प्रविधि प्रयोग नगर्ने सहकारी कोल्याप्स हुन्छन्
कुमार खत्री ( व्यवस्थापक–कल्याणकारी साकोस, ललितपुर )
६० वर्षको मान्छेको सहकारी बनाउने कि १६ वर्षको मान्छेको सहकारी बनाउने भन्ने विषय अहिलेको मूल मुद्धा हो । पहिला चार खाता लेजरका कुरा आए । पछिल्लो २० वर्षमा धेरै परिवर्तन भयो । प्रविधिमैत्री सहकारी बनाउन सकेन भने २०४८÷५० मा आबद्ध भएका मान्छे कारोबार गर्लान् ? त्यसपछि सदस्य बनेकाहरु सहकारीमा नरहन सक्छन् ।
क्यासलेस, कार्डलेसको जमाना आइसक्यो । अहिले सम्पूर्ण काम मोबाइलबाट हुन्छ । प्रविधि प्रयोग नगर्ने सहकारी केही समयपछि कोल्याप्स हुन्छन् । कुनैमा विलय हुने हो । एटीएम प्रविधि पनि ठिक हो भन्न छोडिसके मान्छेहरु । मोबाइल बोकेर विश्वव्यापीरुपमा रकम ट्रान्सफर गर्न सकिन्छ ।
अमेरिका बसेको मान्छेले जुम्लाको सहकारीमा ट्रान्सफर गर्न सक्छ । अब सहकारीको कार्यक्षेत्र एउटा वडा, गाउँपालिका मात्र होइन, संसारभरी नै भइसक्यो । तर पनि पुराना मान्छेहरु अहिले पनि पासबुकमै विश्वास गर्छन् । हाम्रो संस्थामा ३०/४० प्रतिशत बैंकिङ सुविधा प्रयोग गर्लान् । त्यो बाहेक त अझै पनि पासबुकमै विश्वास गर्छन् । धेरै सदस्यहरुसँग स्मार्ट फोन हुन्छ ।
धेरैले बोक्छन् पनि तर धेरैले चाहिने भन्दा नचाहिने कुरा हेर्छन् । फेसबुक, युट्युबमै रमाइरहेको पाइन्छ । अहिले प्रविधि प्रयोग सहकारीका लागि अपरिहार्य भइसकेको छ । अब हामीले १५ वर्षको पछि र अहिले युवालाई हेरेर काम गर्नुपर्छ । प्रविधि आत्मसाथ गर्नुपर्छ ।
महामारीमा प्रविधिले बचायो
ओम बस्नेत ( कार्यकारी सञ्चालक–मनीप्लान्ट साकोस, काठमाण्डौँ )
कोरोना भाइरस (कोभिड १९) को बेला सहकारीलाई प्रविधिले बचायो । सहकारीमा प्रविधि नहुँदा सञ्चालन गर्र्नै सकिदैँन । प्रतिष्पर्धात्मक बजारमा वित्तीय सेवा प्रदान गर्दा प्रविधि अनिवार्य चाहिन्छ । हामीले क्षमताले भ्याएसम्म र नेपालमा उपलब्ध भएसम्मको प्रविधि प्रयोग गरेका छौं ।
अब प्रविधि प्रयोग नगर्ने अरु सहकारी पनि कमै होलान् । खासगरी काठमाडौं उपत्यकामा सञ्चालित प्रायः सबै सहकारीले प्रविधि प्रयोग गरेका छन् । हामीले स्थापनाकालदेखि नै चारखाता राखेनौं । सुरुमै सफ्टवेयर प्रयोग गर्यौं । लेखासँग जोडिएका बिल भौचर बाहेक सबै कारोबार प्रविधिबाट भइरहेको छ ।
हाम्रो सहकारीमा पासवर्ड भर्ने व्यवस्था नै छैन । मोबाइलबाटै ब्यालेन्स ट्रान्सफर हुन्छ । पछिल्लो समयमा सहकारीमा प्रविधिको प्रयोग बढ्दै गएको देखिए पनि कतै कर्मचारीको दक्षता कमी, सञ्चालकमा प्रविधिप्रति अरुचीका कारण प्रयोग नभएको पनि हुन सक्छ । अब सबै सहकारीले प्रविधि प्रयोग नगरी सुखै छैन ।
प्रविधि आवश्यकता, रहर र बाध्यता हो
कवी न्यौपाने ( प्रमुख कार्यकारी अधिकृत– सिवाइसी साकोस, बाग्लुङ )
अहिलेको समयमा प्रविधि प्रयोग गर्न आवश्यकता, रहर र बाध्यता पनि छ । प्रविधिको प्रयोग नभए पछि परिन्छ । प्रविधिको सकारात्मक र नकारात्मक पाटो हुन्छ । प्रविधिबाट सेवा लिन सजिलो हुने, धेरै कागजी कामहरु गर्न नपर्ने, घरमै बसेर सबै सेवा लिन सकिने सुविधा हुन्छ ।
यसका साथै झन् जोखिम बढ्ने संभावना पनि रहन्छ । एटीएम, खाताको पैसा अर्कैले निकालिने, ह्याकरले प्रयोग गर्न सक्ने डर पनि उत्तिकै छ । सदस्यलाई पनि र सकारीलाई पनि अवसर र चुनौती दुवै छ । प्रविधिमार्फत म्यानुअली भन्दा कम मूल्यमै गुणस्तरीय सेवा दिन सकिन्छ । सुरक्षित तरिकाले प्रविधि प्रयोग गर्न नसक्दा जोखिम हुन सक्छ ।
पहिला खातापाता हेरिन्थ्यो । अहिले कम्प्युटरमा, सफ्टवेयरमा समस्या आउन सक्छ । भाइरस तथा ह्याकरबाट हुने आक्रमणबाट जोखिम निम्तिन सक्छ । सहकारीले मोबाइल बैंकिङ, एटीएम, क्युआर कोड, इटेलर, प्रविधिमा जार्नपर्छ । जोखिम व्यवस्थापन गर्दै सहकारीले नविनतम प्रविधि प्रयोग गर्नुपर्छ ।
कुनै काम गर्दा न्यून जोखिम हुन्छ । कुनै ठूलो जोखिम हुन सक्छ । प्रविधिगत जोखिम पनि हुन सक्छ । कतिपय अवस्थामा पूरानो प्रविधि छाडेर नयाँ अपडेटमा जानुपर्ने हुन्छ । विभिन्न कारणले डाटा लस हुने खतरा रहन्छ ।
प्राकृतिक विपत्तिका हिसाबले पनि जोखिम बढ्न सक्ने हुन्छ । कतिपय अवस्थाको कर्मचारीको गल्तीबाट जोखिम निम्तने पनि हुन सक्छ । सफ्टवेयरकै गल्तीका कारण पनि जोखिम हुन सक्छ । तर पनि सहकारीमा नविनतम प्रयोगबिना अरुसँग प्रतिष्पर्धा गर्न सकिदैँन । मानव व्यवस्थापन गर्दै प्रविधि प्रयोगमा ध्यान दिनुपर्छ ।
प्रविधि प्रयोगमा अब्बल छौं
रमेश श्रेष्ठ ( व्यवस्थापक– नयाँपाटी साकोस,काठमाण्डौँ )
प्रविधिको प्रयोग भइरहेको छ । एटीएमदेखि स्मार्ट बैंकिङ सेवा हामीले दिइरहेका छौं । क्यु आरकोड पनि छिट्टै प्रयोग गर्दै छौँ । प्रविधि प्रयोग भनेजस्तो सजिलो पनि छैन । जोखिम व्यवस्थापन गरेर सहकारीले प्रविधि प्रयोग गर्नुपर्छ ।
हामीले बिल भुक्तानी, इबिल भुक्तानी गर्छाै । फण्ड ट्रान्सफरलगायतका काम गर्छाै । प्रविधिमैत्री सहकारीमध्ये हामी पनि अगाडि नै छौं ।
तर सबै सदस्यलाई अझै समेट्न सकिरहेका छैनौँ । प्रविधि प्रयोगमा नयाँ पुस्ता बढी फोकस छ । पछिल्लो समयम सहकारीको प्रविधि प्रयोग गर्ने वृद्धि हुँदैछन् । छोटो समयम धेरै वृद्धि भएको छ ।सहकारीमा प्रविधि अपरिहार्य छ ।
रामप्रसाद काफ्ले
व्यवस्थापक– नवप्रतिभा साकोस, नवलपरासी
पछिल्लो समयमा प्रविधिमा सहकारी जोडिएका छन् । शहरी क्षेत्रमा प्रविधि प्रयोग सहज भएता पनि ग्रामीण क्षेत्रमा केही समस्या छ । इन्टरनेट नहुने, लाइन जाने समस्या आउँछ । तर पनि हामीले अनलाइन, मोबाइल बैंकिङ सुरु गरिसकेका छौं ।
प्रविधि पूर्वाधारको समस्या बावजुत पनि हामीले अनलाइन सेवा दिइरहेका छौं । नेटवर्किङ समस्या, नेट नहुँदा केही समस्या हुँदा पनि हामीले अनलाइन सेवा दिन छोडेका छौनौं । अनलाइन सेवा सुरु गरेसँगै सदस्यहरु खुसी छन् ।
प्रविधिमै कारोबार गर्न चाहेका छन् । सदस्यले प्रविधि रुचाएका छन् । हाम्रो सहकारीमा ३५ हजार सदस्य पुगिसकेका छन् । प्रविधि प्रयोग गर्ने सदस्यहरु बढीरहेका छन् । सहकारीमा प्रविधि अपरिहार्य भइसकेको छ ।
प्रविधिमा जो गयो, उसले जित्छ
रणबहादुर थापा ( व्यवस्थापक– जन उत्थान साकोस, रुपन्देही )
आवश्यकता नै आवश्यकताको जननी हो । लकडाउनले सहकारीलाई प्रविधि प्रयोग गर्न बाध्य बनायो । कोभिडपछि प्रविधिको प्रयोगकर्ता धेरै भएका छन् ।
पहिलाको भन्दा धेरै बढेको छ । क्युआर कोर्ड, फण्ड ट्रान्सफर, बैंकमा ट्रान्सफर, युटिलिटी, रेमिन्ट्यान्स, इन्टरनल ट्रान्सफर गर्ने क्रम बढेको छ ।
प्रविधि प्रयोग गर्दा लागत घट्छ । सदस्य तथा सस्थाको समय र पैसा बचत हुन्छ । जो सहकारी प्रविधिमा गयो, उसले जित्न सक्छ । प्रविधि नहुँदा लागत बढ्छ ।
स्वाभावैले शहरी क्षेत्रमा युजर बढी छन । गाउँमा मोबाइल युजर कम हुन्छ । शहरी क्षेत्रमा धेरै प्रयोग हुँदा लाभ उठाउँछन् । ग्रामीण क्षेत्रमा लागत खर्च बढ्छ ।
जोखिम रहित प्रविधि प्रयोग गर्न जोड दिनुपर्छ
सुवास खड्का ( व्यवस्थापक, सुभप्रभा साकोस,काठमाण्डौ )
हामीले पछिल्लो समयमा कारोबारलाई प्रविधिमैत्री बनाएका छौं । प्रविधि सेवा बैंकले दिनेजति दिएका छौं । सदस्यको उत्साह पनि राम्रो छ । विदेशबाट पनि झिक्न मिल्ने भइसकेपछि अझ उत्साह बढेको छ ।
कोभिडपछि प्रविधिको प्रयोगको अपरिहार्यता बढेको छ । हामीले इन्फो डेभलपर्ससँगको सहकार्यमा सहकारीलाई प्रविधि सेवा दिइरहेका छौं । एटीएम सेवा पनि दिइरहेका छौं । निकट भविष्यमै सबै एटीएमबाट निःशुल्क पैसा झिक्न सकिने व्यवस्था गर्दै छौं ।
कुनै पनि शुल्क नलाग्ने गरी काम गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । जहाँको एटीएमबाट पनि बिना शुल्क कारोबार गर्न पाइने भएपछि सदस्य आकर्षित भएका छन् । प्रविधिको प्रयोग समयको माग नै हो । समय सापेक्ष प्रविधि प्रयोग नगरी सुखै छैन ।
प्रविधि आविश्कार सँगै चुनौती पनि छ । हामीले भिन्नै डिमार्टमेन्ट बनाएर काम गर्दै छौं । प्रविधिमा जाँदा ह्याकरलगायत अनेक समस्या आउन सक्छन् । नियमनकारी निकाय विभाग, छाता संगठन प्रविधिमेत्री हुन नसकेको पाइएको छ ।
विभागले सहकारीलाई रिक्स छ, हामीले अनुमती दिएका छैनौं भन्दै गर्दा सहकारीमा निराशा छाएको छ । विभागले प्रविधि विज्ञ ल्याएर सहकारीकर्मीसँग थप परामर्श गर्नुपर्ने देखेको छु । समस्या आएपछि मात्रै बुझिने नभई जोखिमरहित प्रविधि प्रयोग गर्न जोड दिनुपर्ने देखेको छु ।
फेडेरेसनहरुले त्यो काम गरुन्
अपिल कोइराला ( जनरल म्यानेजर, कोन सामुदायीक साकोस, पोखरा )
यसमा बहस, पैरबी भइरहेका छन् । प्रविधिमा जाने हामीले निर्णय गरेका छौं । एटीएम भन्दा पनि मोबाइल बैंकिमा जाने योजना छ । सञ्चालक समिति तथा बोर्डबाट प्रविधिमा जाने सहमति गरिसकेका छाै ।
कमसेकम फेडेरेसनहरुले त्यो काम गरुन् । प्रारम्भीक सहकारीलाई सफ्टवेयर, मोबाइल बैंकिङ सेवा दिउन् भन्ने हाम्रो चाहना छ । सहकारी विभागबाट नेगोसेसन गरेर सफ्टवेयर कम्पनी सिफारिस गरिएकामा सहकारी प्रविधि भित्र्याउन सजिलो हुन्छ ।
हाम्रो संस्था साढे २ अर्बको भइसक्यो । प्राइभेट कम्पनीको सफ्टवेयरमा जान पर्ने वाध्यता छ । भोलि रिक्स हुँदा कसले जिम्मा लिने, त्यो चुनौती छ । विभाग र फेडेरेसनले टेक्नोलोजीमा काम गरिदिए हामीलाई धेरै सहज हुने थियो ।
विभागले कम्तीमा पाँचवटा कम्पनीलाई रेटिङ गरेर महासंघलाई जिम्मा लगाएमा ती कम्पनीमध्ये रेटिङका आधारमा सहकारीले छानेर प्रयोग गर्न पाउँथे । यसो गर्दा धेरै सहकारीलाई प्रविधिमा जान सजिलो हुन्थ्यो ।
प्राइभेट कम्पनीसँग सहकार्य गर्दा भागेर जाला, मिसयुज होला भन्ने डर हुन्छ । हामीले फोरममा भनेका छौं । सहकारीकै निकायसँग काम गर्न पाउँदा राम्रो पनि देखिने र भरपर्दो पनि हुन्छ । यसो गर्दा व्यवस्थित पनि भयो । प्राइभेटसँग भर पर्नुपर्दा अहिले पनि धेरै सहकारी प्रविधिमा चाहेर पनि जान सकिरहेका छैनन् ।
ग्रामीण क्षेत्र समेट्ने प्रविधि चाहियो
कोपिला थापा ( व्यवस्थापक– महिला जागृति साकोस, मकवानपुर )
ग्रामीणमा प्रविधि प्रयोग गर्न समस्या छ । तर पनि हामीले यसै वर्षदेखि एसएमएस सेवा सुरु गर्दैछौं । त्यस्तै कलेक्सनका लागि मोबाइल एप्स पनि चलाउँदै छौं । अब सहकारी प्रविधिमा नगई सुखै छैन् । यसबाट आएको प्रतिक्रियापछि अरु प्रविधि उपयोग गर्ने योजना छ ।
ग्रामीण क्षेत्रमा इन्टरनेट चलाउन समस्या छ । ग्रामीण भेग भएकाले हाम्रा सदस्यहरु पनि त्यति धेरै शिक्षित हुनुहुन्न । अव प्रविधि चलाउन ग्रामीण क्षेत्रमैत्री र सबैलाई समेट्न सकिने सहज खालको सेवा दिनुपर्छ । प्रविधिमार्फत सेवा दिन सकियो भने काउन्टर खोलेरै सेवा दिइरहनुपर्दैन ।
अब सहकारी प्रविधिमा जानुपर्र्छ । हामीले बैंकहरुसँग प्रतिष्पर्धा गर्नुपर्ने हुन्छ । सहकारी प्रतिष्पर्धी बन्नै पर्छ । केन्द्रीय संघहरु तथा नियमन निकायहरुले पनि सहाकरीलाई प्रविधि प्रयोगमा प्रोत्साहन गर्नै पर्छ । ग्रामीण भेगलाई पनि समेटेर नेपालको वास्तविक भौगोलिक वस्तुस्थिति अनुसार प्रविधि प्रयोगमा जोड दिनुपर्ने आवश्यकता देखेको छु ।
प्रविधि प्रयोग गर्ने सदस्य बढ्दै छन्
राधिका सापकोटा ( ब्यवस्थापक– लोक कल्याणकारी साकोस, चितवन )
हामीले प्रविधिमार्फत सेवा दिइरहेका छौं । सहकारीमा सफ्टवेयर, मोबाइल बैंकिङ लगायतबाट काम भइरहेको छ । लकडाउनका बेला प्रविधिबाटै सेवा दिएका छौं । सदस्यहरु पनि सन्तुष्ट हुनुहुन्छ । सेयर सदस्यलाई घरबाटै सेवा दिदाँ कोभिडको जोखिम हटेको छ ।
अहिले पनि कार्यालय १० बजेबाट २ बजे चलेपनि पनि पैसा झिक्ने, राख्नेदेखि सबै काम प्रविधिबाटै हुँदै आएको छ । घरमै बसेर प्रविधिमार्फत कारोबार गर्न पाएकोमा सदस्यहरु पनि खुसी छन् । ५० प्रतिशत भन्दा बढी सदस्य प्रविधि प्रयोग गर्छन् ।
भरतपुर महाहगरपालिका ४ मा इन्टरनेटको समस्या नभएकाले र धेरै जसो सदस्य यहीँ वडामा भएकाले प्रविधि प्रयोग बढ्दै गएको छ । कतिपय अवस्थामा त बैंक भन्दा पनि बढी सहकारीले गुणस्तरीय सेवा दिइरहेका छन् । अब बैंकसँग प्रतिष्पर्धा गर्न सहकारी प्रविधिमा नगई हुँदै हुँदैन ।
कोर बैंकिङ सिष्टमा जान समस्या छ
महेशराज रेग्मी ( व्यवस्थापक– जागृति साकोस, सल्यान )
ग्रामीण क्षेत्रमा कोर बैंकिङ सेवा दिन समस्या छ । सबै सदस्यसँग स्मार्ट मोबाइल नहुने, इन्टरनेट नचल्ने समस्या भएकाले कोर बैंकिङ सिष्टममा जान समस्या छ । तर पनि इन्टरनलरुपमा प्रविधि प्रयोग बढाइरहेका छौं ।
सिसीक्यामेरा पनि जडान गरेका छौं । सदस्यलाई प्रविधिमा आत्मसात गराउन लागिपरेका छौं । तत्काल बैंकिङ सिष्टममा जान गाह्रो छ । सदस्यलाई पनि प्रविधिमा फोकस गर्नुपर्यो ।
हामी त्यो अभियानमा छौं । बजार क्षेत्रमा नेट सहज भएपनि ग्रामीण, दुरजराजमा इन्टरेनट पुग्न चुनौती छ । जसले गर्दा चाहेर पनि प्रविधि प्रयोग गर्न नपाइरहेको अवस्था छ ।
नियमक निकायले नै सफ्टवेयर दिनुपर्छ
वलदेव पौडेल ( ब्यवस्थापक–बाबियाखर्क साकोस, काठमाडौं )
हामीले इन्फो डेभलपर्सको कोर बैंकिङ सिष्टम प्रयोग गरिरहेका छौं । हामीसँग मोबाइल एप पनि छ । सहकारीले समय सान्र्दभिक रुपमा प्रविधि प्रयोग गर्नुपर्छ । सुरुवात गरिएको छ । प्रविधि प्रयोगमा नियमक निकायले प्राथमिकता दिनै पर्छ ।
केन्द्रीय संघ, राष्ट्र बैंकले पनि जोड दिइरहेका छन् । सहकारी विभागले सुरु गरेको कोपोमिसमा पनि मासिक प्रतिवेदन पठाइरहेका छौं । कोपोमिस स्थानीय तहमा पनि राखिएका छन् । तर यसका धेरै समस्याहरु छन् । कोपोमिस वान वे भयो टुवे भएको भए राम्रो हुने थियो ।
सहकारीले छुट्टाछुटटै सफ्टवेयर प्रयोग गर्नुभन्दा एउटै भएमा सजिलो हुन्थ्यो । नियमन गर्न, अपडेट हुन र अरुलाई सिक्न पनि एउटै सफ्टवेयर हुँदा सजिलो हुन्थ्यो । नियमन निकायले सफ्टवेयर तयार गरी सहकारीलाई दिनसक्नु पर्छ ।
यसो हुन सकेमा धेरै सहकारीले सफ्टवेयर प्रयोग गर्न सक्छन् । नेफ्स्कूनले पनि सुरुवात गर्न खोजेको छ । तर नेफ्स्कूनलाई मात्रै मान्ने साकोस पनि छैन । नेफ्स्कूनको छत्र छाया भन्दा बाहिर पनि धेरै सहकारी छन् । समग्रमा नियमक निकाय र केन्द्रीय संघले प्रविधिमा एकरुपता ल्याउन सकेमा प्रारम्भीक सहकारीलाई सहज हुने थियो ।
कोभिडले प्रविधि सफल भयो
दिनेश बहादुर निरौला ( सहारा नेपाल साकोस, झापा )
पछिल्लो समयमा प्रविधि प्रयोग बढीरहेको छ । साहारा नेपाल साकोसले पनि प्रविधिमा जोड दिइरहेको छ । प्रविधि प्रयोग सुरक्षित माध्यम पनि हो । कोरोना भाइरस(कोभिड १९) को पहिलो र दोस्रो कोभिडका बेला प्रविधि बढी प्रयोग भएको छ ।
हामीले पनि कोरोनाको बेला अवसरको रुपमा लिएर प्रविधिमार्फत कारोबार बढाएका छौं । आफ्नै मोबाइल बैंकिङ, एसएमएसमार्फत सेवा दिइरहेका छौं । क्युआरकोड पनि सुरु गरिसकेका छौं । ऋण, निक्षेप कलेक्सन गर्न ट्याब्लेट बैंकिङ पनि सुरु गर्दै छौं ।
हामी पूर्णरुपमा प्रविधिमा गइरहेका छौं । अन्तत्वगत्वा सबै सहकारीले प्रविधिलाई आत्मसात गर्नैपर्छ । तर केही कठिनाइ छ । मुख्य कुरा मोबाइल बैंकिङ नै हो । मोबाइल एपबाट बैंकमा ट्रान्सफर हुने तर उनीहरुको खातामा जम्मा नहुने समस्या छ ।
त्यो तत्काल निराकरण हुुनुपर्छ । यसले सहकारीको डिपोजिट फिर्ता हुने संभावना छ । सहकारीबाट पैसा साट्न भौतिकरुपमै आइरहनु नपरोस् भन्ने हाम्रो सोच हो । नियमक निकाय तथा केन्द्रीय संघले यस विषयमा पहल गर्नुपर्छ । हामीले छिट्टै एटीएम सुरु गर्दै छौं । दुर्गम क्षेत्रमा एटीएम बढी प्रयोग हुन सक्छ ।
राष्ट्र बैंकले सहकारी फाइन्सान्सीयल निकाय हो भन्ने महसुस गरेर प्रविधि दिनुपर्छ । कोभिडको समयमा सहकारीमा प्रविधि प्रयोग सफल भएको छ । नीजि निकायको सफ्टवेयर प्रयोग गर्नुपर्ने अवस्था छ । सहकारीलाई नै अनुमति प्राप्त भयो भने सजिलो हुन्थ्यो ।
प्रविधिले नियमनमा सघाउँछ
गणेश थापा ( व्यवस्थापक –हाम्रो मध्यवर्ती राधाकृष्ण साकोस, बर्दिया )
सहकारीहरु दिनप्रतिदिन प्रविधिमैत्री हुँदै आरहेका छन् । ढड्डाबाट सुरु भएको सहकारी ०६६ देखि नै सफ्टवेयरबाट कारोबार सुरु गरेका छौं । रेमिट्यान्स सेवा पनि दिइरहेका छौं । मोबाइल एप्स पनि चलाइरहेका छौं । क्युआरकोडको पनि अभ्यासमा छौं ।
प्रविधिमा एकरुपता भएमा नियामक निकायलाई अनुगमन गर्न, रिर्पोटिङ गर्न सजिलो हुन्छ । नियमक निकायले कोपोमिसमा इन्ट्री गरिरहेका छन् । गोएमल, मनी लन्ड्रिङका विषयमा पनि प्रविधि नभई हुँदैन । नियमक निकायले समयसापेक्ष प्रविधि सेवा दिन सक्नुपर्छ ।
नेफ्स्कूनमार्फत सहकारीको ऋण व्यवस्थापन केन्द्र स्थापना गर्ने कुरा भएको छ । नेपालका जति पनि सहकारी छन् । विभिन्न प्रकृतिका सहकारीलाई म्याच हुने गरी विभागले स्ट्यान्डर्ड म्यान्टेन्ट गरेर सफ्टवयर प्रयोगमा जोड दिनुपर्छ ।
यसो भएमा सबैमा एकरुपता आउँछ । डाटा राख्न पनि सजिलो हुन्छ । अनलाइन सिष्टमबाट मनिटरिङ हुँदा नियमन पनि प्रभावकारी हुने भएकाले नियमक तथा केन्द्रीय संघहरुले प्रविधि प्रयोग गर्नमा जोड दिनुपर्छ ।
प्रविधि प्रयोगले सदस्य खुसी छन्
सुदर्शन चौलागाई ( व्यवस्थापक–चमेली कल्याणकारी साकोस, भक्तपुर )
सहकारीले प्रविधि प्रयोगमा जोड दिइरहेका छन् । हामीले एसएमएस सेवादेखि मोबाइल बैंकिङ सेवा दिइरहेका छौं । छिट्टै क्युआरकोड सुरु गर्दै छौँ । प्रविधि पाउँदा सदस्य खुसी छन् । तर ग्रामीण भेगमा धेरै सदस्य भएकाले पूर्णरुपमा प्रविधिमा सेवा दिन सकिएको छैन ।
सदस्यलाई प्रविधिसम्बन्धी ज्ञान दिनुपर्छ । प्रविधिसम्बन्धी तालिमको व्यवस्था गरियो भने धेरै जानकार हुन सक्छन । सदस्य जागरुक भएमा सहकारीले प्रविधि प्रयोगमा जोड दिनेछन् । नियमक निकायले सबै सहकारीलाई एउटै प्रविधिमा लैजान सक्ने वातावरण बनाउनुपर्छ ।
फरक फरक प्रविधिको प्रयोगले अनुगमनमा कठिनाइ हुन्छ । सहकारीमा प्रविधि अपरिहार्य भइसकेको छ । प्रविधिको प्रयोगबिना सहकारीको कारोबार पूर्ण हुन सक्दैन । त्यसैले अब प्रविधि प्रयोगमा जोड दिनुपर्छ । खासगरी नियमक निकाय र केन्द्रीय संघहरुले बढी भन्दा बढी सहकारीलाई प्रविधिमा रुपान्तरण गर्न पहल गर्नैपर्छ ।
Leave a comment