Sahakari Akhabar

किसानका उत्पादनको बजार ग्यारेन्टी राज्यले गर्नुपर्छ 

किसानका उत्पादनको बजार ग्यारेन्टी राज्यले गर्नुपर्छ  :: Sahakari Akhabar

कोभिड–१९ को महामारी र रुस युक्रेन युद्धसँगै देखिएको आर्थिक मन्दीका कारण देखिएको तरलता अभावले सहरी क्षेत्रका सहकारीहरु सदस्यको बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । यो बेला ग्रामीण क्षेत्रका सहकारीहरु भने तुलनात्मक रुपमा सहज अवस्थामा छन् । ऋण असुली प्रभावित भएपनि संस्थाहरुमा तरलताको अभाव भने नरहेको बताउछन् जिल्ला कृषि सहकारी संघ–सिन्धुपाल्चोकका अध्यक्ष मित्रलाल चौलागाई । सूर्यमुखी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष समेत रहेका उनी जिल्लाका सबै पालिकामा साना किसान कृषि सहकारी संस्था पुर्याउने र त्यसमार्फत कृषकको जीवनस्तर आर्थिक अवस्था सुधार गर्न तल्लिन छन् । उनीसँग साना किसान कृषि सहकारी अभियानसँग केन्द्रीत रही सहकारी अखबारले गरेको कुराकानी :

बहुउद्देश्यीय सहकारीका रुपमा सुरु भएको संस्थालाई साना किसान सहकारीमा परिवर्तन गर्नुभयो, यसको कारण के हो ?

हामीले सूर्यमुखी कृषि बहुउद्देश्यीय सहकारी संस्था २०५६ सालमा दर्ता गरेका हौं । १० वर्षसम्म हामीले संचालनमा महत्व दिएनौं । २०६७ सालपछि भने जिल्लामा एउटा कृषि सहकारी आवश्यक छ भनेर पुरानो संस्थालाई स्तरउन्नती गरेर साना किसान कृषि सहकारीको रुपमा रुपान्तरण गर्यौ। पहिला संस्थाको कार्यक्षेत्र साविकको भोटेचौर गाउँ विकास समिति थियो ।

मेलम्ची नगरपालिका बनेपछि १३ वटा वडामध्ये ६ वटा वडा हाम्रो कार्यक्षेत्र छ । यसमा ३ हजार सेयर सदस्य र एक हजार बाल बचतकर्ता छन् । संस्थाले कृषि सहकारीको मर्म र भावना अनुसार सेवा र गतिविधि अघि बढाइरहेको छ ।

साना किसान कृषि सहकारी देशब्यापी रुपमा फैलिएको सफल मोडल हो । राज्यका धेरै योजनासँय यो जोडिएको छ । केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले यसलाई अनुगमन पनि गर्दैै आएको छ। त्यसमार्फत काम गर्न सजिलो भएकाले हामी पनि यो मोडलमा परिवर्तन भएका हौं ।

नाम कृषि भएपनि काम वित्तीय सेवा मात्र गर्ने प्रवृत्ती छ । तपाईहरुले वित्तीय र गैरवित्तीय कारोबारलाई कसरी अघि बढाउनु भएको छ ?

कतिपय कृषि सहकारीहरु पैसाको किनबेच मात्र गरेर बसेका छन् । त्यसैले साना किसान पनि त्यही होला भन्ने लाग्छ । तर, हामी वित्तीय कारोबारमा मात्र सिमिति छैनौं । वित्तीय कारोबार पनि कृषि क्षेत्रमा मात्र छ । हामीले किसानलाई ३ प्रतिशत र ९ प्रतिशत सहूलियत ब्याजदरको पैसा कृषि र पशुपालनमा लगानी गरेका छौं ।

हामी किसानलाई सहूलियत ब्याजमा ऋण दिन्छौं, पशुको बिमा गछौं, पशु ब्याएपछि २५ किलो पिठो बोनस दिन्छौं, बाल्टी दिन्छौं, क्यान दिन्छौं, डेक्ची दिन्छौं । किसानको दुध खरिद गरेर बजारमा बिक्री गछौं । हाम्रा १ हजार ३ सय ऋणी छन् । सिन्धुपाल्चोक जिल्लामा १४ वटा साना किसान कृषि सहकारी बनाएर हस्तान्तरण गरेका छौं । हामीले बनाएको संस्थाको कारोबार ७ करोडसम्मको पुगेको छ ।

सहकारीमार्फत किसानको नेतृत्व गरिरहनु भएको छ । उनीहरुको आवश्कता र राज्यको नीतिमा कहाँ ग्याप पाउनुभयो ?

राज्यले सबैभन्दा पहिला किसानका उत्पादनहरुको बजार ग्यारेन्टी गर्न सक्नुपर्छ । राज्यले ‘तिमी उत्पादन गर, त्यसको बजारको ग्यारेन्टी हामी गरिदिन्छौं’ भनेर बोल्न सक्ने हो भने किसानहरु उत्साहित हुन्छन् । अहिले राज्यले दिने अनुदानका कार्यक्रम पनि उपलब्धिमूलक छैन । मुख्य कुरा कृषकका उत्पादनको बजार ग्यारेन्टी हुनुपर्छ । राम्रो बजार पाउँदा किसानले नाफा कमाउँछ, बजारमा मूल्य घटेका बेला लागत ब्यहोर्ने ग्यारेन्टी भए किसानलाई घाटा हुदैन ।

राज्यले कृषिमा सहूलियत ब्याजदरमा दिने ऋण कत्तिको प्रभावकारी छ त ?

किसानको बैंकसम्म पहुँच पुग्दैन । वागमती प्रदेश सरकारले तीन प्रतिशत ब्याजदरमा किसानलाई ऋण दिने योजनामा कृषि विकास बैंक र साना किसान सहकारीसँग सम्झौता भएको हो । तर, बैंकबाट तीन प्रतिशत ब्याजको पैसा पाएर गाई भैसी किन्ने किसान भेटिदैन ।

हामीले वडा कार्यालयको सिफारीसको साथमा एक लाख रुपैयाँ तीन प्रतिशत ब्याजमा लगानी गरेका छौं । सहकारी समुदायको बैंक हो । यसबाट किसानले सहूलियत ब्याजमा पैसा पाउन सक्छ । यो हाम्रो बैंक हो भनेर किसानले महशुस गर्नुपर्छ । सरकारले सहकारीलाई नै सस्तो कर्जा वितरणको माध्यम बनाउनुपर्छ । बैंकबाट यो प्रभावकारी हुदैन ।

तर, सहकारीको सुशासनको पाटोमा समस्या छ नि ?

अहिले सहकारी क्षेत्रमा देखिएका समस्याहरु हेर्दा कतिपय संस्थाहरु सहकारीको सिद्धान्त बाहिर दर्ता भएर गएर संस्था संचालन गरेको कारणले समस्यामा परेका हुन् । ग्रामीण इलाका भन्दा पनि सहरी क्षेत्रमा मनोपोली हिसावले सहकारीहरु चलेका छन् ।

सहकारीले विधि विधान अनुसार काम नगर्दा आज सहकारी क्षेत्र बदनाम हुन पुगेको छ । सहकारीमा राज्यको नियमन पनि कडाइ हुन सकेको छैन । त्यसैले अब कडाइका साथ नियमन गर्ने, गलत गर्नेलाई कारवाही खारेज र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्छ ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा वित्तीय संस्थाहरुको उपस्थित बढेको छ । यसले किसानहरु ऋणको पासोमा पर्न थाले भनिन्छ सत्यता के हो ?

२०७२ सालको भूकम्पपछि गाउँमा जहाँ भेटिन्छ त्यहाँबाट ऋण लिनेको संख्या बढ्यो । बैंक, लघुवित्त सबै सहकारीमा ऋण लिदा अहिले ऋण तिर्न नसक्ने अवस्था आएको छ । किसानहरु ऋण माथी ऋण बढ्ने परिस्थिती बनेको छ । जुन उद्देश्यका लागि ऋण लिएको छ त्यसमा लगानी नगर्दा ब्याज तिर्न पनि समस्या भएको छ ।

किसानलाई आवश्यक सामान घर घरमा पुर्याउनेर किसानका उत्पादन संकलन गरी बजारसम्म पुर्याएर बिक्री गरिदिने योजना सहित अघि बढेका छौं । त्यसका लागि हामीले गाडी खरिद गरेका छौं । 

यसको समाधान के त ?

यसको समाधान मर्जर । सहकारी सामुदायिक बैंक हो । एउटा गाउँमा एउटा एउटा बलियो कृषि र बचत ऋण बनाउने हो भने हामीलाई पुग्छ । ग्रामीण क्षेत्रमा गएका वित्तीय संस्थालाई हाम्रो समूदायको बैंक छ, हामीलाई अरु वित्तीय संस्थाको सेवा चाहिदैन भन्न सक्नुपर्छ ।

यसका लागि त वित्तीय साक्षता चाहियो नि ?

वित्तीय साक्षरताको अवस्था कमजोर छ । हामीले पनि सबै सदस्यलाई सहकारी शिक्षा पुर्याउन सकेका छैनौं । हामीले बुझाउन नसक्दाको परिणाम जहाँ भेटायो त्यहाँबाट ऋण लिने प्रवृत्ति छ ।

मर्जरका लागि साना किसानले नेतृत्व किन नगरेको त ?

म जिल्ला कृषि सहकारी संघको अध्यक्ष पनि हो । जिल्लाका १२ वटा पालिकामा १०३ वटा वडाहरु छन् । हामी एउटा पालिकामा २ वटा साना किसान कृषि सहकारी संस्था बनाउने, सबै कृषि सहकारीलाई मर्ज गरेर बलियो बनाउने अभियानमा लागेका छौं । अब स–साना संस्था बनाएर चल्न सकिदैन । मर्जरका लागि सबै सहकारी सोच्ने अवस्था पनि आइसकेको छ । कतिपय संस्थासँग छलफलमा अघि बढाएका पनि छौ ।

स्थानिय तहमा सहकारीको अधिकार आएपछि काम गर्न सजिलो हुन्छ भन्ने आंकलन थियो अवस्था कस्तो छ ?

संघियतामा जनताले सूविधा पाउछ भनेरै हिलो लडाइ लडेको यो ब्यवस्था ल्याएका हौं । स्थानिय सरकार सबैभन्दा नजिक र जनताले छाम्दा भेटाउने सरकार हो । यसले सहकारीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ।

आर्थिक विकासका लागि सहकारी प्रमुख खुड्किला हो भन्ने बुझ्न जरुरी छ । सरकार, सहकारी र किसानको त्रिपक्षिय सहकार्य गर्ने हो भने धेरै काम गर्न सकिन्छ । किसानले उत्पादन गर्ने, सरकारले आर्थिक तथा प्राविधि सहयोग गर्ने र सहकारीले सहजिकरण गर्ने हो भने सहयोग गर्न सकिन्छ ।

भिडियो सामाग्री :

सहकारीमार्फत सामुहिक ब्यवसाय हुन नसक्नुको कारण के हो ?

कतिपय ठाउँमा सामूहिक खेती असफल पनि भयो । समूह मिलेर खेती गर्नका लागि एक गाउँ एक उत्पादन कार्यक्रम प्रभावकारी बनाउनुपर्छ । फलफुल तरकारीका पकेट एरिया बनाउन सकेका छैनौं । यस्ता पकेट क्षेत्र बनाउन राज्यले नीति बनाउनुपर्छ ।

पालिकाभित्र भएका जमिन एकिकरण बनाउने र पकटे क्षेत्र बनाउने नीति आवश्यक छ । नीति ल्याएर राज्य नलागेसम्म प्रतिफल आउदैन । त्यसका लागि राज्यले घचघच्याउने काम हामो हो । तर अहिलेसम्म राज्यले बुझेको छैन ।

सहकारीमार्फत आगामी योजनाहरु के छन् ?

हामीले सिन्धुपाल्चोकका १२ वटा पालिकाहरुले १२ वटा स्टल राख्ने, त्यससम्म किसानका उत्पादन ढुवानी गर्न पालिकाहरुले सहयोग गर्ने र त्यसमा सहजिकरण सहकारीले गर्ने हाम्रो योजना छ । यसैगरी पर्यटन क्षेत्रमा सहकारीले काम गर्नसक्छ ।

सामुदायिक बनको जिम्मेवारी सहकारीलाई दिने हो भने फलफुल खेती गछौं । अहिले पनि साना किसानसँग ४ अर्ब ६५ करोड पैसा छ । व्यवसायीक रुपमा खेती र पशुपालनका लागि व्यक्तिगत रुपमा ५ लाखदेखि ५० लाखसम्म र सामूहिक रुपमा ५ लाखदेखि २ करोडसम्म लगानी गर्न तयार छौं ।

सूर्यमुखी संस्थाको योजना के छ ?

अहिले ४ हजार लिटर दुध संकलन गरी बिक्री गर्दै आएका छौं । यसलाई ब्राडिङ गरी दुध, दहि, घिउँ, पनिर उत्पादन गरेर बजारमा लैजाने योजना छ । यसका लागि प्लान्ट निर्माण गर्न सरकारसँग साझेदारी गर्न खोजिरहेका छौं । हामी किसानलाई आवश्यक सामान घर घरमा पुर्याउने र किसानका उत्पादन संकलन गरी बजारसम्म पुर्याएर बिक्री गरिदिने योजना सहित अघि बढेका छौं । त्यसका लागि हामीले गाडी खरिद गरेका छौं ।

भूकम्प र कोभिडपछि हाम्रा सदस्यहरुले गाउँ छोडेका छन् । हिजो भूकम्प र कोभिडको चूनौति झेलेको हामीलाई आज आर्थिक मन्दीको समस्या छ । जसका कारण कतिपय ऋण असुलीमा समस्या छ । तर, हामीले भूकम्प र कोभिड ब्यहोरेकै थियौं, आर्थिक मन्दी पनि सजिलै झेल्छौं ।

हामी समुदायमा आधारित र सदस्य केन्द्रीत संस्था हौं । जग्गा प्लटिङ गर्न, ठूला ब्यापारीलाई लगानी गरेका छैनौं । सदस्यबाट बचत संकलन र उनीहरुलाई ऋण लगानी भएकाले समस्यामा पनि सहज रुपमा अगाडी बढिरहेका छौं ।

सहरी क्षेत्रमा कतिपय संस्थाहरुमा बचत फिर्ता गर भनेर नारा लगाएको अवस्थामा हामीसँग पर्याप्त तरलता छ । यो बेला अझ अरु भाग्ने रहेछ । साना किसान नभाग्ने रहेछ भनेर सदस्य बढीरहेका छन् । हामी शानदार हिसावले अगाडी बढेका छौं ।



Leave a comment