Sahakari Akhabar

म कुनै ब्यक्तिको इन्ट्रेष्टमा चलेको छैन र चल्नेवाला पनि छैन 

म कुनै ब्यक्तिको इन्ट्रेष्टमा चलेको छैन र चल्नेवाला पनि छैन  :: Sahakari Akhabar

विगत चार वर्षदेखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) कहिले नेतृत्वतहबाट त कहिले ब्यवस्थापन तहबाट बिवादित बन्दै गयो । संघका कार्यक्रमहरुपनि बिवादरहित हुन सकेनन् । नेफ्स्कूनका कार्यक्रमहरु जिल्ला तथा प्रदेशगत संघमार्फत बाँढिनथालेपछि केन्द्रीय संघको बिजनेसमाथि पनि प्रश्न उठन थालेका छन् । ब्यक्तिगत स्वार्थमा केन्द्रीय नेतृत्वको ध्यान जानु, सहकारीका समस्यामा राज्यस्तरमा नीतिगत लविङ गर्न नसक्नुले नेतृत्वले नेफ्स्कूनको छवी गिर्दो अवस्थामा पुर्याएको भन्नेहरुको संख्या बढेको छ ।

सवैभन्दा पुरानो र ब्यवसायीक संघको काम प्रति सदस्यले नै औंला उठाइरहेको पाइन्छ । अबको केही महिनामा संघको नयाँ नेतृत्व समेत चयन हुँदैछ । चुनावी साधारण सभाको संघारमै संघमा फेरी पुरानै प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले पाएको नयुक्तिको विषय पनि कम चासोका रुपमा हेरिएको छैन । यी र यस्तै समसामयीक विषयमा केन्द्रीत रहेर सहकारी अखबारकालागि खिलानाथ दाहालले गरेको नव नियुक्त (सिइओ)  सापकोटासंगको कुराकानीको सम्पादित अंशः

नेफ्स्कूनमा शिवजी सापकोटाको पूनर्आगमन किन ?

नेफ्स्कूनले २०४५ सालदेखि बचत तथा ऋण सहकारी अभियानको नेतृत्व गर्दैआएको हो । यो विभिन्न चरणमा विभिन्न मोडालिटिहरु लिएर, विभिन्न बिधिहरु अपनाएर सहकारी अभियानलाई शसक्तिकरण गर्दै सहकारीको विकास र दिगोपनालाई केन्द्रविन्दुमा राखेर काम गर्दै आएको संगठन हो ।

२०५० सालपछि विभिन्न चरणमा साकोस विकासका कृयाकलाप गरिरहेको छ । जव २०७१ सालमा साकोसको ब्राण्डको कुरा आयो, त्यसपछि नेपालमा दुईवटा कुरा तयार गरियो । एउटा राष्ट्रियस्तरको ब्राण्ड र अर्को जोखिममा आधारित सुपरिवेक्षण कार्यक्रम । यी दुईवटा कार्यक्रममा ६ सय भन्दा वढी संस्थाहरु आवद्ध भएका छन् ।

अव केन्द्रीय संघले सहकारीको ब्राण्ड मात्र हैन, संजाललाई नै ब्यवस्थित गर्नुपर्छ भनेर २०७१ सालदेखि संजाललाई ब्यवस्थित गर्न छलफल चलाइयो । २०७७ असार मसान्तसम्म एसियाको लागि चाही ठ्याक्कै दक्षिण कोरियाको मोडललाई आत्मसाथ गर्नुपर्छ भन्ने नीतिगत बहसहरु धेरै तहमा चलिसकेको थियो ।

सहकारी विभागका रजिष्ट्रार र नेफ्स्कूनका पदाधिकारीहरुले यस सम्वन्धि अध्यायन पनि गरेर आएका हुन । एसियामा इन्डिोनेसिया, पपुवान्यूगिनी, दक्षिणकोरिया र भियतनामको जसरी नै सदस्य संस्थाहरुको ब्यवस्थापन गरिदिनुपर्छ भन्ने थियो ।

उनीहरुको वित्तिय प्रतिवेदन केन्द्रीय संघहरुले सरकारलाई दिनुपर्छ र सरकारसंग एउटा एस्युरेन्सको लेवलमा नेफ्स्कूनले सदस्य संघ संस्थाहरुको ब्यवस्थापन गर्ने उनिहरुको अनुगमन, सुपरिवेक्षण गर्ने र जुन अवस्थाको छ, त्यो अवस्थाको चाँही प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ भन्ने तहसम्म लैजानकोलागि हामीले काम गर्दै थियौं म रहँदा ।

त्यसपछि मेरो समय सकियो, ती संजाल ब्यवस्थापनका कामहरु अलपत्र परे । मैले यसै विषयमा अध्यायन पनि गरेको, यसै विषयमा सहजीकरण पनि गर्दै हिडेको थिए । पछि विभिन्न संघ संस्थाहरुबाट अनुरोध आयो, आकांक्षा पनि आएहुन्थ्यो भन्ने संस्थाहरुको रह्यो ।

२०७७ मा छोडिएका ती विषयलाई निरन्तरता दिन सकिन्छ भन्ने पनि लाग्यो, सम्हालेर जानु पर्छ भन्ने धेरैको सल्लाह सुझाव अनुसार म नेफ्स्कूनमा जोडिन आएको हो । म आएलगत्तै सातै प्रदेशमा नेतृत्व पूनर्जागरण कार्यक्रम सकिएको छ ।

नीति, विधि र प्रविधलाई आत्मसाथ गरेर साकोसहरु अघि बढ्नुपर्छ । सिद्धान्त, मान्यता र मापदण्डलाई आत्मसाथ गरेर जानुपर्छ । यसबाट बिचलित नहुन, सहकारी क्षेत्र धरासायी हुनबाट जोगाउन मेरो भूमिका रहन्छ। केही काम अघि पनि बढिसकेका छन् । अहिले मैलै १५ वटा अभिमुखी कार्यक्रम पनि गरिसकेको छु ।

ब्राण्डप्रति सहकारीहरुको आकर्षण घट्दै गएको देखिन्छ नी ! किन ?

ब्राण्ड विषेश सूचकहरुमा आधारित छ । आकर्षण घटेको पनि हुनसक्छ । आकर्षण  घट्नुमा मुख्य कुरा आर्थिक मन्दिको कारण, तरलता अभावको कारण र वित्तिय संकटका कारण सहकारी प्रभावित भएको हुनसक्छ । सहकारीको समग्र उन्नती, वृद्धि, ब्यवस्थापन संगसंगै संस्थागत पूँजी ५ प्रतिशतभन्दा माथि गएको हुनुपर्छ ।

भाका नाघेको ऋण ५ प्रतिशतभन्दा कम हुनुपर्र्नेलगाएतका केही कुरा पेण्डामिकका कारण जोगाउन गाह्रो भयो । संस्थामा ऋण भाका नाघेको नाघै भयो, संस्थाको अनुत्पाक क्षेत्रमा गएको ऋण, घरजग्गा जस्ता बिक्री गरेर तुरुन्तै तिर्नसक्ने अवस्था रहेन, किस्ता निरन्तर गर्ने अवस्था रहेन ।

यस्ता केही कारणले २ वटाले मात्र अन्तराष्ट्रिय ब्राण्ड पाउन सफल भए । अरु साकोसहरु पनि ब्राण्डकालागि अभ्यस्त छन् । अव हामी फरक ढंगबाट लिएर जान्छौं । भर्खरै मात्र चितवनमा ४२ वटासंग छलफल गरेका छौं । हामीले १२ / १३ वर्षदेखि एउटै सूचक लिइरहेका छौं, एउटै कुराहरु हेरिरहेका छौं ।

त्यसैले अव सहकारीको वित्तिय पाटोभन्दा फरकपाटोबाट पनि सहकारीलाई हेर्नुपर्ने सुझाव आएको छ । त्यही अनुसार सूचकहरु परिमार्जन गर्ने र परिक्षण गर्न जाने कर्मचारीहरुलाई निर्देशन दिन एक्सनप्लान बनाइसकेको अवस्था छ । सूचकहरु अध्यावधिक हुने क्रममा छ । धेरैभन्दा धैरै संस्थालाई ब्राण्डमा लैजान हामी काम गरिरहेका छौं ।

अन्तराष्ट्रिय ब्राण्डभन्दा नेपालले सरकारको पनि सहभागीता रहनेगरी आफ्नै ब्राण्ड प्रवर्धन गर्नु राम्रो हैन ?

हो पक्कै हो हामी पहिला आफ्नै ब्राण्ड होस भनने चाहन्छौं । जसमा सरकारको पनि सहभागीता रहोस् । एक्सेस ब्राण्डले जुन तहको सूचक हेर्छ, प्रोवेसन ब्राण्डले पनि त्यही तहको सूचकहरु हेर्छ । त्यसैले नेपालको ब्राण्डलाई प्रवर्धन गर्नुपर्छ । यसैको संख्या वृद्धि गर्नुपर्छ भन्ने मेरोपनि सोचाइ हो ।

नेपाल सरकारले पनि त्यसको अपनत्व र स्वामित्व लिनु पर्छ । सरकार सहितले नै अनुगमन र परिक्षण गर्नुपर्छ । यसमा सरकार र नेफ्स्कून दुवैलाई जिम्मेवार बनाउनु पर्छ । पहिला नेपालको सवोत्कृष्ट बन्ने, अनि एसियामा उत्कृष्ट हुने भन्ने आकांक्षा पनि स्वभावीक हो ।

ब्राण्डमा पनि प्रतिष्पर्धा चलेको छ, यो आवश्यकता हो कि ! देखाउने दाँत ?

हो ! म, फर्केर आनुको मुख्य कारण नै संजाललाई ब्यवस्थित बनाउनु हो । मेरो लक्ष्य सहकारीका अव बन्ने र बनेका संघहरु र उनीहरुको कार्यक्रमलाई ब्यवस्थित बनाउने हो । केन्द्र चाँही श्रोतकेन्द्रको रुपमा विकास हुनु पर्छ । केन्द्रको प्रोडक्टहरु मात्र सदस्यहरुले बजार लानुपर्छ ।

जिल्ला तथा प्रदेश संघहरुले प्रारम्भिक संस्थामा जाँदा छुट्टाछुट्टै नभएर केन्द्रको उत्पादन लिएर जानुपर्छ । अव ब्राण्ड पनि नेपालमा एउटा मात्र हुन्छ र त्यसैलाई जिल्ला संघ वा प्रदेश संघले सहजीकरण गर्नुपर्छ । एउटा निश्चित बिन्दुमा गएर यो विषयमा हामी सहमती गर्छौं । र कार्यान्वयन पनि हुन्छ, हामी सहमती गर्छै ।

भएका ब्राण्डहरु केन्द्रीकित हुन्छन् । सवैको उद्धेश्य संस्थालाई सुशासनमा ल्याउनु हो । ब्राण्ड भन्ने कुरा केन्द्रीकृत भएको राम्रो । अव धेरैवटा विषयमा सदस्यलाई अल्मल्याउनु हुँदैन । सदस्य र संघ दुवैको वीन वीन स्थितिमा हामी जाँदैछौं ।

निर्वाचनको संघारमा शिवजी सापकोटाको नेफ्स्कून प्रवेस, केही ब्यक्तीहरुको चुनावी एजेण्डा होे भन्ने आरोप छ नी ?

मेरो कसैसंग कुनैपनि सौदावाजी भएको छैन् । म राजनीतिक मान्छे पनि नभएकोले राजनीतिक आग्रह, पूर्वाग्रह पनि छैन । छोडेर गएको संजाल ब्यवस्थापनलाई जोड्न सकिन्छ भनेर आएको हुँ । जुन नेतृत्व परिवर्तनको कुरा छ, यो नियमित प्रकृया हो, हरेक चार चार वर्षमा नयाँ नेतृत्व आउछ । भएकै पनि हुनसक्छन् वा नयाँ पनि आउनसक्छन्, यो टिमभन्दा बाहिरका पनि आउनसक्छन् । मेरो मिसन भनेको नेफ्स्कूनको मिशन पुरा गर्ने हो । कुनै ब्यक्तीको इन्ट्रेष्टमा म चल्दिन र चल्नेवाला पनि छैन ।

पछिल्ला केही गतिविधिले चुनावी एजेण्डामा आएका हुन शिवजी भन्नेहरुकालागि तपाई के भन्नु हुन्छ ?

पछिल्ला गतिविधिहरु नेफ्स्कूनका नियमित कार्य हुन् । ती कार्यक्रममा मैले कसैको प्रचारवाजी गरेको छैन र आगमी कार्यक्रममा पनि गर्नेवाला छैन । मैले विशुद्ध केन्द्रीय संघको मिशनलाई हेर्ने हो । संघको आगामी यात्रा कस्तो हुने र संघलाई कहाँ पुर्याउने भन्ने मात्र मेरो लक्ष्य हो । त्यो कुर्सीमा को आउँछ, कसलाई ल्याउने भन्ने मेरो डिजाइन भित्र पर्दैन ।

नेफ्स्कूनमा अव प्रमुख कार्यकारी अधिकृतको भूमिका के होला ?

नेफ्स्कूनको साधारण सभा गर्नु नियमित प्रकृया भित्र पर्छ, निर्वाचन नेफ्स्कूनको प्राविधिक कार्य भित्र पर्छ । निर्वाचन प्रकृयामा हस्तक्षेप र पक्षपाती कार्य हाम्रो हुँदैन । साधारण सभा र निर्वाचन प्रकृयाको निणर्य अनुसारको तयारी गरिदिने सम्मको काम हाम्रो हो । अत्यन्त ब्यवसायीक तरिकाले नेफ्स्कूनको कृयाकलाप संचालन हुन्छ, कुनै प्रकारको प्रभाव हुन्न र पार्न पनि दिन्न ।

पछिल्लो सात प्रदेशमा भएको नेतृत्व पूनर्जागरण कार्यक्रमलाई चुनावी प्रचारसंग जोडिएर पनि हेरियो, केही बिवादित पनि बने किन ?

सातवटा प्रदेशमा भएको कार्यक्रम मध्ये ५ वटा कार्यक्रममा म आफै पुगेको छु । त्यहाँ न चुनावी प्रचार भयो न त राजनीतिक एजेण्डामा छलफल भयो । मैले प्राविधिक विषयमा प्रस्तुतीकरण गरेर गए । हो त्यही विषय आउनसक्छ भनेर नै म आफै हिडेको हो । त्यहाँ त्यस्तो के ही भएन । कहीँ नेतृत्वतहमा केही भए होलान तर ब्यवस्थापकिय तहमा म अत्यन्त सजक छु ।

नेफ्स्कूनलाई कुन रुपमा छोडेर जानुभएको थियो ? फर्केर आउँदा कस्तो अवस्थाको रहेछ ?

मिशनबाट बाहिर गएको अवस्था रहेछ किन भने, ब्यवस्थापनको पनि एउटा सिष्टम हुन्छ, नेतृत्वको पनि एउटा सिष्टम हुन्छ । सदस्य संघ संस्थालाई गर्ने सम्बोधन, हेरचाहको मेकानिजम बनेको थियो । त्यो मेकानिजम फर्काएर ल्याउन मलाई अझै समय लाग्छ । हिजो एउटा स्कुलिङमा चलेको त्यो ब्यवस्थापन, नेतृत्व अहिले त्यही अवस्था छैन, यसलाई सुधार्नु छ, बनाउँदै लिएर जानुपर्ने छ र बनाइन्छ पनि ।

तपाइ बाहिर बस्दा नेफ्स्कूनमा जुँङ्गाको लडाइ चलेको छ भन्ने लागेको थिएन ?

बाहिर बस्दा त्यस्तो देखियो, मैलेपनि त्यो अनुभुती गरें । विभिन्न सामाजिक संजालमार्फत पनि त्यस्ता कुराहरु बाहिर आएका देखिन्थे । तर त्यो हुनु राम्रो हैन । संगठन भित्र बसेर तँ ठूलो की ! म ठूलो भन्ने भन्दा पनि संघलाई बलियो बनाउने उद्धेश्य र संघका एजेण्डा स्थापित गर्ने कुरामा लाग्नु पर्छ । समस्यालाई समाधान दिनेतर्फ लाग्नु पर्छ । सदस्यले नेतृत्वतह र ब्यवस्थापनबाट समाधान खोजीरहेका छन् त्यो समाधान दिनसक्ने उद्धेश्य राख्नुपर्छ ।

अवको नेतृत्व कस्तो आउनुपर्ला ?

मेरो पहिलो कार्यकालमा सहकारी विभागले सहकारीको अनुगमन गर्ने प्रतिवेदन बनाउने र सदस्यलाई राष्ट्रिय ब्राण्डको रुपमा सुसुकृत गर्ने अनि कोपोमिसमा जोड्ने कार्यकालागि एक करोड रुपैंयाँ दिएको थियो । पछिल्लो समय राज्यसंगको सहकार्य, लविङजस्ता काम भएका छैनन् ।

४५ सालदेखि प्रवर्धन, संस्था विकास, ब्राण्ड इमेज, छवी निर्माण भनेर अगाडी बढेको नेफ्स्कूनले अव संजाल निर्माण गर्नुपर्छ । सम्पूर्ण बचत ऋण सहकारीको जिम्मा लिनुपर्छ भन्ने तहमा छलफल चल्दैगर्दा त्यसमा अभ्यस्त नेतृत्व अवको आवश्यकता हो ।

संघ संस्थाको बाटो निर्दिष्ट गर्ने, संस्थामा योगदान गर्नसक्ने, अवको अभियान कता जाँदै छ, त्यता जाँदैगर्दा आफ्नो संस्थाले कति योगदान गर्नसक्छ, मैले भनेको संस्थाहरुले कति मान्न सक्छन्, वित्तिय कारोबार गर्ने नेफ्स्कूनलाई समस्या आउँदा धर्मराउन नदिइराख्नसक्ने, राज्यसंग लविङ गर्नसक्ने १९ जनाको टिम बन्नुपर्छ । अनिमात्र संघले सोचेको कृयाकलाप अघि बढाउनसक्छ, । नेफ्स्कूनको छातामुनी छौं भन्ने आभाष सदस्य संघ संस्थालाई गराउनसक्ने नेतृत्व अहिलेको आवश्यकता हो । प्रतिनिधिहरुले पनि त्यही हिसावमा सोच्नु पर्छ ।

सहकारी अभियान र राज्यले सहकार्य गर्नुपर्ने विषय के छन् ?

अहिले सहकारी ऐनले दिएको ब्यवस्थाहरुपनि कार्यन्वयनमा लानसकेको अवस्था छैन । अभियान एक ठाँउमा आउनै पर्छ । सहकारी ऐन ०७४ को जिम्मा अभियानले लिनुपर्छ । टुक्रिएर नभइ सवैले समग्र सहकारीको वकालत गर्नुपर्छ । राज्यसंग लविङ गर्ने विषयचाँही औपचारिकता मात्र भएको छ । गोष्ठी र भाषणमा मात्र सिमित भएर हुन्न । राज्यसंग लविङको विषय कमजोर पक्कै भएकै हो ।

अवको चार वर्षमा नेफ्स्कून र साकोस अभियानले के पाउँछ ?

मलाई चार वर्षको नियुत्ति दिएको छ । यस अवधिमा सदस्यको संस्थागत विकासमा नेफ्स्कून केन्द्रिकृत रहन्छ । दिगो साकोस निर्माणकालागि संस्थागत पूँजीनिर्माण गर्ने कुरामा जोड दिनेछु । स्थिरिकरण कोष प्रभावकारी रुपमा संचालन भएको छैन । समस्या परेको बेलामा पैसा लिएँ, अनि फिर्ता पनि गरे, यो मात्र हैन, स्थिरिकरण कोषको काम । यसले सुपरिवेक्षको संयन्त्र निर्माण गर्नुपर्छ ।

यो वित्तिय संस्थाहरुको कोष हुनुपर्छ । विश्वब्यापी प्राक्टिस पनि वित्तिय सहकारीहरु समस्यामा पर्नसक्छन् उनीहरुलाई तरलता मार्फत परिचालन गरेर रिकभर गर्ने भन्ने मान्यता हो । यो कोष संचालन कार्यविधि परिमार्जन गर्ने बेला चाही आएको छ । स्तरीकरण कार्यक्रमको पनि मोडालिटि चेन्ज गर्छौ ।

संस्थाले अनुभव गर्नेगरी परिवर्तनको आभाष दिलाउँछौं । वित्तिय सहकारीको नेतृत्व विकासमा पनि चेन्ज ल्याउँछौं । तालिम शिक्षाका कार्यक्रम पनि पुनरावलोकन गर्छौ । संगठनात्मक सुधारका कृयाकलाप पनि गर्छौ। सुशासनयुक्त सदस्यको संजाल पनि निर्माण गर्छौ ।

सुसाशन युक्त सदस्यको संजाल १ सय संस्थाबाट सुरु हुँदैछ । नेफ्स्कूनले इन्टेन्सी मनिटरिङ गरेका संस्थाको जिम्मा हामी लिन्छौं । विद्यमान सहकारी ऐन र पालिकाहरुको ऐन निर्माणमा सहजीकरण गर्छै । ब्राण्डको इमेज कसरी बनाउने विषयमा हामी केन्द्रीत हुन्छौं ।



Leave a comment