Sahakari Akhabar

यतीखेर नेफ्स्कूनले उपलब्धिको ‘रसास्वादन’ गर्नुपर्ने समय आउनुपर्थ्यो, त्यो भएन

यतीखेर नेफ्स्कूनले उपलब्धिको ‘रसास्वादन’ गर्नुपर्ने समय आउनुपर्थ्यो, त्यो भएन :: Sahakari Akhabar

बचत तथा ऋण सहकारीहरूको छाता सङ्गठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) बिहीबारबाट ३६ वर्ष पुरा गरी ३७ औँ वर्षमा प्रवेश गर्दै छ । सङ्घले वार्षिक उत्सव मनाइरहँदा केही प्रारम्भिक संस्थाहरू भने बचत फिर्ता गर्न नसक्ने अवस्थामा छन् । प्रारम्भिक संस्थाहरू समस्या पर्न थालेपछि सङ्घ र यसको नेतृत्वको भूमिकामाथि प्रश्न चिन्ह पनि खडा भएको छ । प्रारम्भिक संस्थाको अपेक्षा र सङ्घको भूमिकाबारे केन्द्रित रही वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग सहकारी अखबारले गरेको कुराकानी :–

बचत तथा ऋण सहकारीहरूको छाता सङ्गठन नेफ्स्कूनले ३६ वर्ष पुरा गरेको छ । यस अवधिसम्मको बचत तथा ऋण सहकारी अभियान र नेफ्स्कूनको भूमिकालाई कसरी समीक्षा गर्नुहुन्छ ? 

जुनसुकै दृष्टिकोणले हेर्दा पनि ३६ वर्षको अवधि लामो समय हो । यो समयभित्र हामीले सबै उपलब्धिहरू हासिल गर्दै गन्तव्यमा पुगेर यसको रसास्वादन गर्नुपर्ने समय आउनुपर्थ्यो । तर, हामी साकोस अभियानको ३६ औँ स्थापना दिवस मनाइरहँदा त्यो अवस्थामा छैनौँ । हामी र हाम्रो भूमिकामाथि धेरै प्रश्न उठेको विषय स्वीकार गर्नुपर्छ ।  

हामीसँग सहकारी ऐन–२०४८ अगाडीसम्म राज्य नियन्त्रित रूपमा सहकारी चल्यो । सहकारी ऐन जारी भएपछि भने सहकारीहरूलाई दर्ता र सञ्चालन हुन मलिलो अनुकूलता थियो । त्यही समयमा धेरै सहकारी सङ्घसंस्थाहरू दर्ता भए । नेतृत्वको पनि विकास भयो ।

अहिले सहकारी ऐन–२०७४ आएपछि अर्को चरणमा प्रवेश गरेका छौँ । यो ऐन कार्यान्वयनको चरणमै हुँदा यति बेला सहकारी संघसंस्था भित्रका साथीहरूलाई प्रश्न चिन्ह खडा भएको छ । सहकारी संस्थाहरूको सुशासनको सवाल उठेको छ, तरलता व्यवस्थापनमा हामी चुकेका छौँ ।

सदस्यहरूलाई सहकारी बुझाउने सवालमा कहीँ कमजोरी भयो कि भन्ने भएको छ । त्यसैले यति बेला हामीले हिजो कहाँनेर त्रुटि गर्‍यौँ भनेर हामीलाई प्रश्न गर्ने ठाउँ छ । सबै राम्रो छ, राम्रो छ भन्दाभन्दै त्रासदी हुनुपर्ने अवस्था किन भयो हाम्रा ३६ वर्षका पाना पल्टाएर समीक्षा गर्नुपर्छ । 

बचत ऋणका ११ हजार संस्थाहरूमध्ये नेफ्स्कून भित्र ५ हजार छन् । ६७ जिल्ला तथा सबै प्रदेशमा बचत ऋण अभियानको संरचना बनेका छन् । प्रारम्भिक संस्थाहरूले आफ्नो गतिविधिबाट समाजभित्र ठुलो प्रभाव पारेका छन् । हाम्रा साकोसहरु अन्तर्राष्ट्रिय मापदण्डमा सञ्चालित भई एसियाली ऋण महासङ्घमा पुरस्कृत समेत भएका छन् । नेफ्स्कूनले राम्रो काम गरेको छ भनेर मन्त्रालयलगायतका ठाउँमा प्रशंसा पनि भएका छन्।

त्यसैले साकोस अभियानभित्र केही माइनोरेटि संस्थाहरूले गरेका गलत कामको असर मेजोरेटीलाई पनि कहीँ न कहीँ परेको छ । यो बेला हाम्रो नीतिगत प्रावधान, केही नेतृत्वको आचरण, नेतृत्वको प्रतिबद्धता, संस्थासँगको कामका विषलाई समीक्षा भने गर्नुपर्ने अवस्था आएको छ ।

सहकारी भनेको सेतो कागज हो । खुल्ला प्रजातान्त्रिक अभ्यास हो, नागरिकसँगको विषय हो । यो राज्य र अभियानसँग मिलेर काम गर्ने विषय हो । त्यसैले अब साकोस अभियानमा पनि करेक्सन भएको नेतृत्व आवश्यक छ ।

३६ वर्षको इतिहासको समीक्षा गरेर आगामी दिनमा त्रुटि हुन नदिने गरी अघि बढ्नुपर्छ । साकोस अभियानलाई सिङ्गो मुलुकको समृद्धिका लागि फाइनान्सियल पाटो भित्रको साझा वृक्षका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता गरेर अघि बढ्नुपर्छ ।

सहकारी अभियानको इतिहासमै संस्थाहरूले अहिले सबैभन्दा बढी अभिभावकत्व खोजेको समय हो  । तर, यहि बेला सङ्घको भूमिकाबारे त प्रश्न उठेको छ नि ?

अभिभावकत्व आवश्यकता किन भयो भन्ने महत्त्वपूर्ण कुरा हो । कोभिड, एकदमै तरलताको अभाव र सहकारी–सहकारी बिचको तिक्तता भएको समयमा पनि संस्थाहरूलाई अभिभावकत्व आवश्यक रहेको विषय ज्ञात भएको हो ।

अब सहकारीको सङ्ख्या धेरै भयो । सहकारीहरूको अवस्था पनि फरक फरक छ । सबै सहकारीहरूलाई एकै डालोमा हालेर ट्रिटमेन्ट गर्न सकिँदैन । यी सहकारीहरूलाई समयमै वर्गीकरण गर्न सकेको भए, नीतिगत गाइड गरेको भए अहिलेको अवस्था आउदैन थियो ।

महासङ्घ–सङ्घ–प्रारम्भिक संस्थाहरूबिच एक अर्काको काममा इन्टर फेयर भएको महसुस पनि हुँदैन थियो । अहिले सिङ्गो सहकारी अभियान भित्रबाट नेफ्स्कूनको अभिभावकत्व खोज्नुको कारण पनि यही हो । यो अवस्थामा नेफ्स्कूनले पनि यसलाई सहजतापूर्वक सहजिकरणमा जानुपर्छ । तर, नेफ्स्कूनका पनि आफ्नै असहजता छन् ।

नीतिगत असहजता छन्, कामको जिम्मेवारी, नेतृत्व भित्रका असहजता छन् । सहकारी ऐन २०७४ जारी भएपछि कर्जा सूचना केन्द्र, कालोसूचीको व्यवस्था, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष, छुट्टै साकोस ऐन ल्याउन नसक्नुमा नेफ्स्कूनले लबिङ गर्न नसकेको हो कि !

हामीले नतिजामुखी काम गर्न नसक्दा गर्दै छौं, हुदैछ, भनेर संस्थाहरूलाई भनेका कुराहरू विश्वसनीय भएनन् कि ! अव हामी यति वर्षमा यो यो काम गर्दै छौं भनेर प्रारम्भिक संस्थाहरूसँग अहिलेसम्मका त्रुटिमा माफी मागेर अघि बढ्नुपर्छ ।

►साकोस अभियानको ३६ औं स्थापना दिवस मनाइरहँदा हामी सहज अवस्थामा छैनौं । हामी र हाम्रो भूमिकामाथी धेरै प्रश्न उठेको विषय स्वीकार गर्नुपर्छ ।  
►हाम्रा साकोसहरु अन्तर्राष्ट्रिय मापदण्डमा संचालित भई एसियाली ऋण महासंघमा पुरस्कृत समेत भएका छन् ।

यति बेला सङ्घको नेतृत्व चयनको विषय पनि उत्तिकै चर्चामा छ । तपाई अध्यक्षको रूपमा नेतृत्व गर्न तयार हुनुभएको हो ?

मैले आफूले ‘म तयार भए अध्यक्षमा जान्छु’ भनेर मात्र सम्भव हुँदैन । मेरो २०५७ सालदेखिको बचत तथा ऋण अभियानमा योगदान, प्रतिबद्धता, समर्पणले सबैले मलाई शत प्रतिशत सहकारी कर्मीका रूपमा स्पष्ट चिन्नुभएको छ । सहकारी ऐन २०७४ बनाउँदा महासङ्घको सञ्चालकको रूपमा पनि नेतृत्व गरेकाले बचत तथा ऋण बाहेकका साथीहरूले पनि राम्रोसँग चिन्नुभएको छ । 

सहकारी भित्र नेतृत्व गर्दै गर्दा वरिष्ठ उपाध्यक्ष भएको मान्छे एक पटक अध्यक्षको रूपमा नेतृत्व गरिन भने मेरो आफ्ना योजनाहरू संस्थासँग सेयरिङ मौका समेत हुँदैन । त्यसैले नेतृत्वमा मेरो अपेक्षा र दाबी अस्वाभाविक र अप्रासङ्गिक बन्छ भने लाग्दैन । म मानसिक रूपमा र संस्थागत रूपमा तयार भएको छु ।

आज म जुन संस्थाबाट नेफ्स्कूनमा प्रतिनिधित्व गर्छु, प्रारम्भिक संस्था हाम्रो सुपर साकोस बर्दघाट हो । अघिल्लो वर्ष प्रोवेशन ब्राण्डेड भएको संस्था, प्राविधिक रूपमा मात्र गत वर्ष एक्सेसमा अडिट नगराएका हौँ । अब मलाई प्रारम्भिक संस्थाले त नेतृत्वमा जा भनेको छ ।

जिल्लाका साथीहरूले पनि अब नेफ्स्कूनको नेतृत्व नवलपरासीबाट भन्ने बहस सुरु गर्नुभएको छ । मैले काठमाडौँमा बसेर पनि धेरै सहकारी अभियानभित्र काम गरेको हुनाले साथीहरूले सहज रूपमै मलाई नेतृत्वमा प्रस्ताव गर्नुभएको छ ।

मैले विगतमा सहकारी भित्र धेरै ठाउँमा सर्वसम्मत नेतृत्व बनाउन काम गरेकाले अहिले मेरो समयमा पनि सहज रूपमा नेतृत्व हस्तान्तरण हुन्छ भन्ने अपेक्षामा छु । यति मतदान प्रक्रियाबाट भए पनि म नेतृत्वका लागि आफूलाई उम्मेदवारका रूपमा अघि बढ्न तयार छु ।



Leave a comment