चीना थापा । सिता लामिछाने सहकारी अभियानमा परिचित नाम हो । टोल सुधार समितिमा बचत गरेको पैसालाई सहकारीको रुपमा रुपान्तरण गरेपछि लामिछानेको सहकारी यात्रा सुरु भएको थियो । तत्कालिन विराटनगर उपमहानगरपालिका अन्तर्गत टोल सुधार समितिमा बचत गर्ने चलन थियो । रकमको आकार ठूलो हुँदै गएपछि उपमहानगरपालिकाको पहलमा नै सहकारी दर्ता भयो ।
उपमहानगरपालिकाले ५० हजार बराबरको सामान दिएर सहकारी सञ्चालनको लागि पनि सहयोग गरेको थियो । टोलसुधार समितिको रकमलाई सहकारीमा रुपान्तरण गरेको तत्कालिन उपमहानगरपालिका देशभरको पहिलो पनि हो ।
पढाउने सर्त सहित विहे गरेकी लामिछनेको पढ्ने इच्छा माथि सर्त थपिएर एउटा बच्चा भएपछि मात्र पढ्न पाउनेमा टुङ्गिइको थियो । पहिलो सन्तान १० महिनाको भएपछि उनी पढ्न थालिन् । सिमए पास भएपछि म श्रीमान्सँग सिरहामा बस्दै आएको थिए । त्यति नै बेला लोकसेवा खुल्यो । काठमाडौंबाट पढ्दै नपढी लोकसेवाको परिक्षा दिएको थिए पहिलो पटक नै ५० नम्बरमा नाम निस्किएको थियो ।
लामिछानेले विगत सम्झिदै भनिन्, माओवादी द्धन्द्धकालमा काभ्रेको पात्लेखेतमा रहेको हेल्थपोष्टमा इन्चार्जको रुपमा पोष्टिङ भयो । गर्भवती मान्छे जतापनि जंगल, कसरी काम गर्ने भन्ने भयो । त्यहाँका मानिसहरुले पनि डर देखाईदिए । जुनबेला पनि लिन आउँछन् जति बेला नी हिड्नुपर्ने हुन्छ । स्थानीयको कुरा सुनेर श्रीमान् पनि डराउनुभयो, लामिछानेले सम्झिइन् ।
दुई महिनासम्म काम गरेपछि छोरा जन्मियो । त्यसपछि सुत्केरी विदा भयो । विदा सकिए पनि गइन श्रीमान्ले बच्चाको लागि जागिर छाड्न आग्रह गरेपछि सरकारी जागिर पनि त्याग्नुपर्यो । पछि श्रीमान्ले काम पनि गर्न नपर्ने, पैसा पनि कमाउन सकिने भन्दै शेयर मार्केट सिकाईदिए । अहिले पनि उनी शेयर मार्केटमा लागि नै रहेकी छिन् ।
यति मात्र हैन् । यो बीचमा उनी विमारी पनि भईन् । प्यारालाईसिस भयो । अब जीन्दगी सकियो जस्तो उनलाई लाग्यो । पहिलाको जस्तो अवस्था हुने वा होईन भन्ने चिन्ताले उनलाई सतायो । भाग्यबस् उनलाई पुरै ठिक भयो । नयाँ जीवन पाएको अनुभूति भयो । आफूल पाएको नयाँ जीवन समाजसेवामा नै विताउने उनले अठोट गरिन् ।
सामाजिक जीवन विताउने अठोट गरेपनि के गर्ने भन्ने एकिन थिएन् । टोल सुधार समितीमा जोडिएपछि समूहमा उनले राख्ने हिसाव किताव सबैलाई मनपथ्र्यो । त्यसले गर्दा सहकारी स्थापना गर्दा उनलाई कोषाध्यक्ष बनाउने निर्णय भयो । उनलाई पनि सहकारी मार्फत पनि समाजसेवा गर्न सकिन्छ भन्ने लाग्यो र सहकारीकर्मीको रुपमा सक्रिय हुन थालिन् ।
सहकारीको बारेमा सिक्दै गरेकी लामिछानेलाई अवसर पनि धेरै आए । सहकारीकी अध्यक्ष जागिरका कारण नभ्याउने र सचिव पनि व्यस्त भईरहने गर्दा सहकारी सम्वन्धि तालिम गोष्ठीमा उनी नै सहभागि हुन्थिन । जसले गर्दा उनलाई सहकारीको बारेमा जान्न बुझ्न धेरै समय लागेन् । उनी छोटो समयमा नै स्थापित सहकारीकर्मी बनिन् ।
जनमैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नेतृत्व गरिरहेकी लामिछाने बचत तथा ऋण सहकारी संघ मोरङकी सञ्चालक समिति सदस्य हुँदै अहिले उपाध्यक्ष भएर काम गरिरहेकी छिन् । सहकारी अभियानमा लाग्न सहज नभएपनि निरन्तरताले उनलाई सहज बनाएको थियो ।
उनि भन्छिन् ‘क्षमता भएपनि महिलालाई काम गर्न सहज छैन् । खुट्टा तान्न खोज्नेहर धेरै हुन्छन् । जब अघि बढ्न खोजिन्छ बाधा व्यवधान सिर्जना गर्ने पनि उत्तिकै निस्कन्छन्’ । मोरङ क्षेत्रफल ठूलो भएको जिल्ला हो । सहकारीका विभिन्न प्रकृतिका संघहरु छन् ।
कुनै पूर्वी क्षेत्रमा अवस्थित छन् भने कुनै विराटनगर क्षेत्रमा । जिल्ला सहकारी संघ र जिल्ला बहुउदेश्यीय सहकारी संघ विराटनगरमा छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ र कृषि संघ पुर्वी क्षेत्र बेलबारी र सुन्दरहरैचामा अवस्थित छन् । नेतृत्व तहमा पनि त्यही अनुसारको छ ।
जिल्ला बचत संघमा पूर्वी क्षेत्रका सहकारीकर्मीहरुले नेतृत्व गर्दै आएको ईतिहास छ भने विराटनगरमा रहेकामा विराटनगरकै । बचत संघको लामो ईतिहासमा विराटनगरले पहिलो पदाधिकारी पाएको हो । जसको ईतिहास राख्न सफल भईन सिता लामिछाने ।
सदस्य बढी भएपनि निर्णायक तहमा महिला कम
सात बर्षदेखि सहकारी अभियानमा रहेर काम गरेकी लामिछाने भन्छिन्, ‘सहकारीको सदस्यमा महिला बढी छन् । महिलाको नेतृत्वमा रहेका सहकारीहरु सुशासन छ । यो सबैले थाहा पाएकै कुरा हो । सुशासनको कुरा गर्दा पुरुषहरु पनि महिलाले नेतृत्व गरेका सहकारी संस्था या जुनसुकै ठाउँमा सुशासन रहेको बताउँछन् । तर, महिलाको नेतृत्व स्विकार्न तयार हुदैनन् ।’
पुरुष र महिला नै सञ्चालक समितिमा रहेका सहकारीमा मोरङका दुई तीन वटा सहकारीमा मात्र महिलाको नेतृत्व छ । अरु महिलाले मात्र सञ्चालन गरेका सहकारीमा मात्र महिलाको नेतृत्व छ । संघहरुमा महिलाको नेतृत्व कम छ । प्रदेश १ को सुनसरीको बचत संघमा महिला नेतृत्व चयन हुनुभएको छ । अन्य ठाउँमा पुरुष कै नेतृत्व छ ।
महिलामा क्षमता पनि छ । तर, नेतृत्व तहमा पुग्न केले छेकिरहेको छ मलाई नी थाहा छैन् । महिला कोटा अनिवार्य गरेको ठाउँमा मात्र महिलालाई स्थान दिईन्छ । तर, खुल्ला प्रतिपस्र्धामा आउन चाहनेलाई पनि रोक्ने प्रयास गरिन्छ । हामी महिलाको सहभागिता बढी छ त भन्छौं, तर, निर्णायक तहमा महिलाको सहभागिता कम हुँदा पुरुषहरु नै हावी भएको देखिन्छ ।
सहकारी अभियानमा सक्रिय भएर लागेकी लामिछानेलाई अभियानको नेतृत्व महिलाले गरुन भन्ने चाहना छ । त्यो क्षमता महिलामा उनले देखेकी पनि छन् । अब पुरुषहरुले पनि महिलालाई अभियानको नेतृत्वमा सघाउनुपर्ने हुन्छ । अभियानका महिलाहरु पनि एकजुट भएर लाग्नुपर्ने आवश्यकता छ ।
महिलाले महिलालाई नै सहयोग नगर्ने परिपाटी पनि छ । यसबाट महिलाहरु पनि बाहिर निस्कनुपर्छ । जसले गर्दा महिलालाई निर्णायक तहमा पुर्याउन मद्दत गर्छ । नत्र सधैभरी मलिहा कोटामा मात्र सिमित हुनुपर्ने अवस्था आउँछ । ( जिल्ला बचत तथा ऋण सहकारी संघ मोरङकी महिला उपाध्यक्ष सिता तामिछानेसँग गरिएको कुराकानीमा आधारित )
Leave a comment