सर्जकहरुको सिर्जनाका शब्दहरु सापट लिएर सहकारीका सनकी साहुकारीका ब्यवहारका कुरा र सदस्यको समस्याको बेवास्ताका बास्तबिकता केलाउने प्रयास गर्दैछु । रिसानी माफ है ! संयोगले पात्रहरु कुपात्र पनि पर्नसक्छन्, प्रसंगले मेल पनि खान सक्छ, जेल जाने र लानेका अनि झेल गर्नेका साँठगाँठका कुरा आउनसक्छन् । अनि आली कोदालीदेखि हलो र हलिसम्म, थालीदेखि नालीसम्म त्यसैगरी स्त्रीदेखि परस्त्री सम्मका नालीबेली खोतल्दा ब्राण्डेड बोतले किरासम्मको कुरा पर्नसक्छ । त्यसैले रिसानी माफ है !
सहकारी दैव दाहिना भएर दिन दुई गुणा, रात चौगुणा भएकाको कुरा आउनसक्छन् । जालझेलले जेल पठाएका कुरा आउनसक्छन, ब्याजको लोभ देखाएर सदस्यको मन लुलो बनाइएका कुरा उठ्नसक्छन् । जानी जानी जनताको पैसामा जाल फिँजाइएका कुरा पनि आउन सक्छन् । त्यसैले रिसानी माफ है !
गाइजात्रा हो, गाइ र गोरु मिसिएर जात्रै जात्राको कहानी बन्नसक्छ । सहकारीमा टेक्ने न समाउने ठाउँ भएकाले पार्टीको गुलामी गरेकै भरमा टिकीरहने टिका बहादुर हरुको कुरा अउनसक्छ । पार्टीले पंख लगाइदिएकै भरमा सहकारीको पैसालाइ उडाइहाल्नु पर्छ भन्ने मान्यता राख्नेहरुको पनि कुरा आउनसक्छ । पार्टीबाट पार्टीकै मानिसलाई पछारेर पार्टी नै परित्याग गर्न बाध्य बनाउने महत्वपूर्ण पात्रको कुरा पनि पर्नसक्छ, त्यसैले गाइजात्रा हो, रिसानी माफ है !
पार्टीले पदमा पैदल पठाएपनि सहकारीमा कमिसनको कमालले करामत गर्नेहरुको हर्कत प्रसंग उठ्नसक्छ । साग बेचेर सहकारीमा जम्मा गर्ने हरुको पैसा हाइड्रोमा हुत्याएर हाकिम बनी हालीमुहाली गर्नेेको कुरा पनि छुटाउन त भएन नी हैन ? संघ चलाउन भन्दै सहकारीलाई सफ्टवयर बेचेर आएको कमिसन सुटुक्क पचाउने कि अलिकति बचाउने भन्ने दाउका कुरा अनि सहकारीलाई प्राविधिक सेवा भन्दै कमिसनको मेवा फलाउनेका कुरा पनि आउनसक्छन् । त्यसैले गाइजात्रा हो, रिसानी माफ है!
सहकारीमा हुने बाह्रमासे जात्राको अन्त्य गरी सुशासन र सुद्धिकरणको खाँचो छ । त्यसैले चित्राको सहकारी कर्मको चरित्रमाथि चित्रण गर्नेहरुलाई शिवजीले नैतिकताको प्रकाश छर्न कञ्जुस्याँइ नगरुन । गाइजात्रा हो, रिसानी माफ है !
कुरा सुरु हुन्छ, सहकारी मुक्तिकालागि माउ निकायका मालिकका प्रवृतिबाट अनि बाउ बन्नुपर्नेका ब्यापारी प्रवृति भएकाहरुबाट । सहकारी शिक्षाका नाममा फेसबुकमा दैनिकजसो तलिमका नाममा पैसाकालागि रोइलो गरिरहने, प्रबिधिका नाममा कमिशनको कचौरा थापेर कर्मचारीलाई पाल्नुपर्ने सहकारी महासंघ (उर्फ एमाले क्लब) बाट सहकारीले कहिले मुक्ति पाउला ?
चौध बर्ष एकछत्र राज चलाएका सहकारी माउका बाउ आफै मुक्ति खोज्दै महर्षि महाराजको बाटो लागे । एक दशक नै दाई गरेका अर्का ‘बा’ले त सहकारीका समस्या साम्य पार्लान भनेको सहकारीको डाटामा अड्किंदा अड्किंदै बाटो लागे । चार वर्ष राज गर्ने मिनराजको पुरानो डायरीमा ठूला सहकारीको नाम र सम्पर्क नम्बर भरियो तर फुरेनन् समस्या समाधानका उपायहरु ।
भर्खर आएकी अन्तराष्ट्रिय दिदीलाई, मन्त्री, सचिव र रजिष्ट्रारलाई स्वागत गर्दै हैरान छ । ब्वाँसाले सिनो कुरे झै वरीपरि घुमिरहन्छन्, काम गर्न दिए पो ! एउटै पार्टीको भएर के गर्नु मिलाउनै ब्यस्त, कहिले कता कुदाउँछन, कहिले कता । कहिले सहकारी बचाउ भन्दै माइतीघर कुदाउँछन् कहिले सदस्य बचाउ भन्दै सिंहदरबार पुर्याउँछन् ।
आएको छ महिना मन्त्री र सचिवलाई स्वागत गर्दै बित्यो । बल्ल बल्ल सहकारीमा रोजगारी मेला भएको थियो, रोजगारीकालागि कसैले खै गरे कि गरेनन् ब्यापारीलाई स्टल दिएरै भएपनि १० लाख कमाइ चाँही गराइदिइन बरा ! पार्टीले कार्यकर्ता थुपारिदिएको छ वरीपरि, अव पार्टीको काम गर्ने की ! सहकारीको ! दिदी अलमलमा ।
चित्र फेरियो चरित्र फेरिएन भन्ने सुनेको थिएँ, यहाँ त चित्र पनि उही चरित्र पनि उही, ओल्ला घरको नरे पल्ला घर सरे भएको छ के गर्नु र खै ? गाइजात्रा हो, रिसानी माफ है ! पालो पर्खेर बसेकाले पनि खासै बुत्याँउलान झै मानेनन् जनताले, पार्टीले लोप्पा खुवाइदियो भने पालो पर्खेर मात्र के गर्ने । बरु अहिले देखि नै पार्टीको पाउ मोल्न तिर पो लाग्ने हो की ? दोहोरो तेहेरो पदमा भएर पनि परित्याग गर्न नसक्नेलाई त ठिकै छ, यता नभए उता छैदैछ । कतै नभए सहकारीको पैसा लगाएको कम्पनि छंदैछ।
नियामक पनि कम्ताका छैनन्, एक हातले लेना अर्कोले देना । कानुनको पात्रो हातमा बोक्यो पण्डित्याँइ गर्न सहकारीका फोरममा दौड्यो । वर्षभरिमा त दुइचार अध्याय सम्पन्न । दोहोरो पदलाई दुहुना बन्छ की ! भनेर दोहोर्याई–दोहोर्याई फेसबुकमा दर्शन गराइयो, दैब दाहिना भएनन् ।
७० वर्षसम्म सहकारी अभियन्ताका नीतिका कुरा सकिएनन् मार्गदर्शन र निर्देशनका रुपमा ओइरिरहे । उनीहरुकै नैतिकताको भाँडो चाही जहिल्यौ उत्तानो । महासंघ, बैंक, नेफ्स्कूनपछि लस्कून, फस्कून, कास्कून, प्रोस्कून र चिस्कूनजस्ता कुनै–कुनले भरिएको अभियानमा गुन खोज्दै पत्रकारको दिन बित्दो छ ।
नेफ्स्कूनमा परितोषलाई बिस्थापित गरेर चमत्कार गर्न छिरेका चन्द्रलाई कर्मचारी चलाएकाले, अरिंगालको गोलामा हात हाले झैं भएको छ, के गर्नु चाबी अरु कै हातमा ! पावरले परिपूर्ण कर्मचारीलाई चलाउनु अजिंगरको मुखबाट आहारा खोस्नु झैं भएको छ । अरुले जुठो बनाएको भाँडोलाई सफा बनाउँदै चारवर्ष चैट् होला भन्ने पिर । गाइजात्रा हो, रिसानी माफ है !
सहकारी बैंकका केबीलाई के बिराँए जस्तो भएको होला । मनपरेको मान्छे जेठाजु परेपछि । समस्याग्रस्त सहकारी समधानमा बसेका डिबीले समस्या समाधानकालागि पहल गरेको भए सिबी र जिबीले जेलको हावा खानुपर्ने थिएन कि ! ‘बा’को तीनवटा बाहेक सहकारीले जम्मै गर्नहुन्छ भन्ने उर्दीको पछि दौडिने सहकारीका संचालकले अहिले झ्यालखानाबाटै ‘बा’लाई धारेहात लगाउँदै होलान ।
सहकारी उत्पादनमा जान नचाहेको कहाँ होर ! राज्यको नीति नै गतिलो भएन, ४७ वटा कानुन जहिल्यौ बाधक । सहकारीको नेता हुदैमा नातीको न्वारनको नाम फेरेर कर्म फेरिदैन, आचरण फेर्न जरुरी छ । नेताको नैतिकतामा प्रश्न गर्ने अवस्थाको ब्यवस्था परिर्वन गर्न जरुरी छ।
सहकारीमा हुने बाह्रमासे जात्राको अन्त्य गरी सुशासन र सुद्धिकरणको खाँचो छ । त्यसैले चित्राको सहकारी कर्मको चरित्रमाथि चित्रण गर्नेहरुलाई शिवजीले नैतिकताको प्रकाश छर्न कञ्जुस्याँइ नगरुन । गाइजात्रा हो, रिसानी माफ है !
Leave a comment