पोखरा रोयल सहकारीको साधारण सभामा ६० प्रतिशत सदस्यको उपस्थिति, १२ प्रतिशत लाभांश पारित

पोखरा रोयल सहकारीको साधारण सभामा ६० प्रतिशत सदस्यको उपस्थिति, १२ प्रतिशत लाभांश पारित :: Sahakari Akhabar

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेदेखि ९ गते सम्म एकाईगत रुपमा विभिन्न स्थानमा सम्पन्न भएको साधारण सभामा ६०.२० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारण सभाले आव २०७९ / ०८० को नाफाबाट शेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ । यसैगरि संरक्षित पूँजी फिर्ता कोषबाट बचत कारोबार तर्फ २.८१ प्रतिशत र ऋण तर्फको कारोबारमा २.६७ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने निर्णय गरेको छ ।

उत्कृष्ठलाई सम्मान

उत्कृष्ठ कारोबार गर्ने सदस्य, केन्द्र र कर्मचारीहरुलाई विभिन्न विधामा सम्मान एवं पुरस्कृत गरिएको छ । सस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका १४ जना कर्मचारीहरुलाई दशक सेवा पदक बाट सम्मान गरिएको हो ।

सम्मानित हुने कर्मचारीहरुमा मूख्य प्रवन्धक मीलन ढकाल तथा परमेश्वर दाहाल, उमनाथ आचार्य, अभिषेक गुरुङ्ग, लिलाधर पौडेल, डिलकुमारी गुरुङ्ग, देवी गुरुङ्ग, टंकबहादुर गुरुङ्ग, सन्तोष पौडेल, सरिता ढकाल बराल, डिल्लीराम ढकाल, श्रीधर आचार्य, दीपा ठकुरी, ज्ञानु महत बोहोरा र नारायण सुवदी सम्मानीत भएका छन् ।

संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ्ग र प्रमुख कार्यकारी अधिकृत भीमले सम्मानीत गरेका थिए । त्यसैगरी वर्ष उत्कृष्ठ सदस्य तर्फ गंगाबहादुर गुरुङ्ग र विन्दुकुमारी गुरुङ्गलाई नगद पुरस्कार र सम्मानपत्र, वर्ष उत्कृष्ठ कर्मचारी बिजय गुरुङ्गलाई नगद तथा एक ग्रेड थप र शिल्डले सम्मान गरिएको छ ।

लघु वित्त कार्यक्रम तर्फ उत्कृष्ठ ३ वटा केन्द्रलाई नगद पुरस्कार तथा सम्मान पत्र प्रदान गरिएको छ । उत्कृट केन्द्रहरुमा फिरफिर रोयल केन्द्र कास्की प्रथम, लालिम रोयल केन्द्र तनहुँ द्धितीय र जयभूमि रोयल केन्द्र कास्कीले तृतीय पुरस्कृत प्राप्त गरेका थिए ।

त्यसैगरी बाल बचत तर्फ उत्कृष्ठ भएका शेयर सदस्य नारायण बहादुर क्षेत्रीका सुपुत्र आशिष क्षेत्रीलाई नगद पुरस्कार र शैक्षिक सामाग्री प्रदान गरिएको छ भने यस वर्ष दुलेगौंडा सेवाकेन्द्र उत्कृष्ठ सेवाकेन्द्रको रुपमा सम्मानित भएको छ ।

२२औं वार्षिक साधारण सभा

एकाईगत सञ्चालित साधरण सभाहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक हर्कबहादुर गुरुङ्ग, नीति तथा कार्यक्रम र बजेट प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्ग ले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी लेखा परिक्षक चार्टर्ड एकाउन्टेन्ट राजकुमार फुँयालको प्रतिवेदन तथा मूख्य प्रवन्धक मीलन ढकाल र विशेष प्रस्ताव सचिव केशवप्रसाद ढकालद्धारा प्रस्तुत गरिएको प्रतिवेदनहरु सदस्यहरुको सुझाव सहित सर्वसम्मत रुपमा पारित गरिएको छ।

संस्थामा ८ हजार ७९७ जना सदस्य, २१ करोडको ३ लाख शेयर पुँजि, १८ करोड ५२ लाख जगेडा कोष, १ अर्व ६४ करोड बचत, १ अर्व ७६ करोड ऋण लगानी र कुल वासलात २ अर्व २८ करोड पुगेको छ । हाल संस्थाको प्रधान कार्यालय लगायत ३ वटा सेवाकेन्द्रहरु सञ्चालनमा छन ।

संस्थाको संकल्प

संस्थाले चालु वर्षमा सदस्यसंग रोयल अभियान मार्फत मिसन एकसय गतिवधी, मासिक नियमित बचत वृद्धि, २ हजार ५सय सदस्यलाई प्रविधीमा जोड्ने, ५ हजार सदस्यलाई स्मार्ट कार्ड वितरण गर्ने, एकका लागि एक अभियान मार्फत सदस्य वृद्धि गर्ने, कूल सम्पत्तिमा १० प्रतिशत वृद्धि गर्ने र संस्थाको परिकल्पना “सुखी सदस्य, दिगो सहकारी” को अभिभारा पुरा गर्ने गतिविधीमा केन्द्रित हुने गरि संकल्प प्रस्ताव समेत पारित गरेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।



Leave a comment