हाइलाइट

सहकारीको छाँटिने बेला आएकोले अव छाँटिन्छन

सहकारीको छाँटिने बेला आएकोले अव छाँटिन्छन :: Sahakari Akhabar

काठमाडौं । महिलाहरुको वृति बिकासकालागि गाउँ गाउँमा गैरसरकारी संस्थाहरु समुह बनाउन सकृय रहेका थिए । कुरा १९ वर्ष अगाडीको हो । त्यतिबेला ललितपुरको झरुवारासीमा कारितास नेपाल नामको गैरसरकारी संस्थाको प्रवेस भयो । जसले विषेशत महिलाहरुको समुह बनाएर विभिन्न सामाजिक कार्य गथ्र्यो । उक्त समुहमा काठमाडौं बालुवाटारकी छोरी ललितपुरकी बुहारी बनेर पसिन र समुहको नेतृत्व गरिन ।

समुहले महिलाहरुलाई बचत गर्ने बानिको विकास संगसंगै समाजका अति आवश्यकतामा काम गर्नुका साथै महिला हिंसा, घरेलु हिंसाबिरुद्धमा काम गथ्र्यो । समाजका कुरिती कुसंस्कृतिका बिरुद्धमा आवाज उठाउने गथ्र्यो । विषेशगरी समुहले खानेपानीको ब्यवस्थापनकालागि पनि काम गरेको थियो ।

समुहमा प्रति ब्यक्ति २० रुपैयाँ बचत हुन्थ्यो र जम्मा भएको बचत समुहमै लगानी हुन्थ्यो । समुह बढ्दै गयो र बचतको पनि बृद्धि भएपछि समुह सहकारीमा परिणत भयो । समुहले २०६३ सालमा सन्तानेश्वर बचत तथा ऋण सहकारी जन्मायो । जसको नेतृत्व पनि उनै बुहारी शशी खड्काले गरिन र संस्था अगाडी बढाइन् ।

सहकारी स्थापना हुँदा ८५ हजार पूँजी जम्मा भएको थियो । महिलाहरु नियमित बैठक बस्थे, महिना भरी गर्ने कामको लिष्ट बन्थ्यो र त्यही अनुसार काम हुन्थ्यो । संस्थाले महिलालाई नियमित बचत गर्न लगाउँथ्यो अनि महिलालाई स्वरोजगार र ब्यवसायी बनाउन लगानी पनि गथ्र्यो ।

महिला सदस्यले घरको गर्जो टार्न मात्र ऋण लिंदैनथे, उनीहरुले कृषि, पशुपालन तथा रोजगारमूलक ब्यवसायकालागि ऋण लिनेगर्थे । संस्थाले सदस्यको आवश्यकता र क्षमता अनुसारको सिपकालागि तालिमको ब्यवस्था पनि गरिदिने गरेको थियो । समितिका सदस्यलाई सहकारी कसरी संचालन हुन्छ भन्ने ठूलो ज्ञान नभएपनि विभिन्न शिक्षा तालिम लिंदै र दिदै गएपछि संस्था र सदस्य आर्थिक रुपमा बलियो बन्दै गए ।

महिला समुहबाट सहकारीमा परिवर्तन भएपनि महिलाको नेतृत्वमा संस्था रहेपनि सदस्य भने पुरुष पनि बस्न पाउने ब्यवस्था गरिएको थियो । सुरुका १० वर्ष सहकारी संस्था सुशासन युक्त बनाउनमा खर्च भएको संस्थाकी अध्यक्ष खड्का बताउँछिन् ।

८५ हजारबाट सुरु भएको संस्थाले २५ लाखको कारोबार पुग्दा खुसिले गदगद भएको दिन पनि आएको अध्यक्ष खड्काले सुनाइन् । संस्था संगसंगै सदस्यको पनि आर्थिक वृद्धि हुँदै गएपछि कारोबार पनि वृद्धि हुनु स्वभाविकै थियो । संस्थाले गरेको आर्थिक तथा सामाजिक कार्यले संस्था सवल बन्न मद्धत गरेको हो भन्न रुचाउँछिन अध्यक्ष खड्का ।

उनी घरको चुलो चौकाबाट बाहिर निस्कन नचाहने तथा चाहेर पनि निस्कन नपाएका महिलाहरुलाई सहकारीले बाहिर निकालेर स्वतन्त्र रुपमा बाच्न सिकाएको, आर्थिक उपार्जन गर्न उद्यम गर्न सहकारीमार्फत सम्भव भएकोमा दुइमत नभएको उनको भनाइ छ ।

विश्वासको संकट पर्न नदिन सदस्यको मन जित्न नियमितरुपमा थरीथरीका कार्यक्रम संचालन गरेको उनको भनाइ छ । उनी भन्छिन, ‘सहकारी क्षेत्रमा विश्वास कमाउन मै १० वर्ष लगायौं, कमाइको रुपमा समाजको विश्वास आर्जन गरेपछि अहिले त्यही आर्जन गरेको सम्पत्ति नै दिगो सहकारीका रुपमा परिणत भएको छ ।

सदस्यको जन्मका कर्मदेखि मृत्यु संस्कारसम्मका समयमा साथ दिएका छौं, उनले भनिन् । कसैको पेवा बचाइदिएका छौं त कसैको बुढेसकालकालागि जोहो गरइदिएका छौं । कसैको खर्च कटाएर जम्मा गरेको बचाइदिएका छौं ।’ त्यति मात्र हैन, सहकारी अहिले कसैको मनको पिडा पोख्ने चौतारी भएको छ त, कसैको बुढेसकालको पेन्सन बचाउने थैली भएको छ।

मर्दाको मलामी र ज्यूँदाको जन्ती बनेको छ सहकारी । करेशाबारीको तरकारी बेचेर गर्जो टार्ने महिलालाई ब्यवसायी बनाएका छौं । निर्वाहमूखि पशुपालनबाट ब्यवसायीक रुपमा अघि बढाएका छौं, उनले भनिन् । २० रुपैंयाँ बचत गर्नेहरु अहिले एक हजार बचत गर्नेसम्म भएका छन् ।

संस्थाले दिएको ब्यवसायीक तालिम अनुसार नै सदस्य ब्यवसाय गर्नेभएक हुन् । सदस्यले जुन तालिम लिएकाछन् त्यसैलाई ब्यवसाय बनाएका छन् । कति सदस्यले त कृषि ब्यवसायमा उत्कृष्ट काम गरेबापत विभिन्न संघ संस्थाबाट पुरस्कार समेत पाएको उनी बाउँछिन् ।

संस्थाका कूल सदस्यमध्ये ५ सय सदस्य ब्यवसायीक रुपमा नै अघि बढेको अध्यक्ष खड्का बताउँछिन् । साथ साथै संस्थाले रासायनीक मल पनि बिक्री गर्नेगरेको छ । सदस्य सुत्केरी हुँदा दुईहजार पाँच रुपैंयाँ सुत्केरी राहत दिने र बच्चाकालागि बाल बचत योजना संचालन गरिदिने साथै उक्त बच्चाले नागरिकता प्राप्त गरेपछि संस्थाको सदस्यता प्रदान गर्ने गरेको उनले बताइन्।

सदस्यको मृत्यु भएमा परिवारलाई सदगत खर्चबापत १० हजार प्रदान गर्नेगरेको छ । प्रत्येक वर्ष नारी दिवस, बाताबरण दिवसजस्ता अवसरमा रक्तदानलगायतका विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिएको छ । संस्थाले जेष्ठ सदस्य सम्मान तथा तिर्थ भ्रमण, निशुल्क स्वास्थ्य परिक्षण, पोषण बितरण नियमितरुपमा गर्नेगरेको छ।

महिला सदस्यकालागि पनि निशूल्क स्वास्थ्य परिक्षण तथा शिविरहरु संचालनका साथै विविध सामाजिक कार्यक्रमलाई निरन्तरता दिएको छ । सदस्यका छोरा छोरीलाई छात्रवृति प्रदान, सदस्यको पानीको बिल तिरिदिने ब्यवस्था, रेमिटेन्स सुविधा संस्थाले दिंदैआएको छ ।

स्थानीय तहसंगको सहकार्यमा विभिन्न सिपमूलक तालिम, सदस्यलाई निब्र्याजी आकस्मिक ऋण प्रदान गर्दैआएको छ । नियमित मसिक रुपमा सदस्य शिक्षा कार्यक्रम, सदस्यको सुविधाकालागि रेमिटेन्स, मोबाइल बैंकिङ सेवा पनि दिएको छ । संस्था एकिकरण गरिएपछि अहिले सन्तानेश्वर नौधारा बचत तथा ऋण सहकारी भएको छ।

वर्तमान समयमा सदस्यले बचतमा बढी ब्याजको अपेक्षा गरेको पाइन्छ भने संगसंगै बचतको सुरक्षाको प्रत्याभूति पनि खोजेको अध्यक्ष खड्का बताउँछिन् । सदस्य र सहकारी बिच पारिवारिक सम्वन्ध रहनुपर्ने उनको भनाई छ। सहकारीले समयमै र नियमित रुपमा साधारण सभाजस्ता कार्य गर्नुपर्ने उनले बताइन् ।

संस्थाले १०  हजारदेखि ७० लाखसम्म सदस्यलाई धितोमा लगानी गरेको जनाइन् । अहिले सवै सहकारीमा नभएर केहीमा आएको समस्या भएकोले सवैलाई एउटै नजरले हेर्ने र ब्यवहार गर्न हुने उनको तर्क छ । उनी भन्छिन्, ‘सवै सहकारी समस्यामा छैनन्, सहकारीको मर्म र धर्म अनुसार काम नगर्दा अहिलेको अवस्था आएको हो, यो छाँटिने बेला आएकोले छाटिन्छन् पनि, राम्रा र नराम्रा सहकारी छुट्टिन्छन् ।

समुदायमा आधारित भएर संचालन भएका सहकारीले आफू सहकारी हौँ भनेर प्रमाणित गर्ने र नियत खराव भएका सहकारी पलाएन हुने समय आएको हो ।’  सहकारीको योगदान धेरै ठूलो भएपनि नीतिगत रुपमा बलियो बनाउन पहल गर्नुपर्ने उनको धारणा छ । सहकारीलाई ब्यक्तिगत फाइदाकालागि प्रयोग भएको तर अभियान राम्रो बनाउने काम नभएको उनको भनाइ छ ।

सहकारी समाजको आवश्यकता अनुसार आएको हुनाले सदस्यले राम्रा र खराब सहकारी छुट्याउनु पर्ने उनको धारणा छ । सहकारीलाई बचाउने, सहकारीप्रति आम मानिसको गलत बुझाइलाई चिरफार गर्ने अभियानका नेतृत्वको दायित्व भएको उनको बुझाइ छ । उनी भन्छिन्, ‘हुन त अभियानको नेतृत्व यसप्रति सचेत भएर आफ्नो ढंगले लागिरहेकै होला, तर हामीले प्रारम्भिक तहबाट काम भएको अनुभूति गर्न पाएका छैनौँ ।’

८५ हजार पूँजीबाट सहकारी सुरु गरेको संस्थाले जेठ मसान्तसम्म ७१ करोड कूल कारोबार गरेको छ । ३ हजार ७८० जना सदस्य र बाल बचतकर्ता ९८० जना रहेको संस्थाको शेयर पूँजी ५ करोड ३५ लाख २२ हजार ६०० रुपैंयाँ र बचत ५३ करोड ८१ लाख ४९ हजार ३०१ रुपैंयाँ रहेको संस्थाकी ब्यवस्थापक गायत्री खत्रीले जानकारी दिइन । उनले संस्थाको कोषमा ५ करोड ८८ लाख ५९ हजार ५९७ तथा ऋण लगानी ५३ करोड ८१ लाख ४९ हजार ३०१ रहेको संस्थामा ९९ प्रतिशत महिला कर्मचारी रहेको ब्यवस्थापक खत्रीले बताइन् ।



Leave a comment