झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले क्युआरकोर्ड सेवा सुरु गरेको छ । संस्थाको वित्तीय कारोबारलाई डिजिटलाइज्ड गर्दै मोवाइल बैंकिङ सेवापछि क्युआर कोड स्क्यान पे सुरुवात गरेको हो । संस्थाले भदौ १७ गतेदेखि फोन पे, इ–सेवा र इन्फो डेभलपर्ससँगको सहकार्यमा क्युआर कोड स्क्यान पे प्रयोगमा ल्याएको हो ।
संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल र सदस्य गणेशप्रसाद पराजुलीको उपस्थितिमा मुख्य कार्यालयका विभागीय प्रमुखहरुले क्युआर कोड लन्चिङ एण्ड टेस्टिङ गरेका थिए ।
अध्यक्ष श्रेष्ठले आफ्ना सदस्यहरुको वित्तीय कारोबारलाई डिजिटलाज्ड र सहज बनाउन अत्याधुनिक प्रविधि भित्राइएको बताए । संस्थाका उपाध्यक्ष खरेलले समय काल अनुसार नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै सधै अगाडि बढेकै कारण आज जिल्लाको तेस्रो ठूलो बनेको बताए ।
यस्तै सञ्चालक समितिका सदस्य पराजुलीले आधुनिक युगका उपभोक्ता बन्नका लागि क्युआर कोड स्क्यान पे अवलम्बन गर्नु आवश्यक भइसकेकोले कर्णाली साकोसले पनि प्रविधिलाई आत्मसाथ गरेको बताए । संस्थाले सदस्यको सुविधाका लागि नयाँ प्रविधि भित्राउँदै निकट भविष्यमा नै एटिएम सेवा सञ्चालन गर्ने जानकारी दिए ।
संस्थाका लेखा विभाग प्रमुख डिल्ली बस्नेतले कर्णालीका सदस्यले पैसाको बिटो बोकेर सुरक्षा चुनौतीका बीचमा हिड्नुपर्ने बाध्यताको अन्त्य गरेको बताए । संस्थाको आइटी विभागका तारानाथ सेढाईं र विपुल गौतमले प्रयोगकर्ताले सामान खरिद गरिसकेपछि कसरी रकम भुक्तानी गर्छन् भन्ने प्रयोगात्मक अभ्यास गरेर देखाएका थिए ।
Leave a comment