हाइलाइट

तरलतालाई प्रतिशतमा मात्र हेरेर पुग्दैन 

तरलतालाई प्रतिशतमा मात्र हेरेर पुग्दैन  :: Sahakari Akhabar

रलता लाई प्रतिशतमा मात्र हेरेर पुग्दैन, उदाहरणको लागि कुनै १ अर्बको संस्थामा २० प्रतिशत तरलता छ भन्नुको मतलब त्यहाँ २० करोड बैंक वित्तीय संस्थामा निकाल्न योग्य रकम छ भन्ने बुझिन्छ । तर त्यहि संस्थामा एकै जना सदस्यको २० करोड निक्षेप रहेछ र उक्त सदस्यले निक्षेप भुक्तानी लिने निर्णय गर्यो भने प्रतिशतले काम गर्छ र ? त्यसैले यसको गुणात्मक विश्लेषण हुनु जरुरी छ।

तरलता कायम गर्न सहकारी बैंक र नेफ्स्कूनसंग अल्पकालिन ऋण लिएर तरलता देखाउने गरेको पनि पार्ईएको छ । अन्य संस्थाबाट अन्तर सहकारी सापटी लिएर र बजारमा भएका मिटरब्याजी व्यक्तिहरुसंग सापटी लिएर पनि तरलता कायम गरि कृतिम वासलात तयार गरेको पनि सुनिन्छ ।

सहकारी बैंक र नेफ्स्कूनबाट ऋण लिई संस्थामा रहेको कुल निक्षेप भन्दा बढी कर्जा लगानी गर्ने र त्यो पनि जोखिम युक्त क्षेत्रमा विविधिकरण नगरिकन एउटै व्यक्ति विशेषलाई विभिन्न प्रभावहरुबाट प्रभावित भई कर्जा लगानी गरेको पनि पाईन्छ । प्रारम्भिक संस्थाको तरलता सहकारी बैंकमा अनि सहकारी बैंकको तरलता बैंक वित्तीय संस्थामा कायम भएको हुन्छ ।

यसरी हेर्दा सदस्यहरुले वित्तीय प्रणालीबाट रकम निकाले भने त्यसको चेन ईफेक्ट वाणिज्य बैंक सम्मनै पुग्ने गर्दछ । साथै बहुउद्धेश्यीय संस्थाहरुले सहकारी ऐन २०७४ को दफा ५० को प्रावधान विपरित बचत तथा ऋणको कारोवार गर्ने र बहुउद्धेश्यीय स्विकृतिको आधारमा बचतको रकम स्पष्ट मापदण्ड र योजना बिना संस्थाको स्वामित्व कायम नदेखिने विभिन्न कम्पनी खडागरि परियोजनाहरुमा लगानी गर्ने कार्यले पनि समस्यामा परेको सुन्नमा आएको छ ।

अर्कोतर्फ बैंक वित्तीय संस्थाका खराब ऋणीहरु सहकारीमा ऋण कारोवार गर्ने, एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिने, ऋण लिएर घरजग्गा तथा शेयर जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने र देखासेखि उपभोगमा खर्च गर्ने। आफ्नो घाँटी हेरि हाड निल्ने प्रयास गर्नुपर्नेमा बैंक वित्तीय संस्थाका कर्मचारीहरुको टार्गेट प्रेसरको आधारमा आफ्नो क्षमता मुल्यांकन नगरी कर्जा प्रयोग गर्ने प्रवृत्तिले गर्दा व्यक्तिगत रुपमा समस्या आएको पाईएको छ ।

आर्थिक मन्दीको कारण व्यापार व्यवसायको सर्कुलेसनमा कमी आउँदा आयस्तर पनि खस्किएको कारण र ब्याजदर वृद्धिले निक्षेपकर्तालाई फाईदा देखिए तापनि उक्त निक्षेप उपभोग गर्ने ऋणीहरुले पहिलाको अनुमान भन्दा बढी ब्याज बुझाउनुपर्ने अवस्था विद्यमान भएकोले ऋणीको भुक्तानी क्षमतामा ह्रास आएको छ ।

साथै नियामक निकायहरुको अस्थिर नितीहरुले समग्रमा अर्थतन्त्रको बजार विश्वसनीयतामा ह्रास आई अहिलेको अवस्था सिर्जना भएको भन्ने लाग्दछ । अहिलेको समस्या सहकारी विशेषको मात्र हो भनेर बुझ्नु गलत हुन्छ  । यो समग्र अर्थतन्त्रको समस्या हो । जसको असर अर्थतन्त्रका सबै क्षेत्रमा धेर थोर पर्दछ, जसरी कोभिडको समयमा परेको थियो ।

त्यसैले आजको दिनमा सदस्यहरु लाई पनि संस्था आफ्नै हो भन्ने भावनाको विकास गर्न आवश्यक शिक्षा तथा तालिमको व्यवस्था गर्ने, सञ्चालक र कर्मचारीहरुलाई सदस्यप्रति उत्तरदायी बनाउन नियामकीय निर्देशनहरुको परिपालना गर्ने तर्फ अग्रसर गराउन सकेमा यस क्षेत्रले विश्वसनीयता कायम गर्ने देखिन्छ ।



Leave a comment