बागलुङ । सयौंं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ बागलुङले जिल्ला कारागार कार्यालय बागलुङका कैदीबन्दीका लागि खेलकुद सामग्री र महिलाका लागि प्याड सहयोग गरेको छ ।
जिल्ला सहकारी संघ बागलुङले आदर्श सञ्चार सहकारी संस्था, गुहेली सञ्चार सहकारी संस्था, कालिका महिला विकास सहकारी संस्था, महिलाहित बचत तथा ऋण सहकारी संस्था र सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्थासँगको सहकार्यमा सामग्री हस्तान्तरण गरिएको हो ।
कैदीबन्दीका लागि भलिवल, नेट, क्यारमबोर्ड लगायत खेलकुद सामग्री र महिला बन्दीका लागि प्याड सहयोग गरिएको संघले जनाएको छ ।
कारागार कार्यालयका प्रमुख दिलबहादुर केसीलाई जिल्ला सहकारी संघका उपाध्यक्ष पिंगला खड्का जिसी, सल्लाहकार रामबहादुर जिसी र दिपक गौतमले खेलकुद सामग्री हस्तान्तरण गरे ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संघका सल्लाहकार रामबहादुर जिसी, संघका सल्लाहकार दिपक गौतम, कारागार कार्यालयका प्रमुख दिलबहादुर केसीले सहकारीको अन्तर्राष्ट्रिय दिवस र अभियानकातर्फबाट भएका कार्यबारेमा जानकारी गराए ।
जिल्ला सहकारी संघ बागलुङका उपाध्यक्ष पिंगला खड्का जिसीको अध्यक्षता, सञ्चालक खिमबहादुर कार्कीको स्वागत र सञ्चालक जगन्नाथ सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ कारागारमा १ सय ७३ जना पुरुष र १० जना महिलाबन्दी रहेका छन् । महिलाबन्दीगृहमा ३ जनाबालबालिका रहेको कारागार प्रमुख केसीले जानकारी दिए ।
Leave a comment