकिन्छ ।

त्यसपछि क्रमशः विश्वका अन्य देशहरुले सहकारीताको अभ्यासलाई अंगिकार गरेको देखिन्छ । सहकारी सम्बन्धी विभिन्न समयमा विभिन्न प्रकारका नीति तथा नियमहरु बन्ने गरेका छन् । स्वायत्तता र स्वनियमनका कुराहरु सहकारी नीतिभित्र पर्ने विश्वव्यापी तत्वहरु हुन् ।

सहकारीलाई कुन रुपमा अगाडी बढाउने भन्ने कुरा यसका सर्वमान्य सिद्धान्तहरुले देखाएका मार्गमा निर्भर हुने गर्दछ । खासगरि सहकारी मैत्री नीति निर्माणका लागि राज्यको संविधान र निर्देशक सिद्धान्तको आधार प्रमुख तत्वको रुपमा रहेको हुन्छ । नीति मात्र राम्रो बनाएर हुँदैन, त्यसको उचित कार्यान्वयन पनि त्यति नै जरुरी हुन्छ ।

एकका लागि सबै र सबैका लागि एक भन्ने मूल मन्त्रबाट सहकारीको विकास भएको हुँदा सामुदायिकता विना सहकारीता असम्भव हुन्छ । नीतिमा भएका कुरालाई विधिमा उतार्नु नै सहकारीताको धर्म, मर्म र दायित्व हो । नीति एकातिर नियती अर्कोतिर भयो भने सहकारीमा विकराल समस्या देखा पर्ने कुरा हाल देखिईरहेको छ ।

नियती सफा भयो भने मात्र नीतिलाई सही रुपमा व्यवहारमा उतार्न सकिन्छ । असल नियती व्यतिmमा हुनुपर्ने मुख्य गुण हो, सकारात्मक नियत राखेर गरेको हरेक कार्य सफल हुन्छ, यसका थुपै उदाहरणहरु छन् । हाल नेपालको सहकारी क्षेत्रमा देखिएका समस्याहरु अधिकतम खराब नियतीका उपज हुन् । त्यसैले नियत सफा राखेर सहकारी सञ्चालन गर्नका लागि हालको मन्दीले सहकारीकर्मीहरुलाई राम्रो सन्देश दिएको छ ।

सहकारीका सदस्यहरुको बचत रकमलाई सही रुपमा सही ठाउँमा लगानी गरि प्राप्त प्रतिफललाई सदस्यहरुमाझ वितरण गर्न सक्ने सहकारीहरु नै वर्तमान समयमा विना समस्या सञ्चालन भई रहेका छन् । सहकारीका नीति, विधि र प्रविधिमा सञ्चालित सहकारीहरुले अहिलेको अवस्थामा पनि नमुना योग्य कामहरु गरिरहेका छन् ।

सदस्यहरुबाट संकलन गरिएको रकमबाट समुदायको हित हुनेगरि सामाजिक उतरदायित्व बहन गर्दै सहकारीहरुले सबैलाई उचित उपचार प्रदान गर्दै आएको छ । यसलाई निरन्तरता दिने सहकारीहरुको नियती सफा र निरन्तरता दिन नसकेका सहकारीहरुको नियती खराब रहेको कुरा प्रमाणित गरिदिएको छ, वर्तमान समयले ।

अब एकपटक गम्भिर रुपमा घोत्लिएर नियती सफा गर्नका लागि सहकारीकर्मीहरुलाई अवसर आएको छ । वर्तमान अवस्थाबाट पाठ सिक्दै सहकारीका सिद्धान्त र कानुनहरुलाई पालना गर्दै सदस्य र समुदायको हित हुनेगरि सहकारी संस्थाहरु र सिंगो सहकारी अभियान अगाडी बढ्नु जरुरी छ ।

समयले दिएको पेचिलो पाठ र भविष्यको पदचापलाई मध्यनजर गर्दै घनिभूत रुपमा सत्कार्यका लागि सहकारीको समस्या समाधानतर्फ लाग्नुपर्ने उपयुक्त समय यहि नै हो । भित्री मनदेखि नै सेवा र सहयोगको भावना राखेर सदस्यहरुको हितमा लाग्दै सहकारी प्रतिको नकारात्मक धारणा हटाउँदै गुम्नै लागेको आशा र विश्वासको दियो फेरी जलाउनु छ ।

फेरी पनि सानातिना व्यवसायलाई बढावा दिँदै सदस्यहरुलाई स्वरोजगार बनाउनका लागि सहकारीकर्मीहरु लागिपर्नुपर्ने बेला आएको छ । सहकारीबाट ऋण लिएर समयभित्र चुक्ता नगर्ने र सहकारीमा समस्या ल्याउने प्रवृतिको अन्त्य गराउनका लागि सदस्यहरुको सहयोग अपरिहार्य हुन्छ ।

सहकारीमा राजनीतिक हस्तक्षेपको अन्त्य गरि नातावाद, कृपावाद र अराजकतावादको अन्त्य गर्नु सबभन्दा ठूलो चुनौतीको रुपमा रहेको छ । सहकारी ऐन विपरीतका गतिविधिले गर्दा कतिपय सहकारीका समस्याहरु समाधान भन्दा बाहिर गईरहेको अवस्था छ ।

सहकारी संस्थाहरुको छाता संघहरुमा हुने राजनीतिक भागबण्डा, एकै व्यक्ति एउटै समयमा एकै प्रकृतिका दुईभन्दा बढी संघहरुमा सञ्चालक पदमा रहनु, नयाँ पुस्तालाई सहकारीको नेतृत्वमा जानबाट रोक्नु लगायतका कुराहरुले पनि समस्या आउने वातावरणको निर्माण गर्ने गर्दछ, जुन हाल देखिईरहेको छ ।

सदस्यहरुको बचतको सुरक्षा गर्नका लागि सदस्यहरु नै सचेत हुनुपर्नेमा त्यस्तो हुन सकिईरहेको छैन । सहकारी शिक्षा तथा वित्तीय साक्षरताको कमीले गर्दा  सदस्यहरुले आफ्नो बचत जोखिममा पार्दै लगेको अवस्था छ । सहकारी क्षेत्रमा सुधार गर्नका लागि सबभन्दा पहिला सहकारी अभियन्ता र सहकारीलाई प्रमुख आधार बनाएर कार्य गरिरहनुभएका व्यक्तिहरु सच्चिनु जरुरी छ ।

प्रचलित कानुन र सहकारी ऐनमा व्यवस्था भएका कुराहरुलाई लत्याएर आफूखुसी सहकारी सञ्चालनमा लाग्दा आजको अवस्था आएको तर्फ सबैको ध्यान जानु जरुरी छ । सहकारी संस्थाहरुको छाता संघहरुमा हुने राजनीतिक भागबण्डा, एकै व्यक्ति एउटै समयमा एकै प्रकृतिका दुईभन्दा बढी संघहरुमा सञ्चालक पदमा रहनु, नयाँ पुस्तालाई सहकारीको नेतृत्वमा जानबाट रोक्नु लगायतका कुराहरुले पनि समस्या आउने वातावरणको निर्माण गर्ने गर्दछ, जुन हाल देखिईरहेको छ ।

त्यसैगरि वित्तीय कारोबार गर्ने संघ÷संस्थाहरुले पूँजी निर्माणको कार्यलाई मात्र अधिक प्राथमिकता दिँदा आर्थिक पाटोमा समस्या आएका छन् । ऋण लगानी गर्ने मापदण्डलाई रद्दीको टोकरीमा राखेर आफूखुसी अनुत्पादक क्षेत्र रियल स्टेट, धितोपत्र जस्ता क्षेत्रमा लगानी गर्दा ठूला भनिएका कतिपय सहकारीहरु पनि जटिल समस्यामा फसेका छन् ।

जसको धेरै पुँजी उसकै ठूलो मान्यता हुने जसरी बैंकले भन्दा बढी पुँजी संकलन गरि उचित ठाउँमा त्यसलाई लगानी गर्न नसक्दा नतिजा प्रतिउत्पादक देखिएको छ । सानोतिनो पुँजीलाई क्रमशः वृद्धि गर्दै लानुपर्नेमा एकैपटक अधिक पुँजी संकलन गरि विना धितोमा लागानी गर्दा जाखिम बढ्न गएको अवस्था छ ।

सदस्यहरुको आवश्यकता के हो, समुदायको विकासको लागि सहकारीले कस्तो भूमिका खेल्न सक्छ भन्ने विषयमा किन बहसहरु भएनन् ? सदस्यहरुले आफूले खरिद गरेको शेयर रकमलाई संस्थाले कुन रुपमा प्रयोग गरेको छ भनेर सचेत हुनु जरुरी छ ।

साधारणसभामा गएर यातायात खर्च र खाजा खाएर मात्र संस्थाप्रतिको सदस्यको दायित्व पुरा हुँदैन भनेर समयले सिकाएको पाठ ग्रहण गर्नुपर्ने बेला आएको छ । सञ्चालक समितिमा रहेका व्यक्तिहरु स्थानिय हुन् कि होईनन् भनेर खोजि गर्ने बेला आएको छ । सञ्चालक समितिको चयन गर्दा नैतिकवान् र योग्य व्यक्तिहरुलाई रोज्नुपर्ने पाठ वर्तमान् समयले सिकाएको छ ।

भनिन्छ कानुनको अनभिज्ञता क्षम्य हुँदैन, त्यसैले सहकारीका सदस्यहरुलाई सहकारी शिक्षाको माध्यमबाट सहकारीका ऐन, नियमावलीहरुको बारेमा जानकारी गराउनु जरुरी भैसकेको छ । वर्तमान समयमा सहकारीलाई आफ्नो अस्तित्व जोगाउन धौ धौ परेको अवस्था छ ।

कूल सहकारीको १ प्रतिशत सहकारीमा समस्या देखा पर्दा त्यसले सम्पूर्ण सहकारी क्षेत्रलाई नकारात्मक प्रभाव पारिरहेको छ । सहकारी अभियानमा देखिएका केही विचलनहरुले गर्दा सहकारी क्षेत्रमा असर गरेको पाउन सकिन्छ । सहकारीमा विज्ञ व्यक्तिहरुको कमीले गर्दा समस्यासँग जुध्न सक्ने क्षमतामा कमी छ ।

सहकारी राम्रोसँग बुझेका र नैतिक रुपमा धब्बा नलागेका व्यक्तिहरुलाई सहकारीले स्वागत् गर्नका लागि कुरेर बसिरहेको छ । शिक्षित, क्षमतावान् र योग्य व्यक्ति आएर ढल्नै लागेको सहकारीको खम्बालाई उठाउनुपर्ने बेला आएको छ ।

नियती सफा गरेर नीति र विधि बमोजिम चल्नका लागि सहकारीकर्मीहरुले अन्तिम पटक सोच्ने बेला आएको छ । के थाहा फेरी यस्तो मौका आउला नआउला । आ–आफ्नो भ्रम र स्वार्थलाई छाडेर सहकारी अभियानलाई शुद्धिकरण गर्ने उपयुक्त समय पनि त यहि हो नि अभियन्ता महोदय !



Leave a comment