नेपालमा सहकारी क्षेत्रको प्रभाव बिस्तार र सफलताका लागि महिलाहरूको पनि उत्तिकै योगदान छ । किनभने पारदर्शिता, लगनशीलता, अनुशासन र जिम्मेवारी बोध महिलाका पर्यायवाची शब्द हुन् । उनीहरू आफ्नो पेसा र दायित्व प्रति पूर्ण इमानदार हुन्छन् ।
चीना थापा, विराटनगर । तारादेवी राई मोरङको बुढीगंगा गाउँपालिकामा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष हुन । उनी अघिल्लो संविधान सभा सदस्य पनि हुन । विगत तीन दशकदेखि सहकारीमा रहेर काम गरेकी उनले सहकारीको क्षेत्रमा धेरै योगदान दिएकी छिन् । महिलाहरूलाई सहकारी संस्थाको माध्यमबाट सबल र सक्षम बनाउनमा उनको योगदान उच्च छ ।
महिलाहरूलाई सहकारी संस्थामा आबद्ध गराएर बचत गर्ने बानी बसाल्न सजिलो थिएन । पुरुषहरू हाम्रो घर बिगार्न आएको भन्ने आरोप लगाउँथे । आर्थिक रूपमा कमजोर भएका कारण पनि महिलाहरू बचत गर्न डराउँथे । घरभित्रको काममा सीमित महिलाहरू बचत गर्नका लागि पनि श्रीमान्को नै भर पर्नुपर्दा कसरी बचत गर्ने भन्ने चिन्तामा हुन्थे ।
महिलाहरूको समस्या र बाध्यता सबै बुझेकी राईले आफ्नो ठाउँका सबै महिलाहरूलाई सहकारीमा आबद्ध गराएर आर्थिक रूपमा सक्षम बनाउन लागिन् । सहकारीमा बचत गर्नेदेखि ऋण लिएर विभिन्न व्यवसाय गर्न महिलाहरू सक्षम भए ।
अहिले त्यो अवस्था छैन । महिलाले मात्र सञ्चालन गरेको राजसति सहकारी बुढीगंगा गाउँपालिकाको सबैभन्दा ठुलो र उत्कृष्ट सहकारी हो । उक्त सहकारीले हरेक सदस्यको आर्थिक क्षमता बढाएको छ । सहकारीमा ९ सयभन्दा बढी सदस्य छन् ।
महिलाले मात्र सञ्चालन गरेको सहकारीमा समस्या पनि आउँदैन । जति पुरुषहरूले सञ्चालन गरेको सहकारीमा आउँछ । सहकारी संस्थाले नै राईलाई जीवनमा आमूल परिवर्तन गरेको छ । उहाँको सहकारीमा महिलाको सक्रियता र सहभागिता रहरलाग्दो छ ।
त्यसै गरी पार्वता बराल २०५८ सालमा नारी विकास सङ्घबाट प्रवर्धित भएर स्थापना भएको दिपज्योती नारी विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुन । उनलाई सहकारीले नै समाजमा स्थापित गराएको छ । ३० जनाबाट सुरु गरिएको सो संस्थामा हाल २५ सयको हाराहारीमा महिला सदस्य छन् ।
उनीले त्यस संस्थाको नेतृत्व समालेकी छिन् । हजारौँ महिलाका समस्यामा भरपर्दो सहयोगीका रूपमा उनी र उनले नेतृत्व गरेको संस्था आज स्थापित छ । संस्थाकै कारण उनी आज जिल्ला सहकारी सङ्घको उपाध्यक्ष पनि छिन् । सहकारी अभियानको कुशल नेतृका रूपमा पनि स्थापित छिन् ।
राई र पार्वता त एउटा उदाहरण मात्र हुन । नेपाली समाजमा उहाँहरू जस्ता धेरै महिलाहरू आज विभिन्न क्षेत्रमा नेतृत्व समालिरहेका छन् । २५ वर्ष अघि सम्म मुलुकको राजनीतिक, सामाजिक, आर्थिक लगायतको क्षेत्रमा महिलाको उपस्थिति अत्यन्तै न्यून थियो । अझ निर्णायक र नेतृत्व तहमा त झनै महिला सहभागिता नगन्य नै थियो ।
अहिले महिलाहरूको सहभागिता, पहुँच र जागरणमा केही परिवर्तन आएको छ । महिलाको नेतृत्व हरेक क्षेत्रमा बढेको छ । सहकारीमा सबैभन्दा धेरै महिलाको सहभागिता बढेको छ । सहकारीमा महिलाको सहभागिता बढेसँगै महिलाको क्षमता विकासमा समेत सहकारी संस्थाले महत्त्वपूर्ण योगदान गरिरहेका छन् ।
रेमिट्यान्सले चलेका घरहरू पनि रेमिट्यान्सको रकम सहकारी मार्फत नै प्रयोगमा आई रहनुले पनि सहकारी संस्था महिलाहरूका लागि दैनिक जीवनको नजिकको साथीको रूपमा परिणत हुँदै गएको छ । एकै पटक ठुलो पुँजी जम्मा गर्न नसक्नेहरूका लागि त सहकारी संस्था वरदान नै साबित भएका छन्
पछिल्लो तथ्याङ्क अनुसार मोरङमा १ हजार ८५ वटा सहकारी संस्था छन् । त्यसमध्ये १ सय भन्दा बढी सहकारी संस्था महिलाले मात्र सञ्चालन गरेका छन् । मोरङमा सहकारीमा आबद्ध ४ लाख १५ हजार ६ सय सदस्य छन् । त्यसमध्ये ५३ प्रतिशत महिलाको सहभागिता रहेको छ ।
महिलाले मात्र सञ्चालन गरेको सहकारी बढी व्यवस्थित र आर्थिक पारदर्शी हुने गरेको छ । अहिलेसम्म जिल्लामा महिलाले मात्र सञ्चालन गरेको सहकारीमा कुनै समस्या देखिएको छैन । जसरी पुरुष सहभागिता रहेको सहकारी संस्थामा आर्थिक हिनामिना लगायतका विभिन्न समस्याहरू आउने गरेका छन् ।
महिलाहरूले सहकारी संस्था सञ्चालन गर्न थाले पछि उनीहरूमा नेतृत्व क्षमताको समेत विकास भएको छ भने सामाजिक गतिविधिमा पनि महिलाहरूको क्रियाशीलता बढेर गएको छ । आर्थिक सबलता नभई परिवारको संरचनामा महिलाहरूले भूमिका खेल्न असजिलो हुने हाम्रो समाजमा सहकारी संस्थाका माध्यमबाट महिलाले आय आर्जनको बाटोलाई फराकिलो बनाउँदै लगेका छन् ।
रेमिट्यान्सले चलेका घरहरू पनि रेमिट्यान्सको रकम सहकारी मार्फत नै प्रयोगमा आई रहनुले पनि सहकारी संस्था महिलाहरूका लागि दैनिक जीवनको नजिकको साथीको रूपमा परिणत हुँदै गएको छ । एकै पटक ठुलो पुँजी जम्मा गर्न नसक्नेहरूका लागि त सहकारी संस्था वरदान नै साबित भएका छन् भने सामाजिक संरचनामा पुरुष कै दबदबा रहे पनि ऋण लगानी गर्ने सन्दर्भमा भने महिलाका नाममा लगानी गर्न सहकारी संस्थाहरूले बढी विश्वास गरेको यथार्थ पनि देखिन्छ ।
महिलाको नाममा लगानी गरेको ऋण सजिलै असुली हुने भएकाले पनि महिलाहरूलाई नै ऋण दिन सहज हुने सहकारकर्मीहरू सुनाउँछन् । आर्थिक पारदर्शिताका हिसाबले पनि महिलाहरू अगाडि देखिन्छन् । समग्रमा ग्रामीण भेगको आर्थिक कारोबारमा ठुलो हिस्सा ओगटेको सहकारी संस्थाहरूले सिप सिकाएर महिलाहरूलाई स्वरोजगार बनाउन समेत आफ्नो उपस्थिति देखाएको छ ।
वैदेशिक रोजगारीका कारण पुरुष घर बाहिर रहँदा सहकारीले नै महिलाहरूलाई घर मुली बनाई कारोबार गर्न सिकाइरहेको छ । आर्थिक कारोबार आफ्नै हातले गरिरहेका महिलाहरू अन्य महिलाको तुलनामा थप सक्षम र सबल बन्नुले पनि महिला सशक्तीकरणका लागि आर्थिक समृद्धि अत्यावश्यक भएको पुष्टि गर्दछ ।
आफूले योगदान गरेको ठाउँमा नेतृत्वमा जान किन प्रतिस्पर्धा नगर्ने ? देशभरको अवस्थालाई नियाल्दा ५१ प्रतिशत महिला सहकारीको सदस्य भनिसकेको अवस्थामा नेतृत्वमा त्यसै अनुसार अघि बढ्नुपर्ने आवश्यक छ ।
महिलाहरूलाई सहकारी संस्थामा गोलबद्ध गराएर आर्थिक सँगसँगै सामाजिक गतिविधिमा समेत क्रियाशील बनाउने हो भने सहकारी संस्था महिला हिंसाको अन्त्य र सामाजिक रूपान्तरणको गतिलो साधन बन्न सक्छ । कुनै बाध्यात्मक व्यवस्था बिना नै महिलाहरूको सहकारी प्रतिको आकर्षण र सहकारीले उनीहरूको समग्र विकासमा खेलेको भूमिका सर्वत्र प्रशंसनीय छ ।
साँच्चै भन्नु पर्दा सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक लगायतको समग्र परिवर्तनका लागि सहकारी यो मुलुकको एउटा गतिलो हतियार साबित भएको छ । किनभने जनसङ्ख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलालाई सशक्त परिवर्तनका लागि धारिलो बनाउने एउटा कुशल संस्था सहकारी बनेको छ ।
नेपालमा सहकारी क्षेत्रको प्रभाव बिस्तार र सफलताका लागि महिलाहरूको पनि उत्तिकै योगदान छ । किनभने पारदर्शिता, लगनशीलता, अनुशासन र जिम्मेवारी बोध महिलाका पर्यायवाची शब्द हुन् । उनीहरू आफ्नो पेसा र दायित्व प्रति पूर्ण इमानदार हुन्छन् ।
यसको उदाहरण महिलाद्वारा सञ्चालित र उनीहरूले नेतृत्व गरेका संस्थामा कुनै किसिमको अपचलनको समस्या नआउनु हो । अर्थात् आज सम्म कुनै पनि महिला सहकारी संस्थाहरू समस्याग्रस्त बनेका छैनन् ।महिलाहरूले सहकारी क्षेत्रमा जति योगदान गरेका छन् । त्यो अनुसार नेतृत्वमा आउन भने सकिरहेका छैनन् ।
महिलाहरूको सहभागिता अनुसार नेतृत्वमा महिलाहरू आउन सक्ने हो भने सहकारी संस्थाको आधा समस्या त्यसै हटेर जाने देखिन्छ । यसतर्फ पनि अब महिलाहरूले सोच्नुपर्ने छ । आफूले योगदान गरेको ठाउँमा नेतृत्वमा जान किन प्रतिस्पर्धा नगर्ने ? देशभरको अवस्थालाई नियाल्दा ५१ प्रतिशत महिला सहकारीको सदस्य भनिसकेको अवस्थामा नेतृत्वमा त्यसै अनुसार अघि बढ्नुपर्ने आवश्यक छ । यसतर्फ सहकारी अभियानमा सहभागी महिलाहरूले ध्यान जानु जरुरी छ ।
Leave a comment