काठमाडौं । राष्ट्रिय सहकारी बैंकको संचालक तथा लेखा समितिको निर्वाचन सम्पन्न भएको छ । जेठ ९ गते बागमती प्रदेश संचालकको निर्वाचन सम्पन्नसंगै बैंकमा सातजना संचालक र तीनजनाको लेखा समिति चयन गर्ने कार्य सकिएको हो ।
सहकारी बैंकको संसोधित विनियम अनुसार सञ्चालक समिति नौ सदस्यीय हुनेछ । समितिमा कम्तीमा दुई जना महिला अनिवार्य सहित सात प्रदेशबाट एक–एक जना संचालक निर्वाचित हुनेछन् ।
दुईजना विज्ञ सञ्चालक (एकजना सहकारी तथा एकजना वित्तीय विज्ञ) चाँही पछि मनोनयन गरिने व्यवस्था छ । निर्वाचित सञ्चालक मध्येबाट अध्यक्ष चयन हुनेछ ।
कोशी प्रदेशबाट लक्ष्मीप्रसाद उप्रेती, मधेश प्रदेशबाट मन्दिरा आचार्य, बागमती प्रदेशबाट परितोष पौड्याल, गण्डकी प्रदेशबाट कमला देवी गिरी, लुम्बिनी प्रदेशबाट विष्णुप्रसाद बराल, कर्णाली प्रदेशबाट कालीबहादुर महतारा र सुदुर पश्चिम प्रदेशबाट मनमोहन विष्ट संचालक बनेका छन्।
त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तारा गुरुङ र सदस्यहरुमा ममता शाह तथा युवराज पोखरेललाई चयन गरिएको छ । समितिको भोली जेठ १३ गते सपथ (पदबहाली) गर्ने जनाइएको छ ।
दलिय भागवण्डामा चयन भएका बैंकका संचालकहरु अधिकांश दोहोरो पदधारी रहेका छन् भने केही पाहुना प्रतिनिधि र कर्मचारी पनि सहकारी बैंकको संचालक बनेका छन् ।
सहकारी कानुनले दोहोरो पद र कर्मचारीलाई संचालकमा रोक लगाएपनि पाहुना प्रतिनिधिका विषयमा बोलेको छैन् । सहकारी बैंकको निर्वाचन निर्देशिकाले भने बैंकमा निर्वाचित भएको सातदिन भित्र एक पद छाड्नुपर्ने ब्यवस्था गरेको छ । यद्यपी नेपाल राष्ट्र बैंकले दोहोरो पदमा बसेकालाई कार्वाही गरेको छ ।
दलिय भागवण्डा अनुसार निर्वाचित गराइएका बैंकका संचालकमा बागमती, कोशी र गण्डकी प्रदेशबाट एमाले कोटाबाट परितोष पौड्याल, लक्ष्मीप्रसाद उप्रेती र कमलादेवी गिरि संचालक बनेका छन् ।
त्यसैगरी मधेश र सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेस कोटाबाट मन्दिरा आचार्य र मनमोहन विष्टलाई निर्वाचित गराइएको छ । लुम्बिनी र कर्णाली प्रदेशबाट विष्णुप्रसाद बराल र कालीबहादुर महतारा नेपाली कम्युनिष्ट पार्टीको कोटाबाट संचालक भएका छन् ।
त्यस्तै कांग्रेसले पाएको लेखा समितिको संयोजकमा तारा गुरुङ र नेकपा एमालेले सदस्यमा ममता शाह तथा युवराज पोखरेल निर्वाचित गराएको छ । अव फेरी संचालक मध्येबाट अध्यक्ष पदको लागि रस्साकस्सी हुनेछ भने बाँकी दुई विज्ञ संचालकमा पनि पुराना तीनदलले भाग लगाउने पक्का छ ।
कोशी प्रदेशबाट नेकपा एमालेको कोटामा संचालक बनेका लक्ष्मीप्रसाद उप्रेती झापाको काँकडभिट्टा स्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
सहकारी बैंकको निवर्तमान लेखा समिति संयोजक रहेका उप्रेतीले प्रतिनिधित्व गरेको संस्थामा हाल १ लाख ७२ हजार सदस्य रहेका छन्। लामो समयदेखि सहकारी बैंकको विभिन्न पदमा रहँदै संचालक बनेका उप्रेतीले प्रतिनिधित्व गरेको संस्थाको कूल सम्पति १६ अर्व ४१ करोड ४७ लाख रहेको छ ।
कांग्रेसको भागमा परेको मधेश प्रदेशकोटाबाट संचालक बनेकी मन्दिरा आचार्य जिल्ला बचत तथा ऋण सहकारी संघ सर्लाहीकी अध्यक्ष हुन् । नेत्रगञ्ज महिला बचत तथा ऋण सहकारी संस्था लालबन्दीकी निवर्तमान अध्यक्ष आचार्यले संघको प्रतिनिधित्व गरेकी छन् ।
एमालेको भागमा परेको बागमती प्रदेशबाट निर्वाचित भएका परितोष पौड्याल राष्ट्रिय सहकारी महासंघका संचालक हुन् । नेफ्स्कूनको २०८० साल पुस ८ गते भएको निर्वाचनबाट अध्यक्षमा पराजित भएपछि पार्टीले सहकारी महासंघमा संचालक बनाएको थियो ।
नेकपा एमालेका तत्कालिन सहकारी विभाग प्रमुख खगराज अधिकारीका निकट मानिने पौड्याललाई उनै अधिकारीले महासंघको संचालक बनाएका थिए ।
नेफ्स्कूनको अध्यक्ष रहँदा सहकारीको सफ्टवयेर निर्माणदेखि संघको भवन ठेक्कालगायत सिइओ नियुक्ति जस्ता विभिन्न विषयमा बिवादित बनेका पौड्याल पार्टीको अनुशासन आयोगका सदस्य हुन् ।
विषेशगरी सहकारीको पाहुना प्रतिनिधिका रुपमा चिनिने पौड्याल सहकारी बैंकको निर्वाचनमा काठमाडौको नरपानी देवनगर बचत तथा ऋण सहकारीबाट प्रतिनिधि ल्याएका छन् ।
राष्ट्रिय सहकारी महासंघमा संचालक बन्न गण्डकी प्रदेशको तनहुँ जिल्ला सहकारी संघको प्रतिनिधि ल्याएका पौडेलले यस अघि नेफ्स्कूनको निर्वाचनमा काठमाडौंको हाम्रो एकिकृत बचत तथा ऋण सहकारी बाट प्रतिनिधि ल्याएका थिए ।
यस अघि काठमाडौं जिल्ला कृषि सहकारीका अध्यक्ष रहेका उनी जिल्ला सहकारी संघ काठमाडौंको कोषाध्यक्षका लागि स्वयम्भुको उन्नतीशिल बहुउद्देश्यीय सहकारी बाट प्रतिनिधि ल्याएको बताइएको छ ।
त्यसपछि सहभागिता साकोस र हाम्रो एकिकृत सहकारी हुँदै पौड्याल सहकारी बैंकको संचालकका लागि काठमाडौंको नरपानी देवनगर साकोस सम्म आइपुगेका छन् ।
उनले प्रतिनिधित्व गर्ने संस्थामा कहिलेकाँही संस्थाले बोलाएको बेलामा जाने गरेका छन् । संस्थामा खासै भूमिका नरहेको पौड्याललाई सल्लाहकारको रुपमा मिटिङमा कहिलेकाँही बोलाउने गरेको एक कर्मचारीले बताए ।
उनले भने, ‘संचालक सरहरुको ब्यस्ताको कारणले इन्ट्रेष्ट देखाउनु भएन, उहाँले म जान्छु भन्नुभयो, अनि पठाएको हो । ०७८ मा दुइवटा संस्था एकिकरण भएर नरपानी देवनगर साकोस बनेको उनले बताए ।
त्यसताका नै सदस्य हुनुभएको, उनले भने । मर्ज हुनुअघि ९ करोडको थियो, अर्को संस्था ३ करोडको मर्ज गरेपछि १२ र १३ करोडको कारोबार रहेकोे ति कर्मचारीले बताए ।
त्यसैगरी एमाले कोटाबाटै महिला आरक्षण सिटमा गण्डकी प्रदेशबाट निर्विरोध भएकी संचालक कमला देवी गिरी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)की संचालक हुन् ।
गिरि पोखरामा रहेको सृजना महिला बचत तथा ऋण सहकारी संस्थाकी पूर्व अध्यक्ष तथा सल्लाहकार हुन् । उनले प्रतिनिधित्व गरेको संस्थामा १ हजार २२६ जना सदस्य रहेका छन् । १८ करोड ७१ लाख कुल सम्पति रहेको संस्थाले ९ करोड ६० लाख लगानी गरेको छ ।
कर्णाली प्रदेशबाट निर्विरोध संचालक बनेका कालिबहादुर महतारा यसअघि पनि बैंकको संचालक नै थिए । कालिकोटको हिमचुली कृषि सहकारीबाट प्रतिनिधित्व गरेका महतारा उक्त संस्थाका निवर्तमान अध्यक्ष हुन् ।
महतारा राष्ट्र बैंकले दोहोरो पद छाड्न निर्देशन दिएपछि राजिनामा दिएर पुन नेपाली कम्युनिष्ट पार्टीको कोटाबाट संचालक बनाइएका छन् । महताराले प्रतिनिधित्व गरेको संस्थामा १६ हजार १३९ सदस्य रहेका छन् ।
विषेशगरी कृषि उत्पादनमा काम गर्ने हिमचुली सहकारीले रैथाने उत्पादनलाई संकलन र बिक्री गर्ने गरेको बताइन्छ । संस्थाको कूल सम्पती ५३ करोड रहेको जनाइएको छ ।
नेपाली कम्युनिष्ट पार्टीको कोटाबाट लुम्बिनी प्रदेशको संचाल बनाइएका बिष्णुप्रसाद बराल नवलपरासी पश्चिम बर्दघाटमा रहेको हाम्रो सुपर साकोसका अध्यक्ष हुन् ।
उनले प्रतिनिधित्व गरेको संस्थामा ६ हजार ५७३ सदस्य रहेका छन् भने ५५ करोड ६५ लाख कूल सम्पती रहेको छ । नेपाली कांग्रेस कोटामा परेको सुदुर पश्चिम प्रदेशबाट मनमोहन विष्टलाई संचालक बनाइएको छ ।
संचालक विष्टले धनगढी कैलालीमा रहेको संगम बचत तथा ऋण सहकारीबाट प्रतिनिधित्व गरेका छन् । उनले प्रतिनिधित्व गरेको संस्थामा ५ हजार ११२ सदस्य रहेका छन् भने ५५ करोड ६८ लाख संस्थाको कूल सम्पत्ती रहेको छ ।
त्यसैगरी नेपाली कांग्रेसको भागमा परेको लेखा सुपरिवेक्षण समिति संयोजक तारा गुरुङले नेपालको पहिलो सहकारी बखान सहकारी चितवनबाट प्रतिनिधित्व गरेकी छन् । उनी आवद्ध संस्थाले वित्तिय कारोबार गर्दैन ।
त्यसैगरी नेकपा एमालेले संचालक बनाएको लेखा समिति सदस्य ममता शाह, सप्तरीको शिवज्योति महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष हुन । संस्थाबाट राजिनामा दिने तयारी रहेको उनले बताएकी छन् ।
उनले प्रतिनिधित्व गर्ने संस्थामा ३२७ सदस्य तथा १४५ जना ऋणी सदस्य रहेका छन् । ४४ लाख ऋण लगानी र २६ लाख बचत रहेको संस्थामा ४ लाख ६८ हजार सेयर पूँजी र २ लाख जगेडा कोष रहेको जनाइएको छ ।
नेकपा एमाले कोटाबाट लेखा समिति सदस्य बनेका युवराज पोखरेल कपिलबस्तुमा रहेको माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष हुन् । उनले यसै संस्थाबाट प्रतिनिधि लिएर आएका छन् ।
विषेशत सहकारी बैंक पूणरुपमा सहकारीहरु संग वित्तीय कारोबार गर्ने संस्था भएकोले राष्ट्र बैंकले नियमन र निगरानी गर्दैआएको छ।बैंकमा राजनीतिक पहुँच भएका भन्दा पनि वित्तीय दक्षता भएका संचालकहरुको बाहुल्यता हुनुपर्ने सहकारीकर्मीहरुको भनाई छ।
तर पनि बैंकको संचालक समितिका पदाधिकारीहरु राजनीतिक दलको फेरो समातेर आएको हुनाले सहकारी बैंक ब्यवसायिक बन्नेमा सहकारीकर्मीहरुको शंका छ ।
Leave a comment