काठमाडौं । पोखराको बुद्ध चोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था २५ औं वर्षमा प्रवेश गरेको छ। संस्था आज (जेठ ८ गते) बाट २५ वर्षमा प्रवेश गरेको हो ।
२०५९ साल जेठ ९ गते २८ जनाको सहभागितामा ७ लाख पूँजी संकलन गरी स्थापित संस्था आजबाट २५औं वर्षमा प्रवेश गरेको हो । यसै अवसरमा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ (मैना) तथा प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङले स्थापना दिवसको अवसरमा सदस्य तथा सरोकारवालामा शुभकामना व्यक्त गरेका छन् ।
२०५५ साल वैशाख ९ गते नेपालभर कार्यक्षेत्र रहनेगरी रोयल सहकारी संस्थाको रुपमा काठमाण्डौमा स्थापना भएको थियो । पछि पोखरामा क्षेत्रीय कार्यालयको रुपमा स्थापना भएको यस संस्था सञ्चालनकै क्रममा क्षेत्रीय एवं शाखा कार्यालयहरुलाई स्थानीयकरण गरी स्वायत्त संस्थाको रुपमा स्थापित भएको हो ।
२०७६ कात्तिक २३ गते १८ औँ वार्षिक साधारण सभाबाट पोखराको शिशुवा महिला बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरी संस्थाको कार्यक्षेत्र कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाभर रहेको छ । संस्था आफ्नो सेवालाई क्यासलेस, चेकलेस र पेपरलेस बनाउने अभियानमा अघि बढेको छ ।
संस्थाको कारोबारलाई सुरक्षित, प्रविधिमैत्री र समयानुकूल बनाउन कोर बैंकिङ प्रविधिलाई अवलम्बन गरिएको, तथ्याङ्कहरुलाई क्लाउड प्रविधिमार्फत सुरक्षित गरिएको, सदस्यहरुका लागि कनेक्ट आईपीएस, ट्याब्लेट बैंकिङ सुविधासमेत उपलब्ध गराइएको संस्थाका मुख्य प्रवन्धक मिलन ढकालले जानकारी दिएकाछन् ।
संस्थाले रोयल स्मार्ट बैंकिङ सेवामार्फत बचत रकमको जानकारी, स्टेटमेन्ट, मोबाइल टपअप, बिल भुक्तानी, ट्रान्सफर, एटीएम र क्यूआर सेवा उपलब्ध गराइएको ढकालले जनाए ।
त्यसैगरी संस्थाले सदस्यहरुलाई शिशुस्याहार राहत, स्वास्थ्योपचार, पेन्सनदेखि किरिया खर्चसम्म उपलब्ध गराउँदै आएको जनाइएको छ। रोयल फाउन्डेसन नामक छुट्टै सहयोगी संस्थामार्फत पनि सहकारी सामाजिक उत्तरदायित्वका गतिविधिहरु सञ्चालनमा रहेको छ ।
रोयल फाउन्डेसनमार्फत साकोसले प्रतिसदस्य १० हजारका दरले मृत्यु राहत र ३ हजारका दरले सुत्केरी स्याहार रकम उपलब्ध गराउँदै आएको मुख्य प्रवन्धक ढकालको भनाइ छ।
सहकारीले सदस्यहरूको दुर्घटना बीमा, रोयल फाउन्डेसनमार्फत ७५ वर्ष उमेर पुगेका ज्येष्ठ सदस्यहरूलाई वार्षिक रुपमा जनही ५ हजारका दरले पेन्सन सेवा उपलध गराउँदै आएको जनाइएको छ।
त्यसैगरी संस्थाले ग्यालेक्सी हस्पिटल, आविष्कार हस्पिटल अर्थोप्लास्टी एन्ड ट्रमा सेन्टर, न्यूरोड पोखरामा युनाइटेड रिफरेन्स ल्याबोरेटरी, लाइफकेयर डाइग्नोस्टिक्स, पद्मश्री हस्पिटल एन्ड एप्लाइड साइन्सेसकाट सदस्यलाई सहुलियतमा सेवा प्रदान गरिरहेको दिइरहेको जनाइएको छ ।
संस्थाले विभिन्न अवसरमा सदस्य र कर्मचारीहरुलाई विभिन्न सम्मान तथा पुरस्कृत गर्दैआएको, सदस्य, बाल बचतकर्ता, सेवाकेन्द्र, बचत समूहको केन्द्रहरू र कर्मचारीलाई कारोबार तथा कार्य सम्पादनको आधारमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ भने प्रत्येक महिना उत्कृष्ट सदस्य घोषणा गरी सम्मान गर्दै आएको छ ।
यस्तै संस्थाले कर्मचारीहरूमा पठन संस्कृति विकास गराउन पुस्तकालयमा अध्ययन अनुसन्धानको संस्कृति पनि बसालेको छ । संस्थाले विकास सेवा डेस्क (बीडीएस डेस्क) स्थापना गरि सदस्यहरुलाई उत्पादनमा जोड्ने, आय आर्जनका बहुबिकल्पहरु उपलब्ध गराउने, उद्यमशीलताका प्रयासहरुमार्फत क्रियाशीलता र रोजगारीका अवसरहरु सृजना गराउने प्रयास भइरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले जानकारी दिए ।
संस्थाको बैशाख मसान्तसम्मको वित्तिय विवरण अनुसार संस्थामा १० हजार ४ सय ४५ जना सदस्य र ९६३ जना ऋणी सदस्य रहेका छन्। संस्थाको कूल सम्पत्ति २ अर्ब ५२ करोड ७२ लाख ९८ हजार रहेको छ ।
१५ करोड ५१ लाख ८६ हजार शेयर पूँजी रहेको संस्थासँग २२ करोड ५२ लाख २७ हजार संस्थागत पूँजी छ । त्यसैगरी १ अर्ब ९२ करोड ७२ लाख ३८ हजार बचत रहेको संस्थाले १ अर्ब ४५ करोड ४१ लाख ४३ हजार ऋण लगानी गरेको छ ।
संस्थाको जगेडा कोषमा २२ करोड ५० लाख ४० हजार र १५ करोड ५४ लाख ३२ हजार अन्य कोषमा रहेको जनाइएको छ । संस्थाका भण्डारडिक, मोहोरिया कास्की र दुलेगौंडा तनहुँमा सेवाकेन्द्र रहेका छन् ।
Leave a comment