सहरी गरिबीलाई न्यूनिकरण गर्न स्थापना भएको पाँचताराका १७ वर्ष

सहरी गरिबीलाई न्यूनिकरण गर्न स्थापना भएको पाँचताराका १७ वर्ष :: Sahakari Akhabar

काठमाडौं । गरिबी गाउँमा मात्र हैन, सहरमा झनै बिकराल छ । ग्रामिण गरिबी देखिने सत्य हो भने सहरी गरिबी लुकेको सत्य । गरिबी उपमाबाट पार पाउन सहर छिरेकाहरुको सपना साकार बनाउन कुनै एकजनाको प्रयासले सम्भव छैन । यसकोलागि सामाजिक संस्था नै उक्तम माध्याम हो ।

त्यसैले समुह मार्फत स्थापना गरिन्थे सहकारी संस्था । त्यसैले भनिएको होला, हुँदा खानेहरुकालागि हो सहकारी । सहकारी संस्था मार्फत बचत गर्ने बानि बसाल्दै समुदायका मानिसलाई गरिबीबाट उन्मुक्तिको पहिलो खुट्किलो चढ्न सिकाउँछ सहकारीले । किनकी गरिबीबाट माथि उठ्ने पहिलो प्रयास भनेको नै बचतको बानि बसाल्नु हो ।

यही अवधारणमा २०६४ साल चैत २० गते राष्ट्रिय सहकारी दिवसकै दिन तत्कालिन डिभिजन सहकारी कार्यालय काठमाण्डौंमा दर्ता भएको थियो पाँच तारा बचत तथा ऋण सहकारी संस्था । समाजमा छरिएर रहेको पूँजीलाई बचत गर्न प्रोत्साहित गर्दै सहरी गरिबीको भयावह अवस्थालाई न्यूनिकरण गर्न लगानीको माध्यमबाट योगदान गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको थियो ।

“बचत गर्नु राम्रो पाँच तारामा गर्नु झनै राम्रो” भन्ने नाराका साथ संस्थाले २०६५ साल बैशाख १ गतेबाट कार्यारम्भ गरेको थियो । विभिन्न पेशा ब्यवसायमा आवद्ध भएका तथा पेशा व्यवसाय गरि आत्मनिर्भर हुन चाहने ब्यक्ति तथा समुदायहरुलाई ऐक्यवद्ध गर्दै, सबै बर्ग, उमेर र पेशामा आवद्ध व्यक्तिहरुलाई नियमित बचत गर्ने बानीको बिकास गर्दै लैजाने उद्देश्य लिएको संस्थाले १७ वर्ष पुरा गरेको छ।

सदस्यहरुको सामाजिक, आर्थिक पाटोमा उन्नती गर्दै समुदायमा आधारीत मजबुत सहकारी संस्थाको रुपमा बिकास भएको पाँचतारा सहकारी संस्था आज २ हजार १७४ जना सदस्य र समुदायको साँच्चै नै भाग्यतारा बनेको छ ।

बैंक तथा बित्तिय संस्थासम्म सरल पँहुच नभएका तर आर्थिक अवस्था सुधारमा प्रयास गरिरहने समुदायका मानिसहरुबाट ससाना बचत रकमलाई संकलन गरी सामुहिक पूँजीको निर्माण गरी संस्था आज सदस्यहरुको आर्थिक र सामाजिक अवस्थामा सुधार गर्दै १ अर्व ४ करोड ४३ लाख कूल पूँजी निर्माण गर्न सफल भएको छ ।

बढ्दो बेरोजगारीलाई न्युनीकरण गर्न शेयर सदस्यहरुलाई स्वदेशमै स्वरोजगारको लागि आवश्यक ऋण प्रदान गर्ने र सदस्यहरुको व्यक्तिगत क्षमता विकास तथा उनीहरुको उत्पादन, व्यवसाय र पेशाको लागि बचत परिचालन गर्ने लक्ष्य लिएको संस्थाले ६९ करोड ५१ लाख ९२ हजार लगानी गरेको छ ।

संस्थामा संलग्न सदस्यहरुबीच स्वावलम्वन, पारस्परिक सहयोग एवं मितब्ययिता अभिवृद्धि गरि नियमित बचत गर्ने बानी बसाउने उद्धेश्य लिएको संस्थामा पछिल्लो समय ५७ करोड ६२ लाख ५२ हजार बचत र ८ करोड ३० लाख ६८ हजार शेयर पूँजी रहेको छ ।

सदस्यहरुको श्रम, सीप, साधन र पूँजीलाई एकत्रित गरी सदस्यहरुलाई आयआर्जनको क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्ने उद्धेश्य लिएको संस्थाले बिभिन्न तह र स्तरका सहकारी र गैह्रसहकारी संघ संस्थाहरु संग समन्वय गर्दै सदस्यहरु बीच आधुनिक तवरले बित्तिय तथा गैह्र वित्तिय सेवा प्रवाह गरिरहेको छ । सदस्यहरुको व्यक्तिगत क्षमता विकास तथा सदस्यको पेशा बढोत्तरीको लागि निरन्तर बचत परिचालन गरिरहेको छ।

संस्थाका सामाजिक कर्म

संस्थाले सदस्यहरुको आवश्यकतालाई मध्यनजर गर्दै बित्तिय सेवाका साथै समुदायमा विभिन्न सामाजिक कर्म पनि गर्दैआएको संस्थाका अध्यक्ष भोलानाथ पाठक बताउँछन् । संस्थाले सदस्यहरुलाई नियमितरुपमा स्वास्थ्य उपचारमा सहयोग, तीज विशेष जस्ता महिला सशक्तिकरण कार्यक्रम संचालन गर्दैआएको छ।

त्यसैगरी संस्थाका संचालक, लेखा सुपरीवेक्षण समिति तथा कर्मचारीहरुको लागि उत्प्रेरणात्मक कार्यक्रम नियमितरुपमा सञ्चालन गर्दैआएको छ । संस्कृति जगेर्णाकालागि पाँच तारा देउसी भैलो, तिज पर्वजस्ता कार्यक्रम नियमित रुपमा गर्नेगरेको छ । यसैगरी संस्थाले जेष्ठ सदस्यहरुको लागि सहकारी अध्ययन अवलोकन तथा विभिन्न धार्मिक स्थल तिर्थाटन कार्यक्रम, समेत गर्दैआएको छ।

त्यसैगरी संस्थाले यो वर्ष ५६ जना सदस्यहरुलाई पेन्सन बितरण, ७० वर्षभन्दा माथिका सदस्यहरुलाई दर्शै भत्ता बितरण गर्ने गरेको छ । त्यसैगरी बाल बचतकर्ता सदस्यलाई निशुल्क खुत्रुके बितरण, बृद्धाश्रममा सहयोग जस्ता संस्थाका नियमित कार्य रहेका छन् ।

सदस्यको मृत्युमा श्रद्धाञ्जली, किरियापुत्री भवन निर्माणमा सहयोग, स्थानीय चौतारी निर्माण, साँस्कृतिक कार्यक्रम सञ्चालनमा सहयोग, खेलकुद (फुटसल प्रतियोगिता) सञ्चालन, रक्तदान कार्यक्रमको आयोजनाका साथै संस्थाले हरेक वर्ष पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान गर्नेगरेको छ ।

स्थापना दिवसमा आयोजित कार्यक्रमहरुः

संस्थाले १७ औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु गरेर मनाएको छ । यसमा रक्तदान, सदस्यहरुलाई चकलेट बितरण, उत्प्रेरणात्मक कार्यक्रम, गणेशमान स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेष्ठ नागरिक सदस्यको निशुल्क स्वास्थ्य परीक्षण, फुटसल खेल तथा सरसफाई कार्यक्रमका साथै जेष्ठ नागरिकलाई राहत बितरण गरेको छ ।

त्यसैगरी यसै अवसरमा संस्थाले रक्तदान कार्यक्रम, वृक्षारोपण र सहकारी अन्तरक्रिया कार्यक्रम समेत संचालन गरेको छ । संस्थाले विभिन्न उपसमिति बनाएर बार्षिक रुपमा सदस्य हितका काम गर्नेगरेको छ । संस्थामा हाल संचालक समितिका साथै महिला उपसमिति, कर्मचारी व्यवस्थापन उपसमिति, शिक्षा उपसमिति, जेष्ठ नागरिक उपसमिति, युवा उपसमितिलगायतका उपसमितिहरु रहेका छन् ।



Leave a comment