हाइलाइट

सहकारी बैंकमा अवको नेतृत्व कस्तो हुनुपर्ला ?

सहकारी बैंकमा अवको नेतृत्व कस्तो हुनुपर्ला ? :: Sahakari Akhabar

पछिल्लो समय सहकारीमा राजनीतिक दलको हस्तक्षेपले गर्दा सहकारीकर्मी सही नेतृत्व छनोट गर्ने अवसरबाट बञ्चित हुँदैगएका छन् । सहकारीको जिल्लादेखि केन्द्रसम्म र सहकारी बैंक तथा राष्ट्रिय सहकारी महासंघसम्म नेतृत्व छनोटमा दलकै हस्तक्षेप बढेकोले सहकारीमा योगदान गरेका अभियानकर्ताहरु अभियानको नेतृत्वमा पछि पर्दैगएका छन् । जसका कारण एउटा त सहकारी अभियानले सहि गति लिन सकिरहेको छैन भने अर्को सहकारीको शाख गुम्दैगएको छ।

त्यसैले सहकारी अभियानको हितकोलागि सहकारीको नेतृत्व पनि सहि हुनुपर्छ र नेतृत्व छनोट सहकारीकर्मीले नै गर्न पाउनुपर्ने आवाज उठिरहेको छ । त्यसैले सहकारी अखबारले आसन्न सहकारी बैंकको निर्वाचनलाई मध्यनजर गर्दै सहकारीकर्मी प्रतिनिधि पात्रहरुसंग सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला भन्ने जिज्ञासालाई निरन्तरता दिइएको छ । उहाँहरुको बिचार जस्ताको त्यस्तै ।

आस्थाका आधारमा हैन, क्षमता र सामथ्र्यको आधारमा सहि नेतृत्व चयन गरौं

ठाकुरनाथ अधिकारी: प्रमुख कार्यकारी अधिकृत (आर्थिक विकास मित्र साकोस, पाँचखाल काभ्रे )

सहकारी बैंकको निर्वाचन आइरहेको छ, नयाँ संचालक समिति चयन हुँदैछन् । वर्तमान समयमा सहकारीमा देखिएका विसंगतीहरुका साथै सहकारीका समस्याहरुलाई निराकरण गर्न सक्नेखाले नेतृत्वको आवश्यकता छ । सहकारी बैंक राष्ट्र बैंकको पनि नियमनमा भएकोले राष्ट्र बैंकको नियमलाई मान्दै सहकारी मूल्य मान्यतालाई पनि आत्मसाथ गर्दै दुवै निकायसंग तालमेल मिलाउनसक्ने नितान्त ब्यवसायिक नेतृत्वको खाँचो छ यतिखेर ।

सहकारी ग्रामिण क्षेत्रका मानिसको आर्थिक उपार्जनको दरिलो माध्याम बनेको छ । त्यसैले सहकारी बैंकले त्यो क्षेत्रका कृषि तथा उत्पादनमूलक सहकारीमार्फत मानिसहरुको आर्थिक उपार्जनलाई मद्र्धत गर्ने संस्थासम्म जानसक्नुपर्छ र त्यस क्षेत्रका सहकारीसम्म सहकारी बैंक पुर्याउने नेतृत्वको खाँचो छ ।

तल्लो तहका सदस्यसम्म सहकारीको सेवा पुर्याउन त्यस्ता समुदायमा संचालन भएका सहकारीहरु संग समन्वय गर्ने र उनीहरुलाई संगसंगै डोहोर्याउने काम सहकारी बैंकले गर्नुपर्ने हुन्छ । सहकारी प्राधिकरणको निर्देशनले सहकारी बैंकलाई पनि नियमन निकायका रुपमा काम गर्नसक्ने ब्यवस्था गरेको छ ।

त्यसलेगर्दा सहकारीका संघहरुलाई वित्तिय कारोबारमा रोक लगाउने वित्तिकै सहकारीहरु संगको कारोबारको जिम्मेवारी सहकारी बैंकको मात्र हुनेहुँदा सहकारी बैंकको महत्व झनै वढी हुन्छ । त्यसैले सहकारी बैंकमा राजनीतिक दलको भागवण्डामा नेतृत्व चयन गर्नेभन्दा पनि नितान्त ब्यवसायिक ब्यक्तित्वहरु चयन गर्नुपर्छ ।

त्यसकालागि प्रारम्भिक तहदेखि नै सहकारीमा लागेर सहकारी बुझेर सहकारीलाई माया गरेर अनि सहकारी अभियानकै लागि केही गर्छु भन्ने नेतृत्व आउनुपर्छ । नामका मात्रै नेतृत्व आएर हुँदैन, आफ्ना संस्था बनाएर देखाएका मानिस आएभने अरुले पनि विश्वास गर्छन ।

आफूले सहकारी अभियानमा गरेको योगदान देखाउने आधार नभएका मानिसहरुलाई चयन गर्नु पनि हुन्न । नेतृत्वमा आउनेहरुको संस्थाको अवस्था खोजिनुपर्छ । जुन ब्यवसायिक रुपमा सफल संस्था छन्, सामुदायिक संस्था छन् त्यस्ता संस्थाबाट प्रतिनिधित्व गरेर आएकाहरु सहकारी बैंकको संचालकमा जानुभयो भने मात्र सहकारी अभियानलाई सहि मार्गनिर्देशन गर्नसक्नुहुनेछ ।

हैन भने वर्तमान समस्या झनै विकराल बन्दैजानेछ । त्यसैले सहकारी बैंकको नेतृत्वमा अहिलेको अवस्थामा राजनीतिक दलले चयन गरेर पठाएको प्रतिनिधिलाई स्विकार्ने अवस्था छैन । सहकारीकर्मीहरुले नै संचालक वा नेतृत्व चयन गरेर पठाउन पाउनु पर्छ भन्ने लाग्छ ।

राजनीति गर्ने छुट्टै ठाँउ छ, यो ब्यवसायिक संस्था हो, त्यसैले वित्तिय कारोबार गर्ने संस्थामा सहि नेतृत्व भएन भने सहकारीको अवस्था के हुन्छ भन्नसक्ने अवस्था छैन । एक त सहकारीमा नियमन, अनुगमन राम्रो छैन भनेपछि अभियान पनि लथालिङ्ग भएको अवस्थामा एकदम ब्यवसायिक मानिसको नेतृत्व भएन भने झनै समस्या वढ्छ ।

सहकारी अभियानको अभिभावकत्व लिने जिम्मेवारी सहकारी बैंकको काँधमा आएको छ, त्यसैले त्यो जिम्मेवारी वहन गर्नसक्ने खाले नेतृत्वको चयनगर्न जरुरी छ । टिको लगाएर पठाएकाहरुले अभियान जोगाउन सकेनन् भन्ने त हामिले देखिरहेकै छौं, त्यसैले टिकोको पछि लागेर सहकारी अभियानलाई फेरी पनि समस्यामा पर्ने काम नगरौं ।

आफ्नो एउटा प्रारम्भिक संस्था राम्रो बनाउन सक्नुभएको छैन भने सिङगो अभियान कसरी बनाउनुहुन्छ ? त्यसैले जरा बिनाको रुख काम छैन, सबैले सोचौं । राजनीतिक दलले नै पठाउने भएपनि सहकारी अभियानमा काम गरेको आफ्नो संस्था राम्रो बनाएको लामो समय सहकारी अभियानमा योगदान गरेका पनि हुनुहुन्छ नी ! त्यस्तालाई पठाउँदा हुन्छ तर त्यसो हुँदैन खाली पहुँचको भरमा टिकालगाउने नेतृत्वले वित्तिय संस्था चलाउन सक्दैनन् ।

हामीले राजनीतिक दलले टिका लगाएकालाई धेरै चुन्यौं, उहाँहरुको काम पनि देख्यौं, संस्थानै नभएकाहरुले अभियान हाँकेको पनि देख्यौं, त्यसैले सहकारी मर्म अनुसार संस्था संचालन गर्ने बातावरण बनाउन सहकारी बैंकको नेतृत्वको चयन गरौं, आस्था र विचारका आधारमा हैन, क्षमता र सामथ्र्यको आधारमा सहि नेतृत्व चयन गरौं ।

अभियानमा योगदान गरिरहेकालाई चयन गरौं

गणेश चन्द: प्रमुख कार्यकारी अधिकृत ( उदयदेव बहुउद्देश्यीय सहकारी, कञ्चनपुर )

सहकारी बैंक समस्याउन्मुख हुँदै गएको छ, यसलाई ब्यवसायिक संस्था बनाउँन, सहकारी अभियानलाई मार्गनिर्देश गर्न र सहकारीहरुको विश्वास जित्न ब्यवसायिक ज्ञान भएको मानिसको नेतृत्व आवश्यक छ । यस्ता मानिस हामीले सहकारी अभियानबाटै खोज्नुपर्छ ।

लामो समय सहकारी अभियानमा खर्च गरेका असल अभियन्ताहरु पनि हुनुहुन्छ, तर राजनीतिक हस्तक्षेपका कारण त्यस्ता ब्यक्तिहरु ओझेलमा परेको अवस्था छ । त्यस्ता ब्यक्तिहरुलाई चयन गरेर ल्याउन सकियो भने अभियानले सहि गति लिनसक्छ।

विगतमा सहकारीका संघ, केन्द्रीय संघ र महासंघमा राजनीतक दलको हस्तक्षेपको परिणाम हामीले भोगीरहेका छौं, बाराम्बार त्यस्ता गल्ती नदोहोर्याऔं । त्यसैले अवका दिनमा सहकारीका संघ, केन्द्रीय संघ, सहकारी बैंक र महासंघको नेतृत्व राजनीतिक प्रभाव नभएको, दलसंग सम्वन्ध नभएको सहकारी नियम, कानुनलाई अक्षरस पालना गर्नसक्ने बौद्धिक र ब्यवसायिक ज्ञान सिप भएको ब्यक्तित्व हुनुपर्छ ।

यस्ता केन्द्रीय संघहरुमा दलको भागवण्डा गर्ने प्रथाको अन्य गर्दै सदस्यहरुले नै नेतृत्व चयन गर्ने अवस्था हुनुपर्छ । विगतको अभ्यासहरुबाट पनि हामीहरुले देखिसक्यौं जसका कारण सहकारीको अहिलेको अवस्था आएको हामीहरु सबैलाई थाहै छ, त्यसैले अव सवैजना सचेत बनौं ।

सहकारीमा भएका विकृति र विसंगतीलाई नेतृत्व तहले ढाकछोप गरिदिनाले, गलत गर्नेलाई राजनीतिक प्रसय दिनाले सहकारी प्रति आम जनमानसको धारणा गलत भइरहेको छ, सहकारीका समस्यामा कसैले खुलेर बोलेका छैनन्, सहकारी मार्फत भएका राम्रा कामको चर्चाभएको छैन, यो सबै सहकारीमा राजनीतिक दलको हस्तक्षेपका कारण भएको हो ।

सहकारीलाई कर्म, सहकारीलाई आफ्नो धर्म सम्झेर अभियानमै जिवन ब्यतित गरेका हामीजस्ता ब्यवसायिक मानिसहरु सहकारी बैंकमा आउँनुपर्छ । पार्टीको कोटाबाट बाहिर बसेर स्वतन्त्ररुपमा बनेको टिममा बसेर अभियानलाई उचाइदिने हिसावमा काम गर्न सकिन्छ, यसमा रहने सवै ब्यक्तित्वहरु सहकारीको दाग नलागेको साच्चिकै सहकारी मार्फत सदस्यमाझ काम गरेको, ब्यवसायिक नलेज भएको ब्यक्तिहरु हुनुपर्छ । त्यसैले सहकारी अभियानमा कसले के गरेको छ, छैन कसरी गरेको छ हेर्न र मुल्याङ्कन गर्न जरुरी छ ।

दलको झोला बोकेकै भरमा अभियानको नेतृत्वमा पठाउने काम बन्द गर्नुस्

डम्बरबहादुर शाह: महाप्रवन्धक ( किसान बहुउद्देश्यीय सहकारी, कैलाली )

सहकारी बैंकको नयाँ संचालक समिति चयनका लागि पौष १२ गते निर्वाचन हुनगइरहेको छ । निर्वाचनबाट प्रारम्भिक संस्था राम्रो संचालन गरेको, सहकारी अभियान मै लागेको र सहकारी अभियान मै योगदान गर्नसक्ने नेतृत्व चयन गरौं । त्यस्ता मानिसहरु धेरै छन् अभियानमा, उहाँहरुको नेतृत्वमा सहकारी बैंक गयो भने उहाँहरुले सहकारीको एन कानुन मर्म बुझेर नै काम गर्नुहुनेछ । त्यसैले त्यस्ता ब्यक्तिहरुलाई मौका दिनुपर्छ ।

तर यहाँ कस्तो देखिएको छ भने, राजनीतिक दलले टपक्क टिपेर लैजाने, दलको झोला बोकेको भरमा पदमा पुग्ने परिपाटी छ, त्यसलाई तोड्नुपर्छ । यदी राजनीतिक दललाई सहकारी प्रति धेरै चासो र चिन्ता हो भने सक्षम र योग्य मानिसलाई पठाउन सक्छ, तर झोला बोकेकै भरमा आफ्नो मान्छे वा कार्यकर्ता भएकै भरमा सहकारी अभियानको नेतृत्वमा पठाउने काम बन्द गर्नुपर्छ । राजनीतिक दलका कारण सहकारी बैंक ब्यवसायिक बैक बन्नसकेको छैन ।

१६ हजार सहकारी बैंकका सदस्य रहेपनि आधाजसो संस्था निस्कृय रहेका छन्, सबै सहकारीलाई सकृय बनाउने, देशभरीका सहकारीलाई सदस्य बनाएर सवैलाई समान ब्यवहार गर्ने सवैलाई समेटेर सहकारीको आफ्नो बैंक हो भन्ने अपनत्व फिल गराउने नेतृत्वको खाँचो छ । सहकारीको नेता भएर पार्टीको वकालत गर्ने नेता हामीलाई चाहिएको छैन ।

हामीलाई सहकारी अभियान बनाउन सक्ने सहकारीको खस्कँदो विश्वासलाई फर्काउनसक्ने नेतृत्व चाहिएको हो । त्यसैले सबै साथीहरु सचेत बनेर सहकारी बैंकको नेतृत्व सहितको संचालक चयनमा लागौं । आवश्यकता महसुस हुँदा म आफूपनि यस टिममा बसेर काम गर्न सक्छु । तर मलाई नै चाहिन्छ भन्ने मेरो भनाइ छैन, जो साथीहरु गए पनि ब्यवसायिक र अभियानमा राम्रो छवी भएको मानिस जानुपर्छ भन्ने मेरो मान्यता हो ।

गएका साथिहरुमा वित्तिय ज्ञान भएको हुनुपर्छ, आफ्नो संस्था राम्रो बनाएको हुनुपर्छ । नीति निर्माणमा राज्यसंग लविङ गनसक्ने हुनुपर्छ । केही सहकारीका कारण पुरै देशभरिका सहकारी बदनाम भएका छन्, सहरमा पनि राम्रा संस्था छन् देशभरी राम्रो काम गर्ने संस्था र तिनका नेतृत्वहरु छन् । ती साथिहरु ओझेलमा परेकाछन् जसले राम्रो गरेका छन् र अझै सहकारीमा योगदान दिनसक्छन् ।

दलले पनि त्यस्ता मानिसलाई पहिचान गरेर सहकारी अभियानको नेतृत्वमा पठाउनु पर्यो, दलले नै पठाउने हो भने । हैन भने सहकारीकर्मीलाई आफै चयन गर्न दिनुपर्यो तर हस्तक्षेप भने गर्नपाइदैन । सहकारी बैंक ७७ जिल्लामा पहुँच भएको संस्था हो, मात्र उपत्यकाका केही ब्यक्तिहरु पहुँचका भरमा नेतृत्वमा ल्याइनु गलत हो ।

प्रत्येक प्रदेशबाट अभियानमा योगदान गर्नसक्ने साथिहरुलाई सहकारी बैंकको नेतृत्वमा ल्याइयो भने सहकारी बैंकले छिटै प्रगती गर्छ र सहकारी बैंकलाई प्रगतीमा लानु भनेको सहकारी अभियानको साख जोगिनु हो,  अभियानको उपलब्धी हो । सहकारी बैंक ३१ हजार सहकारी र त्यसका सदस्यकोलागि गर्वगर्न लायक संस्था बन्नसक्छ, यदी हामीले सहि नेतृत्व छनोट गरेर पठाउन सक्यौं भने ।

राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय स्तररमा पनि सहकारी अभियानको उपलब्धीका रुपमा सहकारी बैंक देखाउन सकिन्छ । त्यसैले यस पटकको सहकारी बैंकको संचालक छनोटमा हेलचेक्र्याइ नगरौं । सहकारी बैंकको नेतृत्वकालागि दलको झोला बोक्न छोड्नुपर्यो सहकारीकर्मीहरुले अनि मात्र सहि र सक्षम नेतृत्व आउँछ । राजनीति गर्न अन्य प्रसस्त प्लेटफर्महरु छन्, सहकारीमा राजनीति नगरौं, राजनीतिले गर्दा सहकारीको अवस्था के भएको छ तपाई हामीले देखिसक्यौं ।

सहकारी अभियानले सम्मान गरेका साथीहरुलाई चयन गरौं

जगतकृष्ण श्रेष्ठ: प्रमुख कार्यकारी अधिकृत ( बंगलामुखि साकोस, भक्तपुर )

वर्तमान अवस्थामा समग्र सहकारी प्रति आम मानिसहरुको धारणा सकरात्मक छैन । सहकारीमा देखिएका विकृति विसंगतीको मुख्य कारण सहकारीमा राजनीतिक दलको हस्तक्षेप हो । सहकारीका संघ संगठनमा दलको हस्तक्षेपका कारण सहकारीको वर्तमान अवस्था सिर्जना भएको हो ।

त्यसैले अव हुने सहकारीका संगठनको नेतृत्वमा नन्पोल्टिकल पार्टीको नेतृत्व भयो भने ती संस्था ब्यवसायिक बन्छन् । त्यसैले हामी चाहन्छौं सहकारी बैंकको पनि नेतृत्वमा नन्पोल्टिकल ब्यक्तिहरु आउन । सहकारी बैंकको अहिलेसम्मको नेतृत्वहरुले गरेको काम र सहकारी बैंकको स्प्रिड मिलेको छैन ।

विगत ४ वर्षदेखि बैंक लगातार घाटामा छ, सदस्यहरुलाई मुनाफा बाँढ्न सकेको छैन, लगानी जथाभावी छ, धेरै सहकारीहरुको बैंक बन्न सकेको छैन । सहकारीको ब्याकग्राउण्डबाट आएको नेतृत्वले सहकारी अभियानकै लागि काम गर्छ, सहकारी हितकैलागि काम गर्छ अनि सहकारी संस्थाको लागि काम गर्छ ।

सहकारीलाई समस्या पर्दा सहकारी बैंक सारथी बन्नसक्नु पर्छ । तर सहकारी बैंक सिमित सहकारी र सिमित संचालकको बैंक जस्तो भएको छ । अहिले सहकारी बैंकले चाहेर पनि पूर्ण वित्तिय सेवा प्रवाह गर्न सकेको छैन, नीति नियम र कानुनी जटिलताका कारण ।

ती जटिलताहरुको गाँठो फुकाउनसक्ने र सहकारी बैंकलाई सहकारी संस्थालाई आवश्यक सम्पूर्ण सेवा प्रवाह गर्नसक्ने बनाउन सरकारसंग टेवलटक गर्ने ज्ञान र सिप भएको पूर्ण ब्यवसायिक टिमको आवश्यकता छ । अवको निर्वाचनमा सवै सदस्य साथीहरुले सहकारी अभियानमा योगदान गरेका, आफ्ना प्रारम्भिक संस्था राम्रो संग संचालन गरेका सहकारी अभियानले सम्मान गर्ने वर्गका साथीहरुलाई चयन गरेर नेतृत्वमा पठाऔं भन्न चाहन्छु ।

पार्टीले पठाएकालाई सर्वसम्मत स्विकार्ने परिपाटीलाई बहिस्कार गर्न सक्नुपर्छ

दिपा क्षेत्री: ब्यवस्थापक ( दक्षिणबाराही महिला साकोस, भक्तपुर )

सहकारी बैंकको २२ औं बार्षिक साधारण सभाले सहकारी अभियानले खोजे र चाहे जस्तै संचालकको टिम आओस् अग्रिम शुभकामना छ । प्रारम्भिक सहकारीले सहकारी बैंकबाट धेरै सेवाको अपेक्षा गरेको छ । सहकारी बैंकबाट वित्तिय मात्र नभएर सहकारी सम्वन्धि शिक्षा लालिमको पनि अपेक्षा छ ।

सहकारी बैंकले सहकारीका लागि वित्तिय शिक्षालगायत आवश्यक तालिमहरु निरन्तर दिनुपर्छ । सहकारी बैंकले सिङ्गो सहकारी अभियानकालागि काम गर्नुपर्ने अवस्था छ अहिले । त्यसैले ब्यक्तिगत स्वार्थ, पार्टिगत स्वार्थ भन्दा माथि उठेर पूर्णरुपमा अभियानकालागि योगदान गर्नसक्ने नेतृत्व चयन गर्नुपर्छ ।

त्यस्तो टिम बनाएर नेतृत्वमा पठाउन सकियो भने अभियानले उपलब्धी हाँसिल गर्नसक्छ, सहकारीप्रति भएका आम सर्वसाधारणदेखि राज्यको दृष्टिकोण बदल्नसक्ने क्षमता भएका, ज्ञान भएका योग्य र सक्षम नेतृत्व चयन गर्न सदस्यहरुलाई आग्रह गर्दछु ।

सहकारी संस्थालाई जस्तै मुस्किल परेपनि अभिभावक बनेर उभिनसक्ने सहकारी बैंक बनाउने ढृण प्रतिवद्धता भएका संचालकहरु चयन गर्नुपर्छ भन्ने लाग्छ । अहिलेको अवस्थामा सहकारी बैंकले महिलाद्धारा संचालित अनि उत्पादन तथा सेवा सहकारीहरुलाई पनि प्राथमिकतामा राखेर सेवा प्रदान गर्ने, राज्य संग लविङ गरेर यस्ता सहकारीहरुलाई सहुलियतको कर्जा प्रवाहको ब्यवस्था मिलाउन जरुरी छ ।

त्यसैले विगतदेखि नै सहकारी अभियानको नेतृत्व सहकारीबाट नै चुन्न पाउनुपर्छ भनेका हौ । तर त्यो अवस्था आएको छैन, राजनीतिक दलले नेतृत्व चयन गरेर पठाइरहेको अवस्था हो, त्यसैले गर्दा सहकारीको अहिलेको अवस्था हामी सबैले भोग्नुपरेको छ ।

त्यसैले यो पटक सहकारी बैंकको नेतृत्व चयनमा सहकारी अभियानले मतदान गरेर चयन गर्न पाउनुपर्छ र पार्टीले पठाएकालाई सर्वसम्मत स्विकार्ने परिपाटीलाई बहिस्कार गर्नसक्नुपर्छ । त्यसो भयो भने सहकारी अभियानमा योगदान गर्ने बास्तविक सहकारीकर्मी ओझेलमा पर्नेथिएनन् उनीहरुको योगदानको कदर पनि हुन्छ र त्यस्ता ब्यक्तिहरुले अभियान कै लागि काम गर्छन । त्यसैले सवै सदस्यहरुलाई मेरो आग्रह छ की ! सहकारी अभियानमा योगदान गर्ने सच्चा सहकारीकर्मी चयन गर्नमा नचुकौं र सहकारी अभियान बचाऔं ।



Leave a comment