साधारण सभा २४ गते
काठमाडौंँ । नयाँ बानेश्वरमा मुख्य कार्यालय रहेको ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारण सभाको समापन भदौ २४ गते हुने भएको छ । संस्थाले १८ गतेदेखि सदस्यको उपस्थिति गराइरहेको जनाएको छ ।
हरेक दिन बिहान १० बजेदेखि ५ बजेसम्म सदस्यको सहभागिता गराइरहेको संस्थाका अध्यक्ष नवराज कार्कीले जानकारी दिए । सदस्यलाई बार्षिक प्रतिवेदन समेत उपलब्ध गराएर सुझाव संकलन गरिरहेको उनले बताए ।
साथै संस्थाको वेबसाइडमा समेत प्रतिवेदन राखिएको हुनाले सदस्यले अध्ययन गरेर सुझाव तथा प्रतिकृया दिन सकिने जनाए । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७७/७८ मा १० करोड ४१ लख १० हजार शेयर पूँजी पुर्याएको छ ।
संस्थाले यो वर्ष शेयर पूँजीमा २२ लाख २४ हजार ४ सय रुपैयाँ बृद्धि गरेको उल्लेख छ । त्यसैगरी संस्थाले सदस्यहरुलाई १६ प्रतिशत लाभांश बितरण गर्ने जनाएको छ । संस्थाले १ अरब १७ करोड ५५ लाख ४० हजार ११० रुपैयाँ बचत संकलन गरेको छ भने १ अरब ३१ करोड ६५ लाख ९० हजार ७६५ रुपैयाँ ऋण लगानी गरेको उल्लेख छ ।
त्यसैगरी संस्थाले यो वर्ष संरक्षित पूँजी फिर्ताकोषको ६५ लाख ५७ हजार रुपैयाँ सदस्यको खातामानै जम्मा गरिदिने जनाएको छ । उक्त रकम साधारण सभा सम्पन्न भएको भोलीपल्टबाट सदस्यको खातामा जाने अध्यक्ष कार्कीले जानकारी दिए ।
संस्थाको कूल सम्पती १ अरब ६२ करोड ६३ लाख ९ हजार ७९४ रहेको छ भने ११ करोड १ लाख ७३ हजार ४६५ रुपैयाँ कोषमा रहेको जनाइएको छ । संस्थाले आयकर अघिको ५ करोड ८८ लाख ८२ हजार ९३ रुपैयाँ कुल नाफा गरेको छ । संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तालिम, कर्मचारीको क्षमता अभिबृद्धिकालागि तालिम प्रदान गरेको जनाएको छ ।
२ हजार ७ सय ८९ जना सदस्य रहेको संस्थाले प्रबिधिमैत्रि सेवा प्रवाह गरेको जनाएको छ । संस्थाको गोठाटार र कुमारीपाटी ललितपुरमा सेवाकेन्द्र रहेका छन भने लुभुमा सेवाकेन्द्र बिस्तारको तयारी रहेको जनाइएको छ ।
Leave a comment