काठमाडौं । भक्तपुरको श्री बाराही बचत तथा ऋण सहकारीले सदस्यलाई मिठाई बनाउने तालिम प्रदान गरेको छ । संस्थाले सदस्यहरूलाई स्वरोजगार बनाउने उद्देश्यले दुईदिने मिठाई बनाउने तालिम दिएको हो । शेयर सदस्यहरूलाई स्वरोजगार बनाउने र परम्परागत सीपलाई व्यावसायिक रूप दिने उद्देश्यका साथ तालिम आयोजना गरिएको संस्थाका अध्यक्ष राधेश्याम सुवालले जनाए ।
तालिमको समापन समारोहमा संस्थाका अध्यक्ष, संचालक समितिका पदाधिकारीहरू, कर्मचारीहरु, सदस्य तथा बचत उपसमितिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सुवालले तालिममा सिकेका सीपलाई केवल झोलामा मात्र सीमित नराखी व्यवहारमा उतारेर आर्थिक रूपमा आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गरे । सहकारीले सदस्यहरूको आर्थिक र सामाजिक विकासका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक कार्यक्रमहरूलाई निरन्तरता दिने बताए ।
सहभागीहरूलाई स्थानीय बजारमा बढी माग हुने विभिन्न प्रकारका मिठाईहरू (जस्तैः दही, खजुरी, लालमोहन, जेरी, बर्फी, पतामिन्की र अन्य रैथाने मिठाई) व्यावसायिक र गुणस्तरीय तरिकाले बनाउने प्रयोगात्मक तालिम दिइएको संस्थाका व्यवस्थापक शिवजी हाकुदुवालले बताए । तालिम प्रशिक्षक राधिका दिदिया माकले दिएकी थिइन । तालिममा उत्साहजनक संख्यामा महिला तथा पुरुष शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।
२३ जना सहभागीहरूमध्ये दुई जना सोनिया बासुकला र इन्दु श्रेष्ठले छोटो समयमै उपयोगी सीप सिक्न पाएकोमा संस्थाप्रति आभार प्रकट गर्दै सहकारीले यस्तो व्यावहारिक र सीपमूलक तालिम आयोजना गरिदिएकोमा खुसी व्यक्त गरिन ।
संस्थाका कर्मचारी राम लक्ष्मी प्रजापतिले संचालन गरेको समापन कार्यक्रममा सदस्य तथा बचत उपसमितिका सदस्य रचना खायमलीबाट स्वागत मन्तव्य, जमुना त्वानाबासुले धन्यवाद ज्ञापन गरी संयोजक सर्मिला मानन्धरबाट सभा समापन गरेकी थिइन ।
Leave a comment