नेचुरल सहकारीको कोषमा २५ करोड ८२ लाख नाघ्यो

नेचुरल सहकारीको कोषमा २५ करोड ८२ लाख नाघ्यो :: Sahakari Akhabar

काठमाडौं । बैद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको कोषमा २५ करोड ८२ लाख नाघेको छ । गत आवको अन्त्यसम्म संस्थाको जगेडा तथा अन्य कोषमा २५ करोड ८२ लाख ५२ हजार ६६३ रुपैंयाँ पुगेको हो ।

संस्थाको सम्पन्न १५औं वार्षिक साधारणसभा संस्थाका सचिव एवं प्रबन्ध सञ्चालक विकल्प पाठकले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति प्रतिवेदन तथा यस आवको बजेट प्रस्तुत गरेका थिए । उनले गत असार मसान्तसम्म १७ करोड ८ लाख ४२ हजार ४०० रुपैंयाँ शेयरपुँजी, १ अर्ब ७७ करोड ८८ लाख ५१ हजार ५७५ रुपैंयाँ बचत संकलन, २ अर्ब ९ करोड ७५ लाख २६ हजार ३२९ रुपैंयाँ ऋण लगानी गरेको जानकारी दिए ।

संस्थाले २ अर्ब ६६ करोड ५६ लाख ६ हजार ४५२ रुपैंयाँको कुल कारोबार गरेको छ । संस्थाको स्थिर सम्पत्ति २१ करोड ५३ लाख २६ हजार ५२१ रुपैंयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी संस्थाले १ करोड ४४ लाख रुपैया खुद नाफा आर्जन गरेको जनाएको छ।

मुलुकमा आएको आर्थिक मन्दीले गत आर्थिक वर्ष चुनौतिपूर्ण बनेको प्रबन्ध सञ्चालक पाठकको भनाइ छ । संस्थाको दीगोपनाका लागि वित्तीय सुशासन र पारदर्शितालाई अवलम्बन गर्दै संस्था अघि बढेकाले संकटको अवस्थामा पनि संस्थाले पहिचान कायम राख्नसकेको उनले बताए ।

संस्थाले प्रविधिलाई पहिलो प्राथमिकतामा राखेर नेचुरल स्मार्ट एप, एटिएम, क्यूआरकोड स्क्यान विथ्ड्र, इ–पेमेन्ट, फण्ड ट्रान्सफर जस्ता सेवाहरु विगतदेखि नै सञ्चालनमा ल्याएको जनाए । सदस्यहरुलाई जन्मदेखि मृत्युसम्म संस्थाले सेवा पुर्याउने र सामाजिक क्षेत्रमा पनि विभिन्न योगदान दिँदै जाने उनले प्रतिवद्धता जनाए ।

संस्थाकी अध्यक्ष शर्मिला अमात्यको सभापतित्व तथा संघीय सांसद एवं संसदीय अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । सभामा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञान बहादुर तामाङ, बागमती प्रोस्कुनका कोषाध्यक्ष केशव दंगाल, सचिव गोविन्द काफ्लेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

अध्यक्ष अमात्यले संस्था व्यक्तिले नभइ विधिले चल्नुपर्ने भएकोले संस्था अहिलेको विषम परिस्थितिलाई समेत जित्न सफल भएको बताइन् । सदस्यहरुको पूर्ण सहयोग र विश्वासका कारण वित्तीय संकटका बेलामा पनि संस्थाको गरिमालाई कायम राख्न सकेको उनको भनाई थियो ।

सभामा लेखा सुपरीवेक्षण समितिका संयोजक अच्युतम काफ्लेले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले शेयर सदस्यलाई १० प्रतिशत नगद लाभांश बाड्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ । सभामा विभिन्न विधामा उत्कृष्ट हुने कर्मचारी र सदस्यलाई सम्मान गरिएको थियो । संस्थाले मुख्य कार्यालयसहित ४ वटा सेवा केन्द्र तथा १०२ जना कर्मचारी तथा संस्थामा ११ हजार ६६८ सदस्य रहेका छन् ।



Leave a comment