हाइलाइट

सहकारी बैंक निर्वाचनः दुई उमेदवारका समृद्ध बैंक र सुशासनका एजेण्डा 

सहकारी बैंक निर्वाचनः दुई उमेदवारका समृद्ध बैंक र सुशासनका एजेण्डा  :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सातजनाको सञ्चालक पदमध्ये बागमती प्रदेशका लागि भोली ९ गते शनिबार निर्वाचन हुने भएको छ । निर्वाचनकालागि बैंकले सातै प्रदेशमा तयारी सम्पन्न गरेको जनाएको छ ।

छ वटा प्रदेश र लेखा समिति निर्विरोध भएपनि बागमती प्रदेशको संचालकका लागि दुईजनाको उमेदवारी परेकोले निर्वाचन हुनेभएको हो ।

दलको भावण्डा अनुरुप एमालेको भागमा परेको बागमती प्रदेशमा एमालेका केन्द्रीय सदस्य परितोष पौड्याल र एमाले निकट रामशरण शर्मा घिमिरेबीच चुनाव हुनेभएको हो ।

सातै प्रदेशमा एकैदिन मतदान हुने निर्वाचन समितिले जनाएको छ । कोशी प्रदेशको मतदान विराटनगरस्थित होटल मनास्लु इनमा, मधेश प्रदेशको बर्दिबासस्थित गौतम होटलमा हुनेछ ।

त्यसैगरी बागमती प्रदेशको काठमाडौंस्थित अनुपम फुडल्याण्डमा, गण्डकी प्रदेशको पोखरास्थित दीपसागर होटलमा, लुम्बिनी प्रदेशको रुपन्देहीस्थित द दरबार इन प्रालिमा हुनेछ ।

र कर्णाली प्रदेशको सुर्खेतस्थित कौशिक गार्डेनमा तथा सुदूरपश्चिम प्रदेशको कैलालीस्थित होटल पौवामा मतदान हुने तय गरिएको जनाएको छ ।

बागमती प्रदेशको सञ्चालक पदमा मात्रै निर्वाचन हुनेभएपनि सातै प्रदेशका प्रतिनिधि सदस्यले मतदान गर्नुपर्ने व्यवस्था छ । ८ हजार ६ सय मतदाता रहेको बैंकमा मतदान भोटिङ मेसिनमार्फत गरिने जनाइएको छ ।

प्रतिस्पर्धामा रहेका दुवै उम्मेदवारले आफ्ना योजना र प्रतिबद्धतासहित मतदातामाझ पुगिरहेका छन् । उमेदवार पौड्याल तीनदलका साझा उमेदवार हुन् भने घिमिरे सहकारी अभियानका साझा उमेदवारका रुपमा लिइएको छ ।

पौड्याल राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा नेफ्स्कूनका पूर्वअध्यक्ष हुन् । नेतृत्वमा रहँदा विवादित पौडेललाई पार्टीको उमेदवार बनाएपछि झनै अभियानले विरोध जनाएका छन् ।

त्यस्तै रामशरण शर्मा घिमिरे यसअघि पनि राष्ट्रिय सहकारी बैंकको सञ्चालकका रूपमा काम गरिसकेका छन् । उनी हाल बागमती प्रदेश सहकारी संघका अध्यक्ष हुन् ।

दुवै उम्मेदवारले सहकारी क्षेत्रको सुदृढीकरण, सदस्य संस्थाको क्षमता अभिवृद्धि, प्रविधिमैत्री सेवा विस्तार तथा बैंकको प्रभावकारी भूमिका अभिवृद्धिलाई प्राथमिकतामा राख्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

दुबै उम्मेदवार आ–आफ्ना अनुभव, एजेण्डा र सहकारी क्षेत्रमा लामो संलग्नताका कारण आफ्नो जित निश्चित रहेको दावी गर्छन । दुवैको आ–आफ्नै आधार र समर्थन भएकाले बागमती प्रदेशको यो निर्वाचनलाई सहकारी वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

सदस्य केन्द्रित सेवा, सुशासन र सशक्त सहकारी बैंक बनाउने घिमिरेको जोड छ । सहकारी क्षेत्रमा लामो अनुभव सँगालेका शर्मा घिमिरेले आफूले नेतृत्व लिएका संघ संस्था उदाहरणिय बनाएको दावी गर्छन ।

सहकारी अभियानमा बिवाद रहित घिमिरेलाई इमान्दार सहकारीकर्मीका रुपमा हेरिएको छ । उनले उम्मेदवारी केवल पदका लागि नभई सहकारी क्षेत्रमा देखिएका विद्यमान चुनौती समाधान गर्दै राष्ट्रिय सहकारी बैंकलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यसहित आएको बताएका छन् ।

सुशासन र पारदर्शिता आफ्नो मुख्य चुनावी एजेण्डा भएको उम्मेदवार पौड्यालको भनाइ छ । पछिल्लो समय सहकारी क्षेत्रमा सुशासन र पारदर्शिताका विषयमा प्रश्न उठिरहेका बेला उनले यी मूल्य र मान्यतालाई पुनः स्थापित गर्ने र आफू पनि करेक्सन हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकलाई थप उत्तरदायी, पारदर्शी र सदस्यमैत्री संस्थाको रुपमा विकास गर्ने लक्ष्यसहित उनले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

नेपाल राष्ट्र बैंक तथा सहकारी विभागको नियामकीय दायराभित्र रहेर बैंक सञ्चालन गर्नुपर्ने भएकाले सुशासन र पारदर्शिता अपरिहार्य रहेको उनको भनाइ छ।

सञ्चालक समितिलाई अनुकरणीय बनाउने दाबी गर्दै उनले बैंकको वित्तीय कारोबार, बोर्ड गभर्नेन्स र व्यवस्थापकीय पक्षलाई थप जिम्मेवार र जवाफदेही बनाइने बताएका छन् ।

यस्ता छन् उमेदवारका चुनावी प्रतिवद्धताः

घिमिरेका १० प्रतिवद्धता

१, सदस्यहरुको हकहित, समस्या र सुझावलाई प्राथमिकताका साथ उठाउन गर्नेछु ।
२, बैंकको पारदर्शिता, सुशासन र उत्तरदायिालाई सुद्ध बनाउन सक्रिय भूमिका निर्वाह गर्नेछु ।
३, बैंकको सेवा९सुविधा, पहुँच र प्रविधि सुधारका लागि निरन्तर आवाज उठाउनेछु ।
४, युवा महिला तथा सबै सदस्यको सहभागिता वृद्धि गर्न विशेष पहल गर्नेछु ।
५, सहकारीमा पारदर्शी सेवा र सुशासनका लागि आवश्यक कदम चाल्नेछु ।
६, सहकारी मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै संस्थाको गरिमा र विश्वसनीनतालाई अझ सशक्त रूपमा कायम राख्नेछु ।
७, बैंक व्यवस्थापन र सदस्यबीचको सुमधुर सम्बन्ध र सहकार्यलाई उच्च स्तरमा कायम राख्नेछु ।
८, बैंक व्यवस्थापन र सदस्यबीचको सुमधुर सम्बन्ध र सहकार्यलाई उच्च स्तरमा कायम राख्नेछु ।
९, तपाईहरूको अपार विश्वासलाई सम्मान गर्दै सधैँ इमानदारी, निष्पक्षता र जिम्मेवारीपूर्वक काम गर्ने परिपाटी कायम राख्नेछु ।
१०, सबै सदस्यहरूको हकहित संरक्षण गर्दै राष्ट्रिय सहकारी बैंकको सर्वाङ्गीण विकासका लागि प्रतिबद्धता र निरन्तर प्रयास कायम राख्नेछु ।

पौड्यालका ९ चुनावी प्रतिवद्धताः

१, सहकारी मैत्री नीति, ऐन, नियमावली संशोधन तथा स्थिरताका लागि पहल गर्ने ।
२, वित्तीय स्थायित्व तथा सुदृढीकरण ।
३, पारदर्शिता तथा सुशासन ।
४, युवा तथा नवप्रवर्तनमा केन्द्रित अभियान ।
५, सहकारी बैंकिङको डिजिटल रुपान्तरण ।
६, सदस्य संघ संस्था केन्द्रित प्रभावकारी बैंकिङ सेवा तथा शिक्षा, तालिम, क्षमता विकासका कार्यक्रम संचालन गर्ने ।
७, समस्याग्रस्त तथा समस्याउन्मुख सहकारीलाई सहजीकरण गर्दै समाधानमुखी नीति अवलम्बन गर्ने ।
८, कर्मचारीहरुको सशक्तीकरण तथा वृत्तिविकासको प्रत्याभूति गर्ने ।
९, स्वनियमनको मर्म आत्मासाथ गर्दै एकद्वार नियामक निकायमा जोड दिने ।



Leave a comment