काठमाडौं । प्रारम्भिक सहकारीहरुसँग वित्तीय कारोबार गर्ने ठूला निकाय राष्ट्रिय सहकारी बैंक र नेफ्स्कूनमा तरलता बृद्धि भएको छ । ग्रामीण क्षेत्रका समुदायमा आधारित रही संचालनमा रहेका सहकारीहरुको निक्षेप बढेपछि ती संस्थासँग होलसेलमा कारोबार गर्ने बैंक र नेफ्स्कूनमा पनि निक्षेप बृद्धि भएकाले तरलता अनुपात केही सहज देखिएको हो ।
सहकारी बैंकले प्रकाशित गरेको मासिक प्रतिवेदन अनुसार चैत मसान्तमा बैंकसँग २४.३८ प्रतिशत तरलता अनुपात रहेको छ । बैंकसँग माघमा २२.३८ प्रतिशत र फागुनमा बढेर २३.८२ प्रतिशत तरलता रहेको छ । निक्षेप बृद्धि भएपनि ऋण लगानी घटाएपछि बैंकमा तरलता बढेको हो । फागुन मसान्तमा बैंकसँग ४३ अर्ब ४८ करोड रुपैयाँ निक्षेप रहेकोमा चैत मसान्तमा बढेर ४४ अर्व ४३ करोड रुपैयाँ पुगेको छ ।
निक्षेप बढेपनि बैंकको कर्जा लगानीमा भने गिरावट देखिएको छ । फागुन मसान्तसम्ममा बैंकले ३३ अर्ब ८९ करोड रुपैयाँ ऋण प्रवाह गरेकोमा चैतमा ३३ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ ।
यसैगरी चैत मसान्तमा नेफ्स्कूनमा तरलता अनुपात २४.०२ प्रतिशत कायम भएको छ । माघमा २५.३६ प्रतिशतबाट तरलता अनुपात रहेकोमा फागुनमा घटेर २३.२९ प्रतिशतमा झरेको थियो । चैतमा भने थोरै सुधार देखिएको हो ।
चैतमा नेफ्स्कूनको निक्षेप १९ करोड रुपैयाँ निक्षेप वृद्धि भएको छ । फागुन मसान्तसम्ममा संघमा कुल १७ अर्ब ६४ करोड रुपैयाँ निक्षेप रहेकोमा चैत मसान्तमा बढेर १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यस्तै फागुनसम्ममा १५ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको नेफ्स्कूनले चैतमा भने १५ अर्ब ६४ करोड रुपैयाँ पु¥याएको मासिक प्रतिवेदनमा उल्लेख छ ।
Leave a comment