पछिल्लो समय सहकारीमा राजनीतिक दलको हस्तक्षेपले गर्दा सहकारीकर्मी सही नेतृत्व छनोट गर्ने अवसरबाट बञ्चित हुँदैगएका छन् । सहकारीको जिल्लादेखि केन्द्रसम्म र सहकारी बैंक तथा राष्ट्रिय सहकारी महासंघसम्म नेतृत्व छनोटमा दलकै हस्तक्षेप बढेकोले सहकारीमा योगदान गरेका अभियानकर्ताहरु अभियानको नेतृत्वमा पछि पर्दैगएका छन् । जसका कारण एउटा त सहकारी अभियानले सहि गति लिन सकिरहेको छैन भने अर्को सहकारीको शाख गुम्दैगएको छ। त्यसैले सहकारी अभियानको हितकोलागि सहकारीको नेतृत्व पनि सहि हुनुपर्छ र नेतृत्व छनोट सहकारीकर्मीले नै गर्न पाउनुपर्ने आवाज उठिरहेको छ । त्यसैले सहकारी अखबारले आसन्न सहकारी बैंकको निर्वाचनलाई मध्यनजर गर्दै सहकारीकर्मी प्रतिनिधि पात्रहरुसंग सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला भन्ने जिज्ञासालाई निरन्तरता दिइएको छ । उहाँहरुको बिचार जस्ताको त्यस्तै ।
निर्वाचन निर्देशिकाबाटै गैह्रसहकारी ब्यक्ति रोक्नुपर्छ
केबी लामा स्याङ्तान - (प्रमुख कार्यकारी अधिकृत, बिन्धवासिनी साकोस, काभ्रे)
सहकारीहरुको एउटा मात्रै बैंक राष्ट्रिय सहकारी बैंक २०६० सालमा स्थापना हुँदैगर्दा बिन्धवासिनी साकोसले सुरुदेखि नै कारोबार गर्दैआएको हो । सुरुमा सहकारी बैंकमा सहकारीहरुको बर्गिकरण (क,ख,ग,घ) अनुसार प्रतिनिधित्व गर्ने प्रकृया थियो । त्यसपछि प्रदेशस्तरिय संचालक समित चयन गर्ने प्रचलन आयो त्यसपछि सदस्यबाट प्रत्यक्ष संचालकहरु चयन गर्ने प्रकृया थियो ।
अव अहिले सहकारी बैंकलाई राष्ट्र बैंकको मापदण्ड र निर्देशन आएको छ । त्यसैले राष्ट्र बैंकको मापदण्ड अनुसार संचालक समिति चयन हुन्छ होला सायद । सहकारी नियमन प्राधिकरणले पनि सहकारी संघ संस्थामा बढीमा ९ जनाको संचालक समिति बनाउने मापदण्ड जारी गरेको अवस्था हो ।
त्यसैले सहकारी बैंकको पनि बढीमा ९ जनाको संचालक हुनेगरी नयाँ संचालक समिति आएको छ । सर्वप्रथम विज्ञ सदस्य मनोनित गर्ने भन्दापनि सभाले नै चयन गर्ने ब्यवस्था हुँदा राम्रो हुन्छ । विगतका केही वर्षदेखि सहकारी बैंकले सदस्य संस्थालाई लाभांस वितरण गरेको अवस्था छैन, जसले गर्दा ठूलाठूला संस्था जसले धेरै सेयर लगानी गरेको छ त्यस्ता संस्थाको नाफामा प्रत्यक्ष असर गरेको छ ।
सदस्य संस्थालाई प्रतिफल दिनेगरी काम गर्नसक्नु पर्छ भन्ने अवको नेतृत्वको सोच हुनुपर्छ । त्यसकालागि वित्तिय क्षेत्रको ज्ञान भएको हुनुपर्छ, हैन सहकारी बैंकको नेतृत्वमा गएपछि सिक्छु, जानीहालिन्छ नी भन्ने सोचका मानिसले यो क्षेत्रको नेतृत्व गर्न सक्दैनन् । त्यस्ता मानिसहरुलाई हामीले चुनेर नेतृत्वमा पठाउनु पनि हुदैन ।
बैंकिङ नलेज भएका, सहकारीको दाग नलागेका र विषय विज्ञहरुलाई नेतृत्वमा ल्याउनु पर्छ जसले गर्दा सहकारी अभियान कै इज्जत बढोस् । ब्यवस्थापन मात्र राम्रो र इमान्दार भएर हुँदैन, भिजना भएका संचालकहरु पनि चाहिन्छ । संचालकले ब्यवस्थापनलाई हस्तक्षेप नगरी काम गर्ने बातावरण पनि हुनपर्छ ।
सहकारी बैंकको विकल्प खोज्नु नपर्नेगरी लिड गर्नेखाले नेतृत्वको आवश्यकता छ । सहकारीको मुल्य मान्यता अवलम्वन गराउनसक्ने र सिद्धान्तमा हिड्नसक्ने ब्यक्तिहरु आउनुपर्छ । संगसंगै स्वार्थरहित र स्वार्थ बाझिनेगरी कुनैपनि ब्यक्तिहरु आउनुभएन । अभियानले पहिचान गरेको र अभियानले सर्वस्विकार्य भएको र पार्टीगत आस्था मात्र भएको अभियानले नस्विकारेको ब्यक्तिबाट सहकारी बैंकको उज्जवल भविश्य छैन ।
वर्तमान अवस्थामा सहकारी बैंकको निर्वाचन निर्देशिकामा अझै कडाइगरेर लानुपर्ने दखिन्छ । लचिलो बनाउने भन्दा पनि गैह्र सहकारीकर्मी वा राजनीतिक पकड बढी भएको ब्यक्तिले बैंक संचालकको उमेदवारी नै दिन नमिल्ने प्रकृया बनाउँदा अझ राम्रो हुन्थ्यो र त्यस्ता ब्यक्तिहरुले प्रवेस पाउने थिएनन् ।
हाम्रालाई भन्दापनि राम्रालाई चयन गरौं
राजेन्द्र कोङ्गा -प्रवन्धक (सिड नेपाल बहुउद्देश्यीय सहकारी, बनेपा ४ नाला काभ्रे)
सर्वप्रथम सहकारी बैंकको साधारण सभा सफलतापूर्वक सम्पन्न भएको हार्दिक बधाई तथा आगामी नयाँ नेतृत्वकोलागि सफलताको शुभामाना ब्यक्त गर्न चाहन्छु । सहकारी बैंकले बाणिज्य बैंक, विकास बैंकहरु संगको प्रतिष्पर्धा गरेको होकी जस्तो देखिएको छ।
सहकारी बैंक सहकारी संस्थाको बैंक भएको हुनाले यो नाफालाई मात्र केन्द्रमा राख्नुभएन, सहकारीको बैंक हुन जरुरी छ । ३१ हजार सहकारीहरु छन्, सहकारी बैंककालागि ठूलो बजार हो यसले अन्य बैंक वित्तिय संस्था सरह ब्याज, बचत र लगानीमा प्रतिष्पर्धा गर्न जरुरी छैन । सहकारीलाई सेवा प्रवाहमा ही कतै चुकेको हो की जस्तो हामीलाई महसुस भएको छ ।
वर्तमान अवस्थामा सहकारी बैंक पनि राजनीतिक दलको हस्तक्षेपमा परेको हुनाले पूर्ण ब्यवसायिक संस्था बन्न सकेको छैन, सदस्य संस्थालाई लगानीको प्रतिफल दिन सकेको छैन, सहकारी संस्थाहरुलाई तल्लो तहसम्म पुगेर लगानी गर्न, उनीहरुलाई सहकारी बैंक छ हाम्रो पछाडी भन्ने आभाष दिलाउन सकेको छैन ।
त्यसैले बैंकमा अव आउने संचालकहरु राजनीतिबाट बाहिर रहेका, सहकारी अभियानमा योगदान गरेका, स्वच्छ छवी भएका र अभियानले पत्याएका ब्यक्तिहरु चयन गर्नुपर्छ । भिजन र बैंकको अवको लक्ष्य केहो भनेर निर्धारण गर्नसक्ने प्लान भएका ब्यक्तिहरुलाई सदस्यले चयन गर्नुपर्छ ।
यसपालि सहकारी बैंकको नेतृत्व चयन गर्दा सदस्य ज्यूहरुले हाम्रालाई भन्दा पनि राम्रालाई चयन गरेर सही नेतृत्व पठाऔं जसले सहकारी अभियानलाई सम्मानजनक तरिकाले उचाइमा लानसकोस् । सहकारी बैंकले देशभरिका सवै प्रकृतिका सहकारीलाई समान ब्यवहारको पनि अपेक्षा गर्दछु । सिड नेपाल बहुउद्देश्यीय सहकारीले अहिले सदस्यहरुलाई जन्मदेखि मृत्युसम्मको सेवा प्रवाह गरिरहेको छ।
विशेषगरी महिला सदस्यहरुको लागि वित्तिय शिक्षा प्रदान गर्नेदेखि उनीहरुलाई उद्यमी, स्वरोजगार बनाउने हिसावमा विना ब्याजका साथै सहुलियत कर्जा प्रवाह गर्ने गरेको छ । साथै कृष सदस्यहरुलाई कृषि सामाग्री, मल बीउबिजन समेत सहुलियतमा प्रदान गर्दैआएको छ । हामीसंग १० वटा महिला समुह र ४ हजार ४ सय सदस्य रहेका छन् ।
सहकारी बैंक राजनीति गर्ने थलो बनाउनेगरी नेतृत्व छनोट नगरौं
श्याम मंग्राती - प्रवन्धक (हाम्रो सेवा साकोस, बनेपा ४ नाला काभ्रे)
वर्तमान समयमा सहकारीहरु धेरै कठिनाइलाई चिर्दै अघि बढीरहेका छन् । सरकारले नै साना र ठूला सहकारी भनेर विभाजन गरेको देखिन्छ । राज्यका धेरै निकायले सहकारी नियमनको जिम्मेवारी लिएका छन् । ठूला सहकारीहरुलाई मात्र हेरेर बनाइएका राज्यका बग्रेल्ती नीति नियमले साना सहकारीलाई कामगर्न समस्या बनाएको छ ।
ठूला भनिएका सहकारीहरु बैंक वित्तिय संस्थासंग प्रतिस्पर्धामा गएका छन् भने साना सहकारीहरु सदस्यलाई सेवा दिने हिसावमा अघि बढेका छन् । अहिले सहकारी बैंकको नेतृत्व चयन हुँदैछ, त्यसैले बैंकमा अव राजीनितक नेतृत्वले चयन गरेको भन्दा सदस्यले सहकारीको ब्यवहारलाई बुझेको नेतृत्व चयन गर्नुपर्छ भन्न चाहन्छु ।
किनकी सहकारीलाई जे पनि जसले पनि थरी थरीका नीति नियम ल्याइराख्ने भए, कसैको पनि स्थायित्व भएन । त्यसैले सहकारी अभियानको नेतृत्वको कमजोरीका कारण यो सवै भएको हो भन्न चाहन्छु । त्यसैले सहकारीको दिगो नीति निर्देशनका लागि पहल गर्नसक्ने सरकारलाई सहकारी बुझाउनसक्ने सहकारी अभियानलाई नजिकबाट नियालेको ब्यक्तिहरुको खाँचो छ । सहकारीहरुले लागु गर्नसक्ने सहकारीको ब्यवहार र आचरण बुझेको ब्यक्तिहरु आएभने त्यस्ता कानुन निर्माणमा राज्यलाई सहयोग गर्नसक्छन् ।
सहकारीहरुले आफ्नै विनियम बनाएर सदस्यको हितकोलागि बचत र ऋणको काम गरिरहेको हुन्छन्, कहिलेकाँही सदस्यको आवश्यकता र मजबुरीलाई पढेर पनि उसलाई सहयोग गर्नुपर्ने अवस्था पनि आउँछ, तर राज्यको सहकारी कानुन, निर्देशनले धेरै कुरामा सहकारीता मर्ने, सदस्यले सहकारी नभएर बैंक वित्तिय संस्थामा कारोबार गरेको भान हुने अवस्था बनाएको छ ।
त्यस्ता कुराहरुलाई चिरेर सहकारीलाई सहकारी कै रुपमा संचालन गर्नेगरी सरकारलाई नीति निर्माणमा सहयोग गर्ने क्षमताको नेतृत्व अहिलेको आवश्यकता हो । त्यसैले सहकारी बैंक राजनीति गर्ने थलो बनाउनेगरी नेतृत्व छनोट नगरौं, धेरै सोचेर विचार गरेर सहकारी अभियान मै योगदान गरेका ब्यक्तित्वहरुलाई नेतृत्वमा ल्याऔँ ।
सहकारीलाई बैंक वित्तिय संस्था बनाउन खोजिँदैछ, त्यो मारबाट जोगाउने नेतृत्वको खाँचो छ । सहकारी बैंकले पनि साना सहकारीलाई प्राथमिकता दिएर कारोबार गर्नुपर्छ, ठूला भनिएका सहकारी बास्तवमै सहकारी नहुनसक्छन्, किनकी त्यस्ता सहकारीले आफ्ना सदस्यलाई चिन्दैनन् ।
तर साना सहकारीले आफ्ना सदस्यलाई चिन्छन्, सदस्यको आनीबानी थाहापाएका हुन्छन् र उनीहरुलाई सहकारीकै रुपमा सेवा दिइरहेका हुन्छन् । त्यसैले सहकारी बैंकको आवश्यकता साना सहकारीहरुलाई हो र सहकारी बैंक पनि त्यस्ता संस्थाको बैंक बन्नसक्नु पर्छ ।
Leave a comment