हाइलाइट

आत्मसन्तुष्टिको लागि सहकारी अभियानमा छु : बराल

आत्मसन्तुष्टिको लागि सहकारी अभियानमा छु : बराल :: Sahakari Akhabar

चीना थापा, विराटनगर । मोरङको बेलबारीमा रहेको दिपज्योति नारी विकास बचत तथा ऋण सहकारी संस्थाकी  अध्यक्ष पार्वती बराललाई सहकारी अभियानमा नचिन्ने सायद कमै होलान् । उनको सहकारी प्रतिको लगाभ र क्रियाशिलता सबैको लागि डाह लाग्दो छ । आफूले पाएको जिम्मेवारी कूशलतापूर्वक निभाउन सक्ने खुवी उनमा छ । तर, यहाँसम्म उनी सजिलै आईपुगेकी भने होईन ।

उनले धेरै अप्ठयारा समय पार गरे आएकी हुन । २०४९ सालको कुरा हो । उनलाई एउटा तालिममा सहभागि हुने अवसर मिल्यो । ‘नारी विकास संघको आयोजनामा भएको दुई दिने तालिम लिन दिपज्योति साकोसकै हालकी व्यवस्थापक गोमा खुलाल र म गयौं’,उनले भनिन्, ‘उक्त दुई दिनको तालिमबाट गोजीमा पैसा राख्यो भने बचत हुँदैन भन्ने ज्ञान पायौँ ।

तालिमबाट फर्केर आएपछि भविष्यको लागि बचत आवश्यक छ भनेर समूहमा २० रुपैया बचत गर्न सुरु गर्यौ ।’ त्यसैबेला सुरु गरेको समूह नै हाल दीपज्योति साकोसको रुपमा बेलबारीमा सञ्चालनमा छ । महिलाहरुले सञ्चालन गरेको सहकारी मध्ये उत्कृष्ट सहकारीको रुपमा परिचित छ।

‘सुरुमा समूह गठन गर्दा धेरै अप्ठेरो भयो । समाजमा महिलाले केही गर्न खोज्दा पोथी बास्यो भन्थे । यीनीहरुको पैसा कस्ले खाईदिने हो भनेर गिज्याउथे’ उनले भनिन् । तर, तर आफुहरुले यस्ता कूराको वास्ता नगरेको र जस्तोसुकै समस्या आएपनि समान गर्दै अगाडि बढेको उनले बताईन ।

बाहिर गएर काम गर्न उनको परिवारको तर्फबाट कुनै रोकतोक थिएन । छोरीको काम देखेर परिवार पनि खुसी थिए । त्यही भएर पनि आफ्नो काममा निरन्तर लागिरहन उनलाई प्रेरणा मिल्यो । समाजमा महिला हिंसाजस्ता घटना भयो भने उनलाई नै सम्झन्छन् धेरैले । त्यसैले पनि परिवारमा छोरीले समाजको हितको लागि काम गरिरहेकी छे भन्ने थियो ।

नारी विकास संघमा जागिरको रुपमा उनले केही समय काम गरिन् । धेरै समय काम गरेर पैसा कमाएपनि उनमा सन्तुष्टि भने थिएन । जागिरे जीवनमा मात्र रहेर हुँदैन, आफैले केहीँ गर्नुपर्छ भन्ने उनको सोँच थियो ।आफ्नो सोँचलाई पुरा गर्न उनले २०६० सालमा जागिरे जीवनबाट विदा लिईन । र आफ्नै पहलमा सुरु गरेको सहकारीलाई प्राथमिकता राखेर काम गर्न थालिन् ।

सहकारीमा जाति भाषा, र्धम, राजनीतिक, सामाजिक भेदभाव हुँदैन आफ्नो पहिचाहन हुन्छ भनेर आत्मसन्तुष्टिको लागि आजसम्म सहकारीमा लागिरहेको छु, उनले भनिन् । जिल्ला सहकारी संघ मोरङको उपाध्यक्ष समेत रहेकी उनलाई सहकारीमा समस्या नभई यसमा लागेका व्यक्तिका कारण समस्या देखिएको बताउँछिन् ।

कुनै पनि संस्था खराब नभई संस्थाका व्यक्ति खराब हुने उनको बुझाई छ । केही खराब व्यक्तिका कारण अहिले सहकारीप्रति नकारात्मक धारणा बनेको उनको भनाई छ । २०४९ सालदेखि सहकारीमा अनवरत रुपमा लागिरहेकी बराल सहकारीमा लागेर आफूलाई कुनै पछुतो नभएको बताउँछिन् ।

संस्थामा शेयर सदस्य, कोषाध्यक्ष हुँदै अध्यक्ष भएर सहकारीलाई अगाडि बढाईरहेकी छिन् । जिल्ला बचत संघमा तीन कार्यकाल सञ्चालक सदस्य र जिल्ला संघमा सदस्य हुँदै अहिले उपाध्यक्ष पदमा रहेर सहकारी अभियानमा सक्रिय रहेर काम गरिरहेकी छिन् । सहकारीका सिद्धान्त मूल्य मान्यतामा रहेर काम गर्ने हो भने सहकारी कहिले पनि नडुब्ने र नविग्रिने कुरामा उनी विश्वस्त छिन् ।

सहकारीमा लागेपछि उनले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्रमण पनि गरेकी छिन् । उनले मलेशिया, सिंगापुर, बंगलादेश, जापन, चिन लगायत भारतका विभिन्न ठाउँ  भ्रमण गरेर महिलाले सञ्चालन गरेका सहकारीको अवलोकन गरेकी छिन् ।

भ्रमणबाट त्यहाँका राम्रा पक्षको अनुशरण गर्दै आफ्नो संस्थाको क्षमता अनुसार व्यवहार पनि लागु गर्दै लगेकीछन् । जसले गर्दा सहकारीलाई अगाडि बढाउन सहयोग पुगिरहेको छ । करोडौंको कारोबार रहेको सहकारीमा उनले सदस्य केन्द्रित भएर काम गरिरहेको बताईन् । सदस्यलाई रोजगारसँग जोड्न सहकारीले हरदम प्रयास गरिरहेको पनि उनले जानकारी दिईन ।



Leave a comment