काठमाडौं । राष्ट्रिय सहकारी बैंकको निर्वाचनमा संचालकदेखि अध्यक्षको पदसम्म आइपुग्दा एउटै दलका उमेदवार बिच भएको प्रतिष्पर्धा रोचक बनेको छ । बैंकको निर्वाचनमा तीनदलको सहमती भनेपनि मुख्य प्रतिष्पर्धा एउटै दलका आकांक्षी बिच संचालक देखि अध्यक्षसम्मका लागि भयो ।
बैंकको संसोधित विनियम अनुसार सात प्रदेशका सातजना सञ्चालकहरु मध्येबाट अध्यक्ष निर्वाचित हुने प्रावधान रहेको छ । बैंकको सञ्चालकका लागि तीन दल ( नेपाली कांग्रेस, नेपका एमाले र नेपाली कम्यूनिष्ट पार्टी) बीच भागवण्डा भएको थियो । भागवण्डामा सातमध्ये नेकपा एमालेलाई तीन तथा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुइदुई सञ्चालक बाढिएको थियो ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजक नेपाली कांग्रेस र २ सदस्य एमालेले लिने सहमति अनुसार नै सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिमा ९ जना सर्वसम्मत र एक जना निर्वाचन मार्फत दलीय भागवण्डा अनुसारकै प्रतिनिधि निर्वाचित भएका थिए ।
६ प्रदेश र लेखा सुपरीवेक्षण समितिमा सर्वसम्मत हुँदा बागमती प्रदेशमा भने निर्वाचन भएको थियो । बागमती प्रदेश एमालेको भागमा परेको थियो । एमालेको भागमा परेको बागमतीमा एमालेको आधिकारीक उम्मेदवार परितोष पौड्यालले दावी गरेपछि एमालेकै सहकारी विभागका निवर्तमान सदस्य रामशरण शर्मा घिमिरेले पनि संचालकको उमेदवारी दिएका थिए ।
सहमति हुन नसकेपछि जेठ ९ गते बागमती प्रदेशको एकजना सञ्चालकका लागिमात्रै देशभरका बैंकका प्रतिनिधिहरुले मतदान गरे । मतदानमा पौड्याल २७५ मतले विजयी भए । राष्ट्रिय सहकारी महासंघका सञ्चालक रहेका पौड्याललाई बैंकको अध्यक्ष बनाउने गरी एमालेले अगाडि बढाएको बताइएको छ।
बागमती प्रदेशको सञ्चालकमा निर्वाचनका क्रममा पनि अध्यक्ष हुने व्यक्तिलाई सञ्चालक जसरी पनि जिताउनु पर्छ भन्ने प्रचार भएको भनिएको छ । पौड्याललाई बैंकको भावी अध्यक्षका लागि दलीय सहमति भएकै कारण मत बढेको पनि आंकलन गरिएको छ । सातजना सञ्चालक सहित लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुले जेठ १३ गते सपथ लिए ।
सपथ लगत्तै अध्यक्ष चयन र धन्यवाद ज्ञापनको प्रस्ताव राखेर बैठक शुरु भयो । बैंठकमा एमालेको भागमा परेको कोशी प्रदेशबाट निर्विरोध निर्वाचित एमाले निकट नै लक्ष्मी प्रसाद उप्रेतीले पनि अध्यक्षको दावा गरे । दुवैका बीच रस्साकस्सी नै चल्यो ।
म पार्टीको आधिकारीक उम्मेदवार हुँ, महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र नेकपाका नेताहरुसंग समेत परामर्श गर्नु भएको छ, सबैले मलाई साथ दिनुपर्छ भन्दै पौड्यालले पार्टीको ह्वीप मान्न आग्रह गरेको बैठक स्रोतले जनाएको छ।
पार्टीको निर्देशन मान्ने कि ? सहकारी अभियानको धारणा, चाहना र विश्वासलाई अगाडि बढाउने भन्ने अवस्था आएपछि हामीले सहकारी बैंकका लागि अहिलेको आवश्यकता दलको निर्देशन भन्दापनि सहकारी अभियानको भावनालाई प्रतिनिधित्व गर्नु हो भन्ने निष्कर्षका साथ उप्रेतीका पक्षमा मतदान गरेका हौ, एक जना सञ्चालकले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
अध्यक्षका लागि एउटै दलका दुइजनाको दावी परेपछि १३ गते दिनभर नै छलफल भयो, हामीले तपाईहरु मिलेर आउनुस्, सर्वसम्मत गरौ भनेका हौ, समय दिएका पनि हौ, पौड्याल आफुलाई पार्टीको आधिकारीक उम्मेदवार भएकाले सबैले समर्थन गर्नुपर्छ भन्ने पक्षमा र उप्रेती सहकारी बैंकको लिगेसी र अभियानको सन्देश आफु भएको दावी सहित समर्थनका लागि अनुरोध गरेपछि बैठक स्थगित गरेर १४ गतेसम्म सहमति गर्न आग्रह गरेका थियौ, ति सञ्चालकले भने ।
बैंकको बैठकमै महासचिवको निर्देशन मलाई छ, भन्ने अवस्था सिर्जना भएपछि सञ्चालकहरु बिच्किएको अर्का एक सञ्चालकले बताए, चुनावमा पार्टीले उम्मेदवार सिफारिस गर्नु फरक कुरा हो, तर सहकारी अभियानमा प्रवेश गरेपछि, सञ्चालक भइसकेपछि पनि पार्टीकै निर्देशन मान्ने हो भने बैंक कसरी चल्छ, हामी सबै कुरामा पार्टीहरुको निर्देशन स्वीकार गर्न बाध्य छैनौ, उनले भने ।
१४ गतेपनि दुईजनाका बीचमा सहमतिका लागि पटक पटक प्र्रयास भयो, एमालेका सहकारी विभागका प्रमुख डा.खेम लोहनीले समेत दुवै जनालाई राखेर सहमतिका लागि प्रयास गरेको स्रोतको भनाइ छ । लोहनीले पार्टीको आधिकारीक उम्मेदवार परितोष पौड्याल भएकाले सहयोग गर्न लक्ष्मी उप्रेतीलाई पटक पटक आग्रह गर्नु भएको थियो, स्रोत भन्छ, तर उप्रेतीले लोहनीको प्रस्तावलाई स्वीकार गर्नुभएन ।
बैंकको भविष्य र सहकारी अभियानको चाहना अनुसार म अध्यक्षको उम्मेदवार हुँ, पार्टीको निर्देशन अवज्ञा गरेको ठहर्छ भने त्यसको सजाय भोग्न तयार छु, उप्रेतीले एमाले सहकारी विभागका प्रमुुखसंग आफ्नो विषय राखेको एमाले स्रोतले जनाएको छ । बागमती प्रदेशको निर्वाचनमै तीनदलका साझा उम्मेदवारलाई एक्ला रामशरण शर्मा घिमिरेले कडा टक्कर दिएका थिए ।
दलले के अव पार्टिको निर्देशन अवज्ञा गरेका संचालकका उमेदवार रामशरण शर्मा घिमिरे र अध्यक्षका उमेदवार लक्ष्मी प्रसाद उप्रेतीलाई कारबाही गर्छ की पार्टीका आधिकारिक उमेदवार घोषणा गरेका परितोष पौड्याललाई राजिनामा दिएर नौतिकता देखाउन निर्देशन गर्छ ।
जनता राजनीतिक दलप्रति होइन, दलका नेताहरुको कार्यशैली, नेताहरुले अगाडि बढाउने पात्र र प्रवृतिका बारेमा असहमत छन्, २०८० पुस पहिलो साता नेफ्स्कूनको अध्यक्षमा प्रतिस्पर्धा गरेका पौड्याललाई पुसको अन्तिम साता महासंघको सञ्चालक बनाइयो, त्यसयता पार्टीको सहकारी विभागका सचिव, गत मसिरमा सम्पन्न महाधिवेशनबाट अनुशासन आयोगको सदस्य र अहिले महासंघबाट ल्याएर बैंकको अध्यक्ष बनाउन खोज्दा अभियानले स्वीकार नगरेको एमाले निकट सहकारीकर्मीहरु बताउछन् ।
एमाले पार्टीका सचिव खगराज अधिकारीका खास मानिने पौड्याललाई अध्यक्ष बनाउन विभागीय प्रमुख खेम लोहनीलाई एमाले महासचिव पोखरेलले निर्देशन दिएका थिए । अमुक नेताको आड लाग्ने र अभियानका सबैलाई त्यही आडको डण्डा प्रयोग गर्ने प्रवृतिलाई सहकारी बैकको अध्यक्ष चयन गर्ने निर्वाचनले सचेत गराएको छ ।
उप्रेतीले चुनौती स्वीकार गरेर महासचिवको निर्देशन अवज्ञा गरेका छन्, के उप्रेतीलाई एमालेले कार्वाही गर्ला ? अन्य दलबाट निर्वाचित सञ्चालकहरुले एमाले महासचिवको निर्देशन मान्न वाध्य हुने कुरा भएन ? दलीय सहमतिमा अध्यक्ष एमालेबाट हुने भन्ने उल्लेख छ, बैंकको चुनावमा एमालेको सूर्य चिन्हमा मतदान गर्ने होइन, लक्ष्मी प्रसाद उप्रेती एमालेकै कोटाबाट निर्वाचित हुनुभएको हो, एमालेकै दुइमध्ये एक रोज्दा सहकारी बैंकको भविष्यका लागि उप्रेती छानेका हौ, दलहरुबीच भएको सहमति हामीले उल्लघन गरेका छैनौ, नेपाली कांग्रेस समर्थक एक सहकारीकर्मीले बताए ।
बैंकको अध्यक्ष पदमा भएको निर्वाचनमा ७ मध्ये ५ मत पाएर उप्रेती विजयी हुदा पौड्यालले २ मत प्राप्त गरेका हुन् । एमालेका ३ सञ्चालक मध्ये २ जना उम्मेदवार भएकाले अर्का सञ्चालकको मत पौड्याललाई नै परेको बताइन्छ ।
तीन राजनीतिक दलहरुको सहमतिमा बागमती प्रदेशबाट निर्वाचित पौड्याललाई अध्यक्ष बनाउने सहमति भएको थियो, तर बैंकका निर्वाचित सञ्चालकहरुले बैंकका निवर्तमान लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीलाई निर्वाचित गरेको जनाइएको छ ।
उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत निर्वाचित हुन । २०७० मा लेखा सुपरीवेक्षण समिति सदस्य तथा २०७५ र २०७९ मा लेखा सुपरीवेक्षण समितिका संयोजक रहेका उप्रेती बैंकको आगामी कार्यकालका लागि अध्यक्ष चयन भएका छन् । तीन राजनीतिक दलबीच गठबन्धन भएर सहकारी बैंकको निर्वाचनमा दुई समुहमा विभाजन भएका छन् ।
एमालेका आधिकारीक उम्मेदवार पौड्याललाई जम्मा दुइ मत परेको छ । चुनावी तालमेल अनुसार एमालेलाई कोशी, बागमती र गण्डकी प्रदेश, नेपाली कांग्रेसलाई मधेश र सुदुरपश्चिम प्रदेश तथा नेकपालाई लुम्बिनी र कर्णाली प्रदेश परेको थियो । चुनावी नतिजा हेर्दा बागमती र गण्डकीको परितोष पौड्याललाई तथा अन्य प्रदेशको उप्रेतीलाइ मत परेको देखिन्छ, कांग्रेस र नेकपाका तर्फबाट विजयी सञ्चालकहरुले उप्रेती रोजेका छन् ।
Leave a comment