सरकारले सहकारीमा नियमन कमजोर कमजोर हुँदा बिचलन आएको निष्कर्ष निकाल्दै नियमनकालागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरेको छ । प्राधिकरणले बचत ऋणको मुख्य कारोबार गर्ने सबै सहकारीहरु लाई दर्ता अभिलेखिकरणका लागि आह्वान समेत गरेको छ र सहकारी दर्ता अभिलेखिकरणको समय आगामी चैत १७ गते सकिंदैछ । देशमा झण्डै १४ हजार कृषि सहकारीहरु स्थापना भएका छन् त्यसमा १४ सय जती साना किसान कृषि सहकारीहरु रहेका छन् । उनीहरुलाई पनि बचत ऋण कारोबारको आरोप छ । आफूहरु बचत ऋण सहकारी नभएको सानाकिसान कृषि सहकारीको भनाइ छ । अस्पष्ट कानुनी ब्याख्याका कारण प्राधिकरणमा अभिलेखिकरणका लागि जाने कि नजाने अन्यौलमा रहेका कृषि सहकारी किन अभिलेखिकरण हुनगएका छैनन् त । यसै विषयमा प्रतिनिधि पात्र साना किसान कृषि सहकारी कुमरोज चितवनका अध्यक्ष तेजप्रसाद वर्तौलासंग सहकारी अखबारले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं ।
तपाइहरु बचत ऋणमा मात्र सिमित हुनुहुन्न भनेर पुष्ठि गर्न सक्नुहुन्छ ?
बचत ऋणको कारोबार गरेका छौं, तर हाम्रा सदस्यले गरेको उद्यम ब्यवसायबाट बचाएर ल्याएको बचतलाई संरक्षण गरेका छौं । अनि हामी स्वरोजगार हुन्छौं, उद्यम गर्छौ भन्ने सदस्यलाई सामुहिक जमानी र सहकारी कानुनको दायरामा रहेर धितोमा सानो सानो मात्र लगानी गरेका छौं ।
त्यसलाई बचत ऋणमा सिमित भयो भन्न मिल्ला ? हाम्रा सदस्यहरु सवै कृषकहरु हुन्, उनीहरुले गाई भैसी, हाँसकुखुरा पालन गर्न, खसी बाख्रा पालन गर्न, तरकारी खेति गर्न ऋण लिएका छन् यो गर्न पाउने की न पाउने ? समुह बनाएर समुहको सदस्यलाई साक्षी राखेर ऋण लिएका हुन्छन् ।
धितो नहुनेहरुलाई समुह जमानी बसिदिन्छ । यसरी संचालन भएका सहकारीलाई बचत ऋणमै मात्र सिमित भए भन्नु गलत हो । हाम्रो पहिलो प्राथमिकता पनि कृषि हो र लक्ष्य पनि साना किसानहरुलाई हैसियत भएको ब्यवसायि कृषक बनाउने हो यसभन्दा बाहिर हामी गएका छैनौ र जाँदैनौं पनि ।
साना किसानका लगि के के गरिरहनुभएको छ ?
२०४० सालमा आयोजनाले स्थापना गरेको संस्था हो यो । यस भेगमा धान उत्पादन हुदैनथ्यो मकै र तोरी मात्र उत्पादन हुन्थ्यो । यो सहकारीको स्थापना पछि यहाँका किसानहरुको मेहनतमा बुढी राप्ती तेश्रो आयोजना आयो अनिमात्र यस भेगमा धान खेति हुनथालेको हो । यहाँको उत्पादनलाई ब्यवसायिकिकरण गर्न संस्थाले यहाँका किसानलाई सदस्य बनाएर अघि बढेको हो ।
यहाँका किसानले तोरी पेल्नको लागि एक किलोको १८ रुपैंयाँ सम्म तिर्नुपथ्र्यो जव सहकारीले मिल स्थापना गर्यो एक किलो तोरी पेल्नलाई ९ रुपैंयाँ तिरे हुने बनायो । बजार मूल्यमा भएको मनलाग्दीलाई सहकारीले एकरुपतामा ल्याएको छ । मनलाग्दी बजार मूल्यलाई नियन्त्रण गरेको छ ।
सहकारीको मिलमा तोरी पेल्न ल्याउने सदस्य कृषकलाई संस्थाले उल्टै खाजा खर्च समेत दिने ब्यवस्था गरेर बजार मूल्य नियन्त्रणको अभियान सुरु गरेको छौं । त्यसैगरी धानको मूल्यमा, खेत खनजोतमा पनि मनलाग्दाी बजार भाउलाई संस्थाले दररेट तोकेर एकरुपतामा ल्याएको छ । अहिले २२ सय घरधुरी संस्थामा आवद्ध छन् । खरको छानो भएका हाम्रा सदस्यहरु अहिले पक्की घर बनाएर बस्नसक्ने बनाएका छौं । २३ हेक्टर सामुदायिक वनमा संस्थाले बृक्षारोपण समेत गरेको छ ।
सदस्यको कृषि ब्यवसायलाई प्रवर्धन गर्न सहुलियतमा लगानीका साथै आवश्यक कृषि औजार देखि मल बीउ बिजन, प्राविधिक र बजारीकरण गरेको छ । कार्यक्षेत्रका भूमीहिन, सुकुम्वासी न्युनआए भएका महिला तथा किसानहरुको समुह निर्माण गरी उनीहरुको वृति विकास गरेर, वित्तिय चेतना प्रदान गर्दै उनीहरुको अर्थिक सवलिकरणका लागि संस्थाले योगदान गरेको छ ।
सानाकिसानका सदस्यले गरेको ब्यवसाय चाही के हो ?
सदस्यले ब्यवसायिक रुपमा धान खेती, तोरी खेती, केरा खेती, माछा पालन, कुखुरा पालन गाईभैसी पालनलगायतका धेरै ब्यवसाय गरेका छन् । सदस्यको यही कृषि पेशालाई नै आधुनिक र ब्यवसायिक बनाउन संस्थाले सिंचाइको प्रवन्धदेखि कृषि औजार, मल बीउबिजन, किटनाशक औषधीलगायत प्राविधिक सेवा पनि दिएको छ । सदस्यहरुलाई कृषिका लागि ७ प्रतिशतमै ऋण लगानी गरेका छौं ।
संस्था आफ्नै पनि ब्यवसाय छ ?
संस्थाबाट तोरी तेलमिल संचालन भएको छ । संस्थाले कृषिको उत्पादन बृद्धि गर्न, सुरक्षित गर्न र आधुनिकरण र पूर्ण ब्यवसायिकिकरणका लागि एकसय पाँच कठ्ठा जग्गा खरिद गरेर परियोजना संचालन गरेको छ । यसमा रामपुर क्याम्पससंग समन्वय गरेर विभिन्न १५ / १६ जातका बढी फल्ने जातको धानको बीउको अनुसंधान गरी सदस्यलाई निशुल्क बितरण समेत गरेको छ।
त्यसैगरी कस्टम हायरिङ सेन्टर स्थापना गरेर कृषकहरुलाई खेत जोत्ने, धान रोप्ने, काट्नेदेखि पराल सुकाउनेसम्मको अधुनिक मेशिनहरु सुलभ दरमा उपलब्ध गराइराखेका छौं । संस्थाले यो सेवा नदिंदा किसानले ब्यापारीलाई धान काट्नकालागि प्रति बिगाह ८ हजारसम्म तिर्थे, सहकारीले मेशिन ल्याएपछि प्रति बिगाह ४ हजारमा धान काट्न पाएका छन् ।
खेत जोत्न २२ सयसम्म तिर्नुपर्ने अवस्था थियो संस्थाले मेशिन खरिद गरेर १६ सयमै खेत जोतिदिन थालेपछि किसानलाई राहत भएको छ । अहिले सहकारीले तोकेको दररेटमा अरुले पनि काम गर्नथालेको अवस्था छ । सदस्यको जग्गालाई एकिकृत गरेर एकै प्रकृतिको धान लगाएर ब्यवसायिक रुपमा उब्जनी बढाइदिए पछि किसान पनि खुसी भएका छन् ।
जग्गा सुधार कार्यक्रम पनि संचालन गरेका छौं । यो सबै सहकारीका कारण भएको हो । सदस्य कृषक र ब्यापारीहरु बीच मूल्यको सहजीकरण गरिदिने सम्मको काम संस्थाले गर्दैआएको छ । संस्थाले आफै जग्गामा कृषको उत्पादनका लागि गोदाम घर निर्माण गरेको छ ।
सम्पूर्ण कृषि औजारहरु सहुलियत दरमा प्रदान गर्छौ । कृषि प्राविधिक तथा पशु भेटनरी सेवा दिइरहेका छौं । कृषि ल्याबको पनि ब्यवस्था गरेका छौं । बीउ बिजन भण्डारको ब्यवस्था गरेका छौं । सदस्यलाई बचत ऋणका अलवा कृषिलाई प्राथमिकता दिएर लगानी गरिरहेको छ ।
समग्रमा तपाइहरुको पिँडा के हो ?
राज्यका विभिन्न निकायसंग हामिले मिलेर कृषिलाई आधुनिकिकरणमा लैजान धेरै काम गरेका छौं । तर अहिले स्थापना भएको सहकारी नियमन प्राधिकरणले हामीलाई बुझेकै छैन । हामीलाई र बचत ऋणको मात्र कारोबार गर्ने सहकारीलाई एउटै दायरामा राखेको छ । यसो गर्नुभएन भनेर हाम्रो संस्था भ्रमणमा आउनुभएका भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण सचिवसंग पनि कुरा राखेका थियौं ।
उहाँले के रहेछ, म बुझेर मन्त्रालय र सरोकारवालाहरु संग छलफल गर्छु भन्नु भएको छ । मेरो बिचारमा हामी प्राधिकरणमा जान नचाहेको हैन, हामी जान्छौं तर हामी जस्ता कृषिकर्म नै गरेका सहकारीहरुलाई बचत ऋण सहकारीको दाँजोमा राख्न मिल्दैन त्यहाँ जाने प्रकृयाका केही बुँदाहरु संसोधन गरेर जाने बाताबरण मिलाउनु पर्छ भन्ने हो ।
Leave a comment