Sahakari Akhabar

नेफ्स्कूनमा नेतृत्व परिवर्तनको आवश्यक्ता 

नेफ्स्कूनमा नेतृत्व परिवर्तनको आवश्यक्ता  :: Sahakari Akhabar

२०४५ साल साउन ३२ गते स्थापना भएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ३५ वर्ष पुरा गरेर ३६ औं वर्षमा लाग्दैछ । मितिले नेफ्स्कून सबैभन्दा जेठो संघ हो । सहकारी संघहरुको ‘जेठो दाई’ भएकाले पनि सबैले नेफ्स्कूनलाई आदर–सम्मान गरिहनु भएको छ । हाल संचालनमा रहेका करिव आधा संस्थाहरु बचत तथा ऋण सहकारीहरु नै भएको हुँदा यीनीहरुको केन्द्रीय छाता संगठन नेफ्स्कून पृथक संघ नै हो । यसको भूमिका पनि पृथक नै छ, र पृथक नै हुनुपर्दछ ।

करिव २० वर्ष अघ सहकारी बिभागका तत्कालिन रजिष्ट्रार बिनोद अधिकारीले यौटा विशेष कार्यक्रममा भन्नुभएको थियो– ‘नेफ्स्कून एउटा सेतो शर्ट हो कही, कतैबाट पनि हिलो नछ्यापियोस.’, वास्तवमै हो अहिले पनि सम्वन्धित सरकारी निकाय, विदेशी निकायहरु र राज्यका सम्वन्धित संयन्त्र र अन्य सम्वन्धित सबै निकायहरुले पनि नेफ्स्कून र यसका गतिविधिहरुलाई बिशेष स्थान दिनु भएको  पाईन्छ ।

अहिलेको अवस्थामा सहकारी क्षेत्रमा अकल्पनिय कुरा भयो । केहि सिमित सहकारी संस्थाहरुमा जुन समस्या देखिएको छ त्यसको निराकरणको लागि नेफ्स्कून संचालक समिति, लेखा सुपरिवेक्षण समिति, व्यवस्थापन एक ढिक्का भएर एकै ठाँऊमा उभिएर सहजिकरण गर्नुपर्ने देखिन्छ । अन्यथा अझै धेरै सदस्यहरुको बचत जोखिममा पर्न सक्ने र सदस्यहरु ठूलो मारमा पर्ने देखिन्छ ।

नेफ्स्कून पूर्ण रुपमा स्वनियमनमा बस्नुपर्ने हुन्छ । नेफ्स्कूनका संचालकहरु साथै कर्मचारीहरुले वित्तिय अनुशासनलाई पूर्ण रुपमा पालना गर्नुपर्ने हुन्छ । अहिलेको विषम परिस्थितमा संघको सम्पतिको सदुपयोग गर्नुको साथै खर्च कटौति तर्फ पनि सजग रहनुपर्छ ।

आज आएर नेफ्स्कूनको गुणस्तरीय कार्यक्रममा सहभागी भएका संस्थाहरुमध्ये केहीले गुणस्तरीयपना देखाऊन नसक्नु, नेफ्स्कूनबाट ऋण लिएका संस्थाहरुले ऋणको पारदर्शिता नगरी सिमित व्यक्तिहरुले मात्र चलाएर आज फिर्ता गर्न नसक्ने बातावरण सिर्जना हुनु, केही संस्थाहरुलाई नेफ्स्कूनबाट दिने सेवा सुविधाहरुको गुणस्तर चित्त नबुझेको भनेर प्रतिक्रिया आऊनु पनि कदापी राम्रो कुरा होईन् ।

यस किसिमको सुझावलाई सकारात्मक रुपमा लिदै नेफ्स्कून अघि बढनुपर्दछ । तर, यतिबेला नेफ्स्कूनको नेतृत्व सहकारीमा देखिएको मुख्य मुद्धाहरुलाई एकैठाँऊमा बसेर सम्वोधन गर्नसक्ने उपायहरुको बारेमा गहन छलफल गर्नु भन्दा पनि पदाधिकारीहरु आसन्न चुनावलाई फोकस गरेर एक्लाएक्लै भौतारिदै हिडेको देखिन्छ । सहकारीको चुनावमा राजनीतिक दलको भागवण्डा, गठबन्धन मिलेर चुनावमा प्रस्तुत हुँदा बिजेता भएको दिनमा रमाईलो त होला तर कालान्तरमा यसले दिने सन्देश कदापी राम्रो हुँदैन ।

यो विषय पूर्ण रुपमा प्रमाणित भईसकेको र हामी अभियानकर्मीहरुलाई आभाष पनि भई सकेको छ । त्यसैले सहकारी क्षेत्रमा राजनीतीक नेतृत्वले उम्मेदवारी छानेर चुनावी मैदानमा पठाऊने संस्कारको अन्त्य हुनुपर्छ । सहकारीका दिग्गज नेतृत्वहरुले एक ठाँऊमा बसेर आधिकारिक निर्णयबाट संचालक समिति र लेखा सुपरिवेक्षण समितिका उम्मेदवारको नाम अभियानमा अघि बढाउदा सकारात्मक सन्देश जान्छ ।

केन्द्रीय संघमा यसो गर्न सकेमा समुदायस्तरमा पनि यहि सिको हुनेछ । यदि केन्द्रमा यसो हुन सकेन भने गाँऊ, गाँऊमा समेत सहकारीका संचालकहरुमा राजनैतिक भागवण्डा हुनेछ । वित्तिय कारोवार गर्ने संस्थाहरुमा राजनैतिक हस्तक्षेप हुनथाल्यो भने यसको सकारात्मक नतिजा आऊदैन ।

अहिले साकोस अभियानमा करिव–करिव सबैतिर योग्य तथा सक्षम व्यक्तित्वहरु देखिएको हुँदा उनीहरुलाई पालै पालो केन्द्रीय नेतृत्वमा स्वागत गर्नुपर्छ । कम्तिमा केहि संचालकहरुमा ब्राण्डेड साकोसहरुको प्रतिनिधित्व भयो भने नेफ्स्कूनको गरिमा बढाउनेछ ।

त्यसैले विनियममा नै शंशोधन गरेर पदाधिकारी र लेखा सुपरिवेक्षण समिति संयोजकमा एउटै व्यक्ति एक कार्यकाल भन्दा नरहने व्यवस्था हुनुपर्छ । आऊने अधिवेशनबाट नै यो कार्यान्वयनमा आओस भन्ने समेत अपेक्षा पनि गर्दछु । किनकी जिम्मेवारी पदमा एउटै व्यक्ति ८ / ८ वर्ष बस्दा अरुको पालो आऊने कहिले ?

नेफ्स्कून स्वंमसेवी निकाय हो । त्यहाँ तछाड र मछाड गरेर पुग्नपर्ने केहि देखिदैन । नेफ्स्कूनमा रहँदा र बाहिरदा पनि संचालक साथै कर्मचारीहरुले त्यहि किसिमको सदासयता देखाऊन पर्दछ । आफु हुँदा र आफूले पाउदा राम्रो, आफु नहुँदा र नपाऊदा नराम्रो भन्ने कुण्ठित सोच कहिल्यै पनि राख्नु हुँदैन ।

नेपालमा १३ वर्षको अन्तरालमा भएको फेरी १३ वर्षकै अन्तरालमा नै हुन लागेको फोरमबाट नेपालको साकोस अभियानको छविलाई थप टेवा पुग्नेछ । अन्तमा नेफ्स्कूनमा हिजोको दिनमा जुन शाख र गरिमा थियो आऊने दिनमा अझ बढोत्तरी हुँदै जाओस भन्ने शुभकामना ।

नेफ्स्कूनले अत्यन्तै मिहनेतका साथ बिगत १५-१६ वर्ष अघि देखि अगाडि सारेको २ वटा मुख्य विषयहरु स्थिरिकरण कोष र साकोस ऐनमध्ये राज्यले सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मार्फत स्थिरिकरण कोषको त सम्वोधन गर्यो । तर, नेफ्स्कूनको चाहाना यस्तो थिएन । अर्थात नेफ्स्कूनको धारणा अनुसारको आएन ।

यदि अहिले आएको निर्देशिका अनुसार स्थिरिकरण कोष परिचालन गर्ने हो भने यसले नेफ्स्कूनलाई झन असहज बनाऊने छ । तसर्थ नेपालको साकोस अभियानलाई नमूना अभियानको रुपमा अघि बढाऊन स्थिरिकरण कोष र साकोस ऐन जस्ता विषयहरु साकोस अभियानको चाहना र नेफ्स्कूनको साझा बुझाई अनुसारको आऊन पर्दछ ।

मेरो अधिकांश पेशागत जीवन (फिल्ड अधिकृत हुँदै कामु प्रमुख कार्यकारी अधिकृत, प्रशासन बिभाग प्रमुख समेतको जिम्मा लिएर ) यसैमा बित्यो । नेफ्स्कूनले मलाई जीवनमा धेरै कुरा दियो । केही पेशागत दक्षता दियो, केही परिचय दियो, आर्थिक आधार पनि दियो ।

केहि एशियाली मुलुकहरुमा गएर तालिम लिने, भ्रमण गर्ने अवसर पनि पाए तर त्यो भन्दापनि बढी मलाई इमानदारी, वस्तुपरकता, कर्तव्यनिश्ठ, विधि, व्यवस्थापन, अनुशासनलगायत धेरै राम्रा कुराहरु सिकायो । म जीवनमा जे छु त्यसमा नेफ्स्कूनको नै ठूलो देन छ ।

नेफ्स्कूनको लविङ र एडभोकेसी, नेफस्कूनले संचालन गर्ने तालिम तथा शिक्षा, गुणस्तरीय कार्यक्रमहरु, अन्तरलगानी सेवा, संस्थाहरु अनुगमन तथा निरिक्षण, एकीकृत संजाल प्रणाली, सूचना तथा प्रकाशनहरु लगायतका सबै नै सेवा तथा व्यवसाय गुणस्तरीय होस, नेफ्स्कून र साकोस अभियानवीच तथा नेफ्स्कून र सहकारी मन्त्रालय, सहकारी बिभाग अन्य सम्वन्धित मन्त्रालय, राष्ट्र बैंक लगायत प्रदेश र स्थानिय निकायहरु वीच साथै बिदेशि निकायहरु समेतमा अझ आत्मियता बढोस भन्ने शुभकामना ।

नेफ्स्कूनको व्यवस्थापनमा २०५५ सालमा र २०६८ सालमा एशियाली ऋण महासंघको फोरम तथा साधारण सभा नेपालमा अत्यन्तै व्यवस्थित तरिकाबाट सम्पन्न भएको थियो । यस वर्षपनि यही भाद्र महिनामा अक्कुको साधारणसभा नेफ्स्कून र राष्ट्रिय सहकारी बैकको आतिथ्यतामा नेपालमा आयोजना हुनलागिरहेको जानकारी पाँऊदा अत्यन्तै खुशी लागेको छ ।

नेपालमा १३ वर्षको अन्तरालमा भएको फेरी १३ वर्षकै अन्तरालमा नै हुन लागेको फोरमबाट नेपालको साकोस अभियानको छविलाई थप टेवा पुग्नेछ । अन्तमा नेफ्स्कूनमा हिजोको दिनमा जुन शाख र गरिमा थियो आऊने दिनमा अझ बढोत्तरी हुँदै जाओस भन्ने शुभकामना ।



Leave a comment