काठमाडौं । मीनभवनमा रहेको मनिप्लान्ट सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले भर्चुअल रुपमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष सुदर्शनप्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न सभामा सभामा सहकारी महासंघका अध्यक्ष मीनराज कँडेल प्रमुख अतिथि तथा नेफ्स्कूनका पूर्व अध्यक्ष ऋषिराज घिमिरे अतिथि रहेका थिए ।
सभामा संस्थाका अध्यक्ष पराजुलीले आ.व. २०७७।०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोभिड १९ ले मानव स्वास्थ्य सहित आर्थिक, सामाजिक एवं साँस्कृतिक क्षेत्रमा नै संकट उत्पन्न गराएको अवस्थामा संस्थाको कारोबार सन्तोषजनक रहेको पराजुलीले बताए ।
संस्थाले निरन्तर वित्तीय सेवा उपलब्ध गराउँदा संस्थामाथि सदस्यको विश्वास बढ्न गएको उनले बताए । संस्थाले सदस्यहरुलाई लकडाउन अवधिको हर्जानामा पूर्ण र ब्याजमा १० प्रतिशत छुट गरेको जानकारी दिए । ब्याज र हर्जानामा छुट दिँदा संस्थाको आम्दानीमा ४८ लाखले संकुचन आएको जनाए ।
संस्थाले आ.व. २०७७।७८ को असार मसान्तसम्म १० करोड ८ लाख शेयरपुँजी, जगेडा कोषमा ४ करोड २६ लाख, अन्य कोषमा २ करोड ८५ लाख र जोखिम व्यवस्थापन कोषमा ३ करोड ९७ लाख पुयाएको छ । त्यसैगरी ७६ करोड ५६ लाख बचत संकलन गरी १ अर्ब १० करोड ८४ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल वासलात १ अर्ब २५ करोड ८ लाख पुगेको छ । संस्थाले शेयर लाभांश कोषबाट सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ ।
संस्थाले एकसातासम्म सदस्य उपस्थिति पुस्तिका खुल्ला गरी सदस्यहरुबाट प्राप्त राय सुझावलाई समेटेर विद्युतीय माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो । संस्थामा १ हजार ८ सय सदस्य रहेको र जसमध्ये ७७१ अर्थात ७६.४९ प्रतिशतले उपस्थिति पुस्तिकामा हस्ताक्षर गरेका छन् ।
संस्थाले सदस्य हित तथा सेवा कार्यक्रममार्फत सदस्यलाई उपचार खर्च, नवजात शिशु खाता र मृत्यु राहत कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले चालु आर्थिक वर्ष २०७८।०७९ देखि स्वास्थ्य उपचार, मृत्यु राहत र सुत्केरी सदस्य भेटघाटजस्ता शीर्षकमा दिइने रकममा वृद्धि गर्ने भएको छ ।
त्यसैगरी सदस्य वा निजका छोराछोरीले विद्यावारिधि गरेमा वा अधिकृत स्तरमा नाम निकालेमा साधारणसभामा विशेष सम्मान गर्ने, स्वास्थ्योपचार कर्जा बढिमा ६ महिनाका लागि निब्र्याजी उपलब्ध गराउने, कृषि पशुपालन, होटल, सुपथमुल्य पसल, क्याफे तथा पार्टी प्यालेस सञ्चालन गर्ने सदस्यहरुलाई परियोजना कर्जामा ब्याजदर र प्रक्रिया सहुलियत दिने भएको छ । संस्थाले मनिप्लाण्ट एम बैंकमार्फत दिँदै आएको मोबाइल र एसएमएस बैंकिङ सेवालाई थप प्रभावकारी बनाउँदै लैजाने भएको छ ।
Leave a comment