काठमाडौं । सहकारीमा नेतृत्व चयनमा पार्टीको खुल्लम् खुल्ला हस्तक्षेप हुँदा सहकारीको मर्मलाई रक्षा गर्नुपर्ने जिम्मेवार निकाय सहकारी संघ, महासंघका नेता आफै दलको झण्डा बोकेर मैदानमा भिडिरहेका छन् । सहकारी बैंकको निर्वाचनका क्रममा साताअघि काठमाडौंमा तीन दलको समर्थनमा परितोष पौड्याललाई साझा उम्मेदवार घोषणा कार्यक्रममा महासंघका कार्यवहाक अध्यक्ष रमेशप्रसाद पोखरेल आफै सभापति बसेका थिए ।
यस्तै महासंघका पूर्वअध्यक्ष केशवप्रसाद वडाल पनि कार्यक्रममा अतिथिको भूमिकामा बसेर पौड्यालको पक्षमा मतमागे । कार्यवहाक अध्यक्ष पोखरेल आफु महासंघको प्रतिनिधि नभई सहकारीकर्मीका रुपमा कार्यक्रममा सहभागि भएको भनाइ छ ।
‘महासंघको कावा अध्यक्षको भूमिका रही मैले सहमतिको अधिकतम प्रयास गरे’ उनले भने, ‘सहमति नभएपछि कुनै उम्मेदवारलाई सहयोग गर्न पाउनु मेरो व्यक्तिगत अधिकार हो ।’ महासंघका अध्यक्ष र पूर्वअध्यक्षले सहकारीका भाषण गरिरहँदा कार्यक्रममा एमाले सचिव खगराज अधिकारी, एमाले केन्द्रीय सदस्य खेम लोहनी, नेकपाका सचिवालय सदस्य लिलामणि पोखरेल, नेपाली कांग्रेस केन्द्रीय सदस्य गीता सत्याल लगायतका नेताहरु मञ्चमा थिए ।
त्यसैगरी नेकपा एमालेको पार्टी अनुशासन आयोगका सदस्य पौड्याललाई सहकारी बैंकको संचालकमा जिताउन पार्टीले ह्विप जारी गरेसंगै सहकारीका केन्द्रीय संघ, महासंघका अधिकांश नेता पार्टीको झण्डा बोकेर देश दौडाहमा लागे ।
त्यसैगरी नेफ्स्कूनका अध्यक्ष र संचालक पनि उनीहरुको पछिपछि जिल्ला भेलामा गए र भाषणमा ब्यस्त भए । साथै अधिकांश जिल्ला बचत संघका नेताहरु पनि खुल्लम् खुल्ला पार्टीको झण्डा बोकेर सहकारीको नेता छान्न विभिन्न भेला सम्मेलन आयोजना गरेर भोट मागिरहेका छन् ।
सहकारी बैंकको सातजना संचालक चयन गर्ने क्रममा पुराना तीनदल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाले गठबन्धन गरी ६ वटा प्रदेश तथा लेखा समितिको पद सर्वसम्मतीका नाममा बाँडफाँड गरेका थिए । त्यसैगरी तीनदलले बागमती प्रदेशको संचालकका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा महासंघका संचालक परितोष पौड्याललाई साझा सहमती गरी एमालेले पौड्याललाई जिताउन सर्कुलर नै गरेपछि सहकारी नेता दौडधुपमा लागेका हुन् ।
एमालेको सर्कुलर पछि विभागले विज्ञप्ती जारी गरेको थियो । पौड्यालको उम्मेदवारी विरुद्ध राष्ट्र बैंकमा उजुरी परेपछि सहकारी विभागले विज्ञप्ती समेत निकालेको थियो । तर सहकारी नेताहरुले सवै कुरालाई वेवास्ता गर्दै पार्टीको एकजनालाई भोट मागेर हिडेपछि सहकारीको मर्ममाथि नै प्रहार भएको छ।
Leave a comment