चीना थापा, विराटनगर । विराटनगर १६ की सुनाहाङ सुब्बा लिम्बु जागरुक बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन । २०६५ सालदेखि सञ्चालनमा रहेको सहकारीको नेतृत्व गरिरहेकी लिम्बु अविवाहित हुन् ।
५५ बर्षिया लिम्बूले सानै उमेरदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएकी हुन् । विशेष गरी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी उनले शिशुस्यार केन्द्र देखि साक्षरता अभियानमा काम गरिन् । बालकालिकालाई पढाउन विभिन्न संस्था मार्फत भारतको विभिन्न ठाउँमा पनि पुगिन् ।
बालमैत्री वातावरण सिर्जना गर्ने र बालबालिकालाई कसरी सबै कुरामा अब्बल बनाउने विषयमा केन्द्रित रहेर काम गर्न रुचाउने उनले बाल शिक्षकको रुपमा काम गरेको लामो अनुभव छ । बालबालिका, किशोर किशोरी, महिला शसक्तिकरण तथा अपाङ्गता क्षेत्रमा काम गरेको लिम्बुसंग लामो अनुभव छ ।
‘सामाजिक क्षेत्रमा भएको व्यस्थता र घरपरिवारमा घटेको घटनाले बिहे गर्ने सोच नै आएन्’, उनले भनिन्, ‘भाईबुहारीको मृत्यु पश्चात साना साना भदाहरु हुर्काउनु नै मेरो जिम्मेवारी ठाने र यता काममा पनि सँधै व्यस्त भए, त्यसकारण पनि विहे भन्ने कुरा सोच्ने फुर्सद पनि भएन’ ।
उनले भारतको सिक्किममा नर्सको काम पनि गरिन् । सानै उमेर देखि पढ्दै काम पनि गर्दै सामाजिक क्षेत्रमा रमाईरहेकी लिम्बू सहकारीको अध्यक्ष बनिन् । सामाजिक क्षेत्रमा काम गरिरहेका स्थानीय युवाहरु मिलेर मासिक २० रुपैया बचत गर्ने उदेश्यले लिम्बूको अध्यक्षतामा जागरुक साकोस स्थापना भएको हो । सामाजिक क्षेत्रमा काम गरिरहेकी लिम्बूलाई सहकारीको बारेमा भने ज्ञान थिएन ।
उनी सहकारीको अध्यक्ष भएपनि बालबालिकालाई पढाउन छाडेकी थिईनन् । विहान बेलुका सहकारीमा जान्थिन र दिउसो आफ्नै काममा । ‘सहकारीको अध्यक्ष भईयो, तर म बैठक तथा विहान बेलुका हस्ताक्षर गर्न जान्थे’, उनले भनिन्, ‘केही बर्ष यसरी नै वित्यो, पछि सबैले सहकारीमा नै समय दिनुपर्यो भनेपछि अरु सबै काम छाडिदिए’ ।
सुरुमा आफूलाई सहकारीको बारेमा केही थाहा नभएको उनले भनिन्, ‘म सहकारीको बारेमा अनविज्ञ थिए । नाफा नोक्सान कसरी निकाल्ने थाहा थिएन । कसरी ब्यालेन्ससिट बनाउने थाहा थिएन । पछि सबै कुरा सिक्दै गए । मलाई सहकारीमा भिज्न धेरै समय लाग्यो’ ।
सहकारीलाई स्थापित गराउनका लागि सुरुमा निकै संघर्ष गर्नुपरेको उनले सुनाईन । ‘सदस्य बढाउनको लागि धेरै ठाउँ पैदल हिडेर घरदैलो अभियान सञ्चालन गर्यौ’, लिम्बूले भनिन्, ‘त्यति मात्र हैन्, क्यालेन्डर छापेर दिने र खाता खोल्दिने भनेर २० रुपैया लिएर पनि सदस्य बढाएका थियौं ।’
‘सुरुमा सहकारीप्रति सबैको विश्वास थियो, जागरुक सहकारीले मात्र ३० / ३५ वटा समूह बनाएर काम गरिरहेको थियो’,उनले भनिन्, ‘१ हजार ऋण लगेर दिदीबहिनीहरुले सेल पकाएर बेच्ने, चिया बेच्ने अन्य साना साना व्यवसाय गरेर राम्रो आम्दानी गर्नुहुन्थ्यो । समयमा ऋण पनि तिर्नुहुन्थ्यो । ऋण लगेको पैसा आम्दानी हुने ठाउँमा खर्च गर्नुहुन्थ्यो’ ।
‘पछि लघुवित्त धेरै भएपछि सहकारीका समूह हट्दै गए । अहिले सहकारी पनि व्यवसायिक हुन थाले । सदस्यहरु पनि परिवर्तन भए । लगेको ऋण मनपरी खर्च गर्ने, समयमा नतिर्ने । थोरै ऋण नलाने । पहिलाको जस्तो इमान्दारिता कम हुँदै गएको अवस्था छ । यसले गर्दा पनि सहकारी क्षेत्रमा समस्या देखिएको छ’, उनले भनिन् ।
कम बोल्ने स्वभावकी लिम्बू काममा नै फोकस गर्नुपर्छ भन्ने मान्यता राख्छिन् । ‘म काममा बढी फोकस हुन्छु, बोल्नुभन्दा नी आफ्नो जिम्मेवारीको काम कुशलतापूर्वक गरेर देखाउनुपर्छ भन्ने मेरो मान्यता हो’, उनले भनिन्, ‘कम बोल्ने बानीले गर्दा अहिले आफू पछि परेको महशुस भएको छ ।
कम बोल्ने बानी सुधार्न नसकेकोमा मलाई पछुतो लागेको छ ।’ सानो लगानीबाट सुरु भएको सहकारीलाई १० करोड भन्दा बढीको कारोबार गर्नेसम्मको पुर्याउदा गरेको मेहनत सम्झदै राईले शुन्यबाट नेतृत्व गरेपनि धेरै कुरा सिकेको बताईन । ‘काम गरेर मात्र नहुने रहेछ । त्यसलाई बोलेर देखाउनुपर्ने पनि रहेछ । नबोली र हल्ला नगरी गरेको कामलाई त काम नै नमान्ने प्रवृति छ ।
सहकारीको नेतृत्व गरेको यतीका बर्ष पछि बल्ल थाहा पाउँदैछु’ । सहकारीको नेतृत्व गर्ने यो अन्तिम कार्यकाल रहेको बताउँदै उनले भनिन्, ‘सहकारीको बारेमा बल्ल राम्रोसँग बुझेँ तर, नेतृत्व सकिन लाग्यो, यो मेरो अन्तिम कार्यकाल हुनेछ’ । यदि सहज वातावरण बन्यो र सबैको साथ सहयोग भयो भने सहकारीकर्मीबाट सहकारी अभियन्ता बन्ने उनको चाहना छ ।
Leave a comment