गोष्ठी हुने, गोष्ठीको तयारी पुरा, गोष्ठी सकियो

गोष्ठी हुने, गोष्ठीको तयारी पुरा, गोष्ठी सकियो :: Sahakari Akhabar

र ! हामीले गोष्ठी गर्न लागेका छौँ । प्रश्न थियो, कस्तो गोष्ठी ? सहकारीको गोष्ठी । कहिले हुने ? छलफल हुदैछ । भोलिपल्ट सञ्चारमा आयो सहकारीको ‘गोष्ठी हुने ।’ गोष्ठी गर्ने भन्ने सोच के बनाएको थियो, समाचार आइहालेछ, सोच बनाउनेले साँचो कुरा ओकले । सोचलाई समाचारमा परिणत गर्नेले प्रशंसा पाए । राम्रो समाचार बनाइदिनु भएछ मैले त सोच बनाएका छौँ भनेको थिए, समाचार नै राखिदिनु भएछ, ठिकै छ, मैले पनि फेसबुकमा सेयर गरिसके ।

अव तयारी गर्नै पर्यो , सहभागी खोज्नु पर्यो, सहकारीको गोष्ठी अन्यत्र गरे सहभागीले भाषा नबुझ्लान्, कार्यपत्र प्रस्तुत गर्नेलाई अटसमटस होला, टिप्पणी गर्नेलाई सोफा र माइक नपुग्ला रङ्गीचङ्गी बत्ती नबल्देला, सुकिला मुकिला भएर जान नपाइएला, सहकारीको जो सवाल छ । त्यसैले तारे होटेल रोज्नु पर्यो । खोज्दा र रोज्दा नाफा र घाटाका पनि कुरा आउने, प्रायोजक र आयोजकलाई पनि तारे होटेलकै लोभ लागेको होला हैन ? त्यसैले दैव दाहिना भएर गोष्ठी सम्पन्न भयो भने त ...।

आयोजकले सफलताको साँचो कुँध्यो । कल्पनाको संसारबाट बाहिर ननिस्की भनिदिए, गोष्ठीको तयारी भइरहेको छ, जसरी पनि हुन्छ । तपाइले सञ्चारको जिम्मा लिनुपर्यो समाचार बग्रेल्ती आउनुपर्यो । जवाफमा हुन्छ, भइहाल्छ नि ! त्यसको चिन्ता नलिने आश्वासन पाएपछि संवाद टुट्यो ।

सञ्चारको जिम्मेवारी लिइदिएकोमा धन्यवाद चाही दिन भ्याएर आयोजकले बिदा लिएको समयले एक घण्टाको सुई घुमाउन नपाउँदै सञ्चारमा समाचार आयो ‘गोष्ठीको तयारी पुरा ।’ समाचार आयोजकको फेसबुकबाट पनि सेयर भयो । अव आम्दानीको श्रोतको निर्क्यौल गर्नु पर्योे, खर्चको पनि बिबरण सार्वजनिक गर्नुपर्यो  ।

कार्यपत्र प्रस्तुत गर्नेलाई, टिप्पणीकर्तालाई पारिश्रमिक, तारे होटेलको दुई दिनको खाना, स्टेशनरी र अन्य आदी इत्यादिका साथै सहभागीबाट शुल्क र प्रायोजकबाट असुल्ने शुल्कले खर्च धान्न सक्ने नसक्ने कुराको कन्फर्म भएपछि नाफाको पनि कुरा रह्यो । आम्दानी खर्चको विवरणमा लेखाजोखा गर्दा नाफाको छाया देखिएपछि तारे होटेलमा दुई दिनको गोष्ठीको मिति तय भयो ।

सञ्चारलाई समाचार भएन के लेख्ने, तयारी पुरा भनेर हिजो नै लेखिसकेको छ । अव गोष्ठीबाट आयोजकले कति कमाउँछ, कति बुँदे घोषणा पत्र सार्वजनिक गर्छ समाचार बन्ने भयो । आयोजकले महत्त्वपूर्ण जानकारी दियो, करिब १ करोड प्लसको आम्दानी तथा ८५ लाख जतिको खर्च हुने अनुमान छ, त्यस्तै हामीलाई दुई दिनको गोष्ठी सम्पन्न गर्दा २२ / २५ लाखको कमाइ हुन्छ होला, युद्ध जितेर पदक थाप्न लागेझैँ आयोजकले भने ।

सहभागीबाट १५ / १७ हजार त असुल्नै पर्यो, तारे होटेलमा हुने कुरो जो छ । समाचार आयो, दुई दिनको गोष्ठीबाट आयोजकले २५ लाखसम्म कमाउने । समाचार लेख्ने र लेखाउने दुवै मक्ख । केही दिनमा गोष्ठी सुरु भयो पहिलो दिनमै समाचार आयो गोष्ठी सुरु, उल्लेख्य उपस्थिति ।

पहिलो दिन, उद्घाटनको दिन एकाबिहानै डाकिएको स्थानमा सहभागीहरू जम्मा भए, तारे होटेलको चमकधमकमा सुकिलोमुकिलो भएर गएपछि एक अर्कालाई जम्मा पारेर सेल्फी त खिच्नै पर्यो , तारे होटेलको पानीको फोहोरा, फूल बगैँचा, होटेलमा विच्छ्याएको रङ्गिन कार्पेट, भित्तामा सजाइएका ऐतिहासिक दस्ताबेजसँगको सेल्फी त छुट्नै भएन ।

फेरी आजकाल सहकारीका स्वदेशी तथा विदेशी सहकारी पिता माताहरूको पनि उपस्थिति हुन्छ, उहाँहरूसँग पनि सेल्फी खिचेर फेसबुकमा पोष्ट्याएन भने त हजारौँ खर्च गरेर टाढादेखि आएको प्रतिफल के भयो त्यो छुटाउनै भएन । त्यसपछि उद्घाटनमा बोलाएका विशिष्ट पाहुनाहरूसँग पनि सेल्फी खिचेर अनुहार पुस्तकमा पोष्ट्याइएन भने गोष्ठीमा गएको सान नै हुँदैन नि ! त्यो पनि गर्ने पर्यो ।

फोटो खिच्ने खिचाउने र छिटो भन्दा छिटो मुहार पुस्तिकामा पोष्ट्याउने प्रतिस्पर्धा तारे होटेलको आँगनदेखि हलसम्मै चलिरह्यो । देश विदेशबाट गोष्ठीमा बोलाइएका सहकारीका माता पिताहरूलाई मञ्चको मान त छँदै थियो, भाषणको भार पनि थपिदिएर काममा तामझाम देखाउन भ्याए आयोजकले । रमाई रमाई रमिता हेरिदिने भएपछि घण्टौँसम्म पनि पुरेत्याइँ गर्न जानेका सहकारी पण्डितका कुराले पहिलो दिनको कार्यक्रम तालिकाले पालो नपाएपछि भोलि सबेरैका लागि थाँती राख्नुको विकल्प रहेन ।

तारे होटेलको हलमा भाषणको भारी वर्षा भइरहेकै छ, सहकारीका समस्यामा राज्य उदासीन, सहकारी अभियानमा बेथिति लगायतका दोहोरी चलेका छन् तालीको आवाजले होटेलका तला नाघेर सङ्घारमै धर्नामा बसेका सहकारी पीडितको कान तातिसकेको छ । सहकारी बचाऔँ, सहकारीको साख जोगाऔंको नारा पनि बाहिर घन्किरहेको छ । सञ्चारका आँखाले पीडितलाई ओझेलमै राखेर सहकारीमा समस्या छैन को शीर्षक राखेर समाचार लेख्न भ्याए । आयोजक मक्ख ।

गोष्ठीको दोस्रो दिन अर्थात् समापनको दिन । तोकिएको विषय बोकेर प्रस्तुति गर्न कार्यपत्र प्रस्तोता आए, आधा घण्टामा सक्नुपर्ने समय सीमा तोकियो, आधा घण्टामा कर्मकाण्ड सकियो, टिप्पणी कर्ताले राम्रो कार्यपत्र प्रस्तुत गरेकोमा धन्यवाद दिन भ्याए पारिश्रमिक पाक्यो । आयोजक मक्ख ।

भ्याइ नभ्याई केही थान कार्यपत्र नामका सहकारीको वर्तमान अवस्था सन्तोष जनक, आधार स्तम्भ, अर्थतन्त्रको एउटा खम्बा, युवा तथा बालबालिका र महिलाहरूको वृत्ति विकासको मुख्य आधार लगायतका दस्ताबेज वाचन, केही रेडिमेड सहभागीहरूको बिचार समेटिए । अन्यलाई तारे होटेलमा सेल्फी खिच्न कै लागि मात्र बोलाए झैँ सहकारी पण्डितहरूबाट सहकारी पुराणको दुई दिन केही अध्याय सुनाएपछि १५ / १७ हजारको मेलो सकियो ।

एक दर्जन पूर्व तयारी घोषणापत्र, सङ्कल्प पत्रलगायतका निर्देशित बुँदा चिल्लो झोलामा राखेर आयोजक सँगको अन्तिम सेल्फिसंगै पृष्ठभूमिमा तारे होटेलको फोटो लाइक र कमेन्टको अपेक्षा सहित मुहार पुस्तिकामा पोष्टिए । आयोजकको अपेक्षा अझै सकिएको थिएन, बग्रेल्ती समाचारको हेडलाइनमा बुँदे घोषणा पत्र र सम्पन्नको समाचार अपेक्षा गर्नु त स्वभावीकै थियो । यस्तो ऐतिहासिक कामको चर्चा गरिनु पर्ने पनि त हो ।

सञ्चारले पनि निराशा किन बनाउँथ्यो र गोष्ठी सकिएको क्षणभर मै आयोजकसङै खिचेको, मायाको चिनो दिएको, रिबन काटेको, स्वागत मन्तव्य, धन्यवाद मन्तव्य राखेको, प्रमुख अतिथिसँग बसेको फोटो फिचर नै राखेर समाचार आयो ‘गोष्ठी सम्पन्न ।’

तारे होटेलमा हुनेदेखि सम्पन्न र भयसम्मको गोष्ठीको समाचार त आयो तर गोष्ठीमा वाचन गरिएका बुँदामा साग बेचेर, मकै पोलेर, नाङ्लामा पसल गरेर, भारी बोकेर सहकारीमा जम्मागर्नेहरुको पैसा कसरी फिर्ता गर्ने भन्ने विषय कति नम्बरको बुँदामा थियो ?

सहकारीमा सदस्यको पैसा कसरी सुरक्षित गर्ने विषय घोषणाको कति नम्बरमा बुँदामा थियो  ? गोष्ठीमा वाचन गरिएका बुँदामा सदस्यका पिडालाई खुसीमा बदल्ने सूत्र पनि थियो की ? सुकिला मुकिला हुने रहर त्यस्ता सदस्यलाई पनि हुन्छ, उद्यमी व्यवसायी बन्ने सपना देखेका त्यस्ता सदस्यलाई सम्बोधन गरिएको बुँदा नम्बर कति हो ? सहकारीका वास्तविक सदस्य उनीहरू हुन भनेर पहिचान गर्ने गोष्ठीको कति नम्बर बुँदामा उल्लेख छ रु समाचारमा आएन । आयोजक मक्ख । कि ! कसो ?



Leave a comment