सदस्य सहकारीकर्मीको मन जित्ने आँट नभएपछि फोटो फण्डा र टिके प्रथाको ओत लाग्ने कमरेड सहकारीकर्मीहरुलाई बास्तविक सहकारीकर्मीको मतले मात खुवाउने हिम्मत राख्छ की राख्दैन । कि कसो ?
यतिखेर सहकारी अभियानमा मंसिरको चिसो मासलाई गर्मीको मातले गर्माएको छ भने, त्यो हो सहकारी बैंकको नेतृत्वको गर्मी । सहकारी बैंक यतिबेला गर्भिलो नेतृत्वको पर्खाईमा दिन गिन्ती गरेर बसेको छ ।
संघारमै आएको छोटो नेतृत्व छनोटको दिन पनि छोटिंदै गएका छन् । कमरेडहरुको पार्टीमा नेतृत्व छनोटको महाधिवेसनको चटारोले उल्झिएको सहकारी बैंकको नेतृत्व छनोटले छिट्टै निकास पाउने कमरेड सहकारीकर्मीहरुको अनुमान छ ।
तथापि नेतृत्व गर्ने मनसायको झटारो चाँही सहकारीकर्मी कमरेडहरुले आआफ्नै तरिकाको सांकेतिक संकेत सम्वन्धित ठाउँमै पुर्याएका छन् । कसैले उपल्लो तहका कमरेडहरुसंगका पुराना तस्विर खोजीखोजी फेसबुकमा पोष्ट्याएका छन् ।
कसैले सहकारीको झ्यालबाट चिहाएका, सहकारी नेतृत्वसंग गफिएका, सहकारीका भवनको छतदेखि दलका दलिनमा सहकारी विभागका प्रमुखसंग कुममा कुम जोड्याएका फोटोसेसन तात्तातै फेसबुकमा पोष्ट्याएर उपस्थिति जनाएका छन् ।
कसैले आफूपनि मैदानमा रहेको पार्टी प्रमुखका फोटो सेयर गरेर होस वा फोटोमा लाइक र कमेण्टको करामत देखाएर जनाउ घण्टी जनाएका छन् ।
जे होस यतिखेर सहकारी बैंकको नेतृत्वको चाहना गर्ने चारजना कमरेड सहकारीकर्मी हरुको नामको चर्चा चुलिएको छ । चारैजना कमरेडलाई बधाई तथा अग्रिम शुभकामना ।
सहकारी बैंक छिट्टै कमरेड बैंक बनाउनुहोला, यसमा योगदान गर्नुहुने कमरेड सहकारीकर्मीरुले झण्डा सिलाउँदै गर्दा पनि भयो । केही समय अघि कमरेड क्लव बनेको सहकारीको माउ निकाय राष्ट्रिय सहकारी महासंघको हालत त सबैको नजरमा छर्लङ्ग छैदैछ, हैन ?
त्यसैले अव कमरेड बैंकको तयारी गर्न ढिला नगरौं त्यसकालागि उमेदवार कमरेडहरुले पार्टीको माहाधिवेसन सम्म कुर्ने धर्यताचाँही गर्नुहोला, निणर्य उतैको हो नि त । फेरी सवै सहकारीकर्मी कामरेडहरुलाई पार्टीको जिम्मेवारी पनि त होला, हैन त ?
सहकारीका मूल मुद्धालाई ओझेलमा पारेर दलको दाहिने बन्नेलाई सहकारी अभियानले हिजोसम्म स्वागत गरेकै हो, सहकारीकर्मीको मुखुण्डो लगाएर अभियानमा छिरेका पार्टीका कार्यकर्तालाई पनि सहकारीले आश्रय दिएकै हो र त्यही आश्रय दिने खाँबो भाचेर दाह्रा निङ्च्याउँदै सहकारीको थाकथलो छोड्दैगर्दा पनि चिन्न नसकेकै हो ।
अवचाँही चिनेर सतर्क र सजग हुने बेला पनि आएको छ । नेतृत्वको खडेरीले पिल्सिएको त हैन बैंक । तर फेसबुकमा फोटोको फण्डा मच्चाएर फनफनाउनेहरुको खोजिमा पनि छैन होला बैंक ।
आफ्ना साला भेनाको साइनोलाई भजाएर अभियानको संगठनलाई भातृसंगठन बनाउने नेतृत्वकोलागि रोइलो गर्नेहरुको पनि भिडलाई रुचाउँदैन होला बैंक।
नेतृत्व क्षमताको र विश्वासले भरिएको सहकारी अभियानको भरथेग गर्ने उन्मात फूर्तिले भरिएर नेतृत्व गर्न गर्माएको ब्यक्तिको खोजिमा छ बैंक ।
दैनिक सहकारीको भवनमा छिरेर दल र दाईको वकालत नगरे सहकारीकर्मी नहुने मान्यता तोड्नसक्ने, दैनिक दलका दाईहरु संगै फोटो खिचेर फेसबुकमा फोटो फण्डा नगरे सहकारीकर्मीले चिन्दैनन् भन्ने मान्यताका दानवी शक्ति भएकाहरु संग भिड्नसक्ने दैविशक्ति भएको दानवीर नेतृत्वको अपेक्षा गर्छ बैंक ।
सहकारी भवनको छतमा बसेर दलतर्फ दुनो सोज्याउने सहकारीकर्मीको मुखुण्डो उतार्ने सहकारी अभियन्ताको खोजिमा छ बैंक । हेर्न बाँकी छ, फोटो फण्डा र नाता साइनोको ताकतसंग अभियानको ताकतले नेतृत्वको तीर मार्छ की मार्दैन ।
सदस्य सहकारीकर्मीको मन जित्ने आँट नभएपछि फोटो फण्डा र टिके प्रथाको ओत लाग्ने कमरेड सहकारीकर्मीहरुलाई बास्तविक सहकारीकर्मीको मतले मात खुवाउने हिम्मत राख्छ की राख्दैन । कि कसो ?
Leave a comment