हाइलाइट

रिसानी माफ है ! सहकारी जात्रा

रिसानी माफ है ! सहकारी जात्रा :: Sahakari Akhabar

र्जकहरूद्धारा सिर्जित शब्द सापट लिएर सहकारीका सस्कृति सिंगार्ने संगै विकृति र विसङ्गतिहरु औंल्याउन ऐना देखाइदिने प्रयास गर्दैछु । हुनत चाकरीमा चाचा हुइइई गर्न र पदको पगरी गुथ्न माहिरलाई विकृति र विसंगतीको ऐना संधै फोहोर नै देखिन्छ होला ।

किनकी उनीहरुलाई थाहा छ, ऐनाले आफ्नै अनुहार देखाउने छ । त्यसैले ऐना पुछ्नु भन्दा ऐनालाई फोहोर छ भन्न सजिलो छ । तै पनि ऐना पुछेर अनुहार हेर्नेछन् भन्ने अपेक्षाले सहकारी जात्राको यात्रालाई निरन्तरता दिएको छु । रिसानी माफ है !

यहाँ प्रयोग भएको ‘जात्रा’ शब्द हाम्रो संस्कृति संग जोडिएको शब्द माथिको प्रहार नभई मात्र सहकारीमा भइरहेको विकृतिलाई बटार्न व्यङ्ग्यात्मकरुपमा छाडाबिनाका छानिएका शब्द मानिनेछन् । हाँसो र रोदन मिसिएको मार्मिक र धर्मिक पर्व, अनौठो उत्सव ‘गाई जात्रा’ । गाईजात्रे अवसर पारेर छेडखानी, घोचपेचको मेसो मिलाउने मौसममा आज, जात्रै जात्राको यात्रा गरिरहेको सहकारीका सर म्याडमहरुसंग भेट्ने मोसो मिलाउनेछु, सु–स्वागतम् ।

पाच्य नभए पनि, सहमतिमा सकार्ने नियामक र मिलेमतोमा कानुनको कान निमठ्ने सहकारी माउतेहरूलाई सहकारी जात्राको शुभकामना । आसनको आस नगर्नु होला, राशनको रास त ! छँदै छैन र भाषणको पनि भरोसा भएन भनेपनि आशन छाडेर कुद्नुहुने छैन भन्ने अपेक्षा छ । त्यसैले आसन, भाषण र नगदी राशनमा ग्रहण लागेको जनाउ घण्टी बजाउँदै ‘रिसानी माफ’ है ! यो यात्रामा हामी कलमको कलाले सहकारी जात्राको यात्रा गराउने छौँ ।

यात्रामा कठिनाइ हुनसक्छ, अक्सिजनको मात्रा कम हुनसक्छ, उचाइमा रिँगटा लाग्न सक्छ, धरातलमा आत्तेस लाग्न सक्छ । सुखमा न मात्तिनु र दुःखमा नआत्तिनु भन्ने उखान त सुनेकै छ नि हैन ! त्यसैले सहकारीका जन्मदाता, अन्नदाता, पिता, माता, राष्ट्रिय, अन्तर्राष्ट्रिय माननीय, पूजनीय, केन्द्रीय, विकेन्द्रीय सबैलाई धैर्यताका साथ यात्रामा सहभागी हुन अनुरोध छ । शब्दहरु यात्राका सारथिहरू हुन् यसले साथ दिएसम्म सम्मानजनक समायोजन हुने गाइजात्रे कसम छ ।

वर्तमानमा सहकारी महाकुण्ड वरीपरि केही सुण्डमुण्ड, चामुण्डहरुको झुण्डले राज गरेको त तपाइलाई हेक्का हुनुपर्ने हो । पार्टीमा घाँडो भएकालाई थन्क्याउने भाँडो बनेको सहकारी क्षेत्र यसलाई पनि जात्रा बनाउनेहरूलाई पार्टिका झोले भन्न तपाइले चाँही किन लजाउनु पर्ने ? रिसानी माफ है !

तपाइले सहकारीको नेतृत्व गर्ने वा जागिर खाने सुर बेसुरमै कस्नु भएको छ भने, एaaaमाले हैन, भन्न हिच्किचाउनु होला । सहकारीको मान्छे एaaaमाले हुँदिन भन्नु गैह्रकानुनी जस्तै मानिन्छ । तपाइले सहकारी कानुन नमाने पनि हुन्छ । पदको दुरुपयोग गरेपनि हुन्छ, ५ / ५ वटा विभिन्न पदमा बसेर पौरख देखाए पनि हुन्छ, तर तपाईको सुरलाई बेसुर नबनाउने हो भने तपाई एaaaमाले हुँदिन भन्नु गैह्रकानुनी हो ।

तपाइले प्रतिनिधित्व गरेको संघलाई सहकारी विभागले खारेजीको सूचिमा राखेपनि हुन्छ । सहकारीको उपल्लो तहको नेतृत्वमा जान देशको कुना काप्चाबाट प्रतिनिधि किनेरै ल्याएपनि हुन्छ । तर तपाइ एaaaमाले हुँदिन भन्नु पाउनुहुन्न पछि बन्नेछु भन्ने कसम खाएपनि हुन्छ । अलि अलि भाषण गर्न जान्ने र अरुलाई नैतिकताको पाठ पढाउन जान्ने भएपनि हुन्छ । अरु दुईचार ठाउँमा हारेको भएपनि हुन्छ ।

सहकारीको उपल्लो निकायमा चाही पार्टीको आर्शिवाद चाहिने भएकोले एaaaमाले हुँदिन भन्न पाइदैन । उधारोकै भएपनि एaaaमाले हुँदिन भन्न पाइदैन । रिसानी माफ है ! सहकारीको पैसा उठाएर हाइड्रोमा हुत्याएपनि हुन्छ, हाउजिङमा हाल्न हौस्याएपनि हुन्छ । सहकारी सफ्टवयेरबाट कमिशनको कमाइ गरेर इमान्दारीता चाही देखाउनु पर्छ ।

सहकारीका भवन बनाउँदा आफ्न्तलाई ठेक्का पारेर कमिशनको कमाल देखाउन सके अति उत्तम, सहकारीको उपल्लो तहमा रहँदा रहँदै, पार्टीको सहकारी विभागमा रहँदा रहँदै जागिरका लागि आवेदन दिएर पार्टीको पदमा छैन सहकारीकर्मी हैन भन्न सक्ने चाही हुनुपर्छ । रिसानी माफ है ! सल्लाहकारको नाममा सहकारीका निकायमा रजाइ गरेपनि हुन्छ ।

सहकारीका संघ केन्द्रीय संघमा आफ्नालाई जागिर खुवाएको वा खुवाउनसक्ने भएपनि हुन्छ, जे होस् सहकारीको चावी बोकेर हिड्न सक्ने चाही हुनपर्छ । सहकारीको मानिसलाई कि त ! एaaaमाले बनाउनु पर्यो कि त ! सहकारीमा एaaaमाले हुनुपर्यो नत्र पार्टीलाई के उपलब्धी देखाउने ? त्यतीपनि गर्न नसके के सहकारी नेता ?

इस् बनुम्ला एaaaमाले भन्ने सोच आयो भने कि त ! तपाई परको परै कि त ! तपाई बिeee, सिeee, डिeee, इeeeमाले वा झालेमाले बन्ने पक्का छ । रिसानी माफ है ! अनि तपाई बन्ने र बनाउने क्रममा आफूलाई भन्ने भनेको झोले नै हो । झोले बन्न नसक्नेलाई पाखा लगाउने नीयतको नतिजा तपाइका नयनले नजरअन्दाज पक्कै गरेको हुनुपर्छ ।

सहकारीमा स्थानीय, प्रदेशस्तरीय, सङ्घीय र प्रारम्भिकको पनि जातीविधि जात्रा छ । जिल्लास्तरिय, केन्द्रीय, राष्ट्रिय वा अन्तर्राष्ट्रिय सबै खाले सहकारी जात्रा तपाइले पनि देखेकै हो नी हैन र ? सहकारीको पैसा जम्मा गरेर कृषि कम्पनिमा लगानी गर्न भ्याएको पार्टीलाई भरथेग गर्ने । दशौं वर्ष सहकारीको डाटा एउटै भन्न सक्नेगरी घोकेको भएर एकककमाले बन्ने कसम खाएको हुनुपर्यो । रिसानी माफ है !

चित्राले झै चिरा चिरा पारेर चिथोरेर जाने आँट गर्नसक्ने भएपनि हुन्छ । बाबुल जस्तालाई बिचरा बनाएर सुरेशको सुरवीर तोड्नसक्ने आँट भएका जस्ता पनि हुन्छ । गनायो महासंघ भन्नेलाई मुखभरी जवाफ दिनसक्ने जवाफिला र गोपी जस्ताको हुर्मत लिन बाहानाको बाटो कुर्नसक्ने भए पनि हुन्छ । रिसानी माफ है ! जात्रा, जातीविधि देखाएकै छन् । सिजनेवल सहकारी जात्रा छ, छिनमा सहकारी नेता, छिनमा पार्टीका कार्यकर्ता, छिनमा ब्यापारी छिनमा समाजसेवी र छिनमा सहकारी पण्डित पनि, भएन त जातीविधि जात्रा ।

तारे होटलमा तारेको हड्डीको हन्टिङ गर्न, शिक्षा र तालिमका नाममा पैसा हजाम गर्ने बहाना बनाउनसक्ने चाहि हुनुपर्छ । परिवार सहित पशुपतिमा दर्शन गर्न आउनेलाई अन्तराष्ट्रिय सहकारी पाहुनाको स्वागतको संस्कार बसाल्न सक्ने अनि घरमा न्वारनमा आएका पाहुना संगको फोटोलाई सामाजिक संजालमा राखेर सहकारी ऐक्यवद्धताको परिचय दिनसक्ने पारखिको खुवी भएको पनि हुनुपर्नेछ ।

सहकारी अभियानलाई ‘आन्दोलन’ र आन्दोलनलाई अभियानमा परिभाषित गर्नसक्ने दोमुखे भएपनि हुन्छ । जे होस सहकारी अभियान र आन्दोलन अघि बढ्नु पर्यो बढ्दा बढ्दै सिंहदरबार भित्रका बिना तालुकदार मन्त्रालय देखि प्रधानमन्त्री संगसंगै फोटो खिचेर सामाजिक संजालमा पोष्ट्याएर आभियानको उपलब्धी भन्न सक्ने हुनुपर्यो, ब्यकग्राउण्डमा पार्टीको झण्डा चाही छुट्नु भएन । ‘रिसानी माफ है’ ।

स्थानीय तहदेखि केन्द्रसम्म, प्रारम्भिक देखि महासङ्घसम्म सहकारीमा टम्म अनि लटरम्म राजनीति फलेको छ । तालिमको नाममा लुटे पनि आन्दोलन । डिजिटल कारोबारका नाममा ढाड सेकाए पनि आन्दोलन । सहकारीलाई पार्टीको सम्पर्क कार्यालय बनाए पनि आन्दोलन । उखरमालै जात्रा भो ‘रिसानी माफ है’ ।

नीति र नियम बहालवाला र रिटायर्डको चपेटामा चेपिँदा चुइँक्क पनि गर्न सकेको छैन । अनुगमन र नियमनको झटारोले उध्रेका समस्या दलिनमा बिस्कुन भएका छन् । गोजीमा कानुन, सानाले जानुन् । ठुलाले मानुन् की ! नमानुन् । आफूले भनेको माने र जाने भने भई गयो नि ! सदस्यको डुबेको पैसा आउने की जाने अत्तो पत्तो छैन् ।

सहकारी नेतालाई च्याप्ने, अरूलाई हेप्ने नियमकको पक्षपातले पक्षाघात भएका सदस्यलाई आश्वासनको झटारो हान्ने आन्दोलनका अभियन्ताहरुले सहकारीका विकृति र विसंगतप्रति पनि आन्दोलन गर्ने र दलको भन्दा पनि सहकारीको झोले हुँ भन्ने आँट पलाउने शक्ती मृत आत्माहरुले प्रदान गरुन् । ‘रिसानी माफ है ! शुभकामना ।



Leave a comment