हाइलाइट

सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला ? 

सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला ?  :: Sahakari Akhabar

पछिल्लो समय सहकारीमा राजनीतिक दलको हस्तक्षेपले गर्दा सहकारीकर्मी सही नेतृत्व छनोट गर्ने अवसरबाट बञ्चित हुँदैगएका छन् । सहकारीको जिल्लादेखि केन्द्रसम्म र सहकारी बैंक तथा राष्ट्रिय सहकारी महासंघसम्म नेतृत्व छनोटमा दलकै हस्तक्षेप बढेकोले सहकारीमा योगदान गरेका अभियानकर्ताहरु अभियानको नेतृत्वमा पछि पर्दैगएका छन् । जसका कारण एउटा त सहकारी अभियानले सहि गति लिन सकिरहेको छैन भने अर्को सहकारीको शाख गुम्दैगएको छ । त्यसैले सहकारी अभियानको हितकोलागि सहकारीको नेतृत्व पनि सहि हुनुपर्छ र नेतृत्व छनोट सहकारीकर्मीले नै गर्न पाउनुपर्ने आवाज उठिरहेको छ । त्यसैले सहकारी अखबारले आसन्न सहकारी बैंकको निर्वाचनलाई मध्यनजर गर्दै सहकारीकर्मी प्रतिनिधि पात्रहरुसंग सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला भन्ने जिज्ञासालाई निरन्तरता दिइएको छ । उहाँहरुको बिचार जस्ताको त्यस्तै ।

अभियानमा सडेगलेको मान्छेलाई सहकारी बैंकमा नल्याऔँ

गणेशकुमार आश ( अध्यक्षः आइडियल साकोस, राजविराज सप्तरी )

सहकारी बैंक नेतृत्व छनोटको संघारमा रहेको छ । बैंकमा यतिखेर इमान्दार र निष्ठावान ब्यक्तिहरुको खाँचो छ । जसले सहकारी बैंकलाई हाँक्न सकोस् । पहिलाका अधिकांश संचालकहरु मतलवी, आफ्नो स्वार्थकोलागि मात्र संचालक भएको पाइयो । जसका कारण सहकारी बैंकको यो अवस्था भएको हो।

मैले सहकारी बैंकको हरेक गोष्ठी सभा सम्मेलनमा दोहोरो पद, संचालकहरुले चलाएको ऋणजस्ता विकृतिका कुराहरु उठाउँदै आएको हो त्यसो गर्नुहुन्न भनेर, मेरो कुरा सुनिएन आज राष्ट्र बैंकले त्यही निर्देशन जारी गर्यो । त्यसैले म के भन्छु भने सहकारीका संचालकमा सुशासन हुनु जरुरी छ, त्यो भएन भने समस्या आउँछ ।

अझै पनि सहकारी बैंकमा राजनीतिक चलखेल छ जसले अभियानलाई राम्रो गर्दैन । त्यसैले हामीहरुले सल्लाह नै गरिसक्यौं कि ! राजनीतिको छाता बोकेर आउने उमेदवारलाई हामी भोट नहालौँ । सहकारी बैंकको नेतृत्वमा जान चाहनेहरुले आफ्नो संस्था र सहकारी बैंकसंग गरेको कारोबार पनि देखाउनु पर्छ ।

मैले बाराम्बार भनेको छु, अव सहकारी अभियानमा सडेगलेको मान्छेलाई सहकारी बैंकमा नल्याउनुस । सहकारीको विषयमा निश्कलंकित हुनुपर्छ, अनि मात्र सही नेतृत्व दिनसक्छ । हाम्रो संस्थाले एक करोड भन्दा बढी नै सहकारी बैंकको सेयर खरिद गरेको छ ।

म २८ वर्ष भयो सहकारी अभियानमा लागेको, सहकारी बैंक राजविराज शाखाको ब्यवस्थापन समितिको संयोजक पनि हो । सहकारी बैंकमा दोहोरो भूमिकाको ब्यक्तिलाई निषेध गरौं, दलले पद बाँढनाले सहकारीले सहि नेतृत्व नपाएको हो त्यसैले सवै सदस्य सचेत भएर नेतृत्व चयन गर्न सबैलाई अनुरोध छ ।

राजनीतिक दल र नेताबुझेकोलाई हैन सहकारी बुझेको मान्छेलाई भोट हालौं

रामसुवेदी दास ( अध्यक्षः नगराईन साकोस (नगराइन चोक, जनकपुर धनुषा )

सहकारी क्षेत्र पार्टी प्रतिनिधिहरुले नेतृत्व गरेको कारण धराप भएको हो । सहकारीमा पार्टीको हस्तक्षेपले गर्दा अनि सिमित ब्यक्तिहरुको ब्यक्तिगत स्वार्थले गर्दा सहकारीमा सहि नेतृत्व नभएको हो । सहकारीका नेतृत्वहरु सहकारी मूल्य मान्यता र सिद्धान्त छोडेर भनौं आफ्नो बाटो हिड्न छोडेर अरुले खनेको बाटोमा हिडेकोले बाटो बिराए भनेको हो र त्यस्तैपनि भएको छ । नेतृत्वले हिडेको बाटोमा अरु हिड्न खोज्दा दुर्घटना भएको हो ।

सहकारी सदस्यको उन्नती प्रगतीकालागि खोलेको हो सहकारी तर धेरै सहकारी सिमति ब्यक्तिको प्रगतीमा लागेकोले बदनाम भइरहेको छ । अव सहकारीलाई पनि नीजि बैंक जस्तो बनाउन खोजिरहेछ, बैंकमा पहुँच नपुगेका, बैंक भन्दा सहज र सरल तरिकाले सेवादिन सहकारी स्थापना भएको नी, फेरी अव सहकारीलाई बैंकको जस्तो किन बनाउन खाजिंदैछ, त्यो सबै सहकारीको नेतृत्वमा दुरदर्शिता नभएर हो । त्यसैले अव सहकारी संघ तथा बैंकको नेतृत्व चयन गर्दा दुरदर्शी नेतृत्व चयन गरौं।

नेताको पछिपछि लागेर नेतृत्वमा आउन खोज्नेलाई पहिचान गरेर हटाउनु पर्छ । पार्टी र सहरका मात्र सहकारी बुझेको हैन, गाँउगाँउमा संचालन भएका सहकारी र तिनिहरुले सदस्यलाई दिएको सेवा, अनि अभियानमा खेलेको भूमिकालाई आत्मादेखिनै बुझेको मानिस नेतृत्वमा आउनु पर्छ । हामी पनि यसपालि राजनीतिक दल र नेतालाई बुझेको मान्छेलाई भोट हाल्दैनौं, सहकारी बुझेको मान्छेलाई भोट हाल्छौं । काठमाडौंमा सदस्यको भन्दापनि ब्यापारीको मन बुझेर सहकारी चलाएका छन् तर गाँउमा सदस्यको मन बुझेर सहकारी संचालन गरेका छन् ।

पूर्ण ब्यवसायिक भिजन भएको मानिस चयन गरौं

जयनाथ मण्डल ( प्रमुख कार्यकारी अधिकृत: बैष्णवी साकोस, जनकपुर )

सहकारी बैंक सवै प्रदेशका सहकारीहरुको बैंक हो । यसले सवै प्रकृतिका सहकारीहरुलाई समान ब्यवहार गर्नुपर्छ । सहकारीबाट मात्र बचत उठाएर सहकारीलाई लगानी गर्दा ब्याजदरमा सहुलियत दिन सकेको छैन, केही वर्षदेखि सदस्य संस्थालाई नाफा पनि बितरण गर्न सकेको छैन ।

यसका धेरै चुनौतिहरु छन् । त्यसैले अवको निर्वाचनबाट संचालकमा निर्वाचित हुने, नेतृत्व गर्नेहरु पूर्ण ब्यवसायिक भिजन भएको मानिसहरु आउनुपर्छ । हामीलाई भाषण गरेर हैन, काम गरेर देखाउनसक्ने नेतृत्व चाहिएको छ । त्यसैले सवैले हाम्रालाई हैन, राम्रालाई चयन गरौं ।

सहकारी बैंक कस्तो बनाउने भन्ने संचालकहरुले बनाउने नीतिमा भर पर्ने हुनाले सदस्य मैत्रि बनाउने, सदस्यको आवश्यकता अनुसार सेवादिने नीति वनाउन आवश्यक छ, नयाँ संचालकहरुले । सहकारी बैंकलाई राष्ट्र बैंकले नियमन गर्ने भएकोले राष्ट्र बैंकको निर्देशन मान्दै सहकारीता पनि नमर्नेगरी नीतिहरु बनाएर लागु गर्नुपर्छ । त्यसैले अव राजनीतिक दलले पठाएको मान्छेलाई भन्दा पनि सहकारीमा काम गरेको र सहकारी बुझेको मान्छेलाई चयन गरेर पठाउनु पर्छ ।

सहकारी बैंकलाई ब्यवसायिक र सहकारीहरुकै बैंक बनाउने चुनौती छ

नविनकुमार कर्ण ( प्रमुख कार्यकारी अधिकृतः आस्था साकोस, जनकपुर )

वर्तमान समयमा नेपाल राष्ट्र बैंकको निर्देशन सहकारी बैंकको नेतृत्वमा आउनेहरुकालागि ठूलो चुनौती हुन्छ । त्यसैले सक्षम र सबल संचालक समिति आउनुपर्छ, त्यो भनेको वित्तिय ज्ञान भएको, वित्तिय क्षेत्र र सहकारीको पनि मर्म बुझेको मानिस आउनुपर्छ भन्ने लाग्छ ।

हिजोसम्म सहकारीमा पनि राजनीतिक दलको प्यानल बनाएर निर्वाचन हुँदैआएको अवस्था हो । तर अव चाही त्यो अभ्यासलाई त्याग्नु पर्छ, सहकारीकर्मीहरु बिच प्रजातान्त्रिक अभ्यासबाट नेतृत्व चयन हुनुपर्छ । जसले सहकारी अभियानमा लागेको अभियानलाई योगदान गरेको र निष्पक्षरुपमा कुनै लोभलालच नराखी नेतृत्व दिनसक्ने नेतृत्व चयन गरौँ भन्न चाहन्छु । बैंकले हामीसंग गरेको ब्यवहार राम्रो छ, त्यो ब्यवस्थापनको भूमिका हो र हामीले पनि निरन्तर कारोबार गरिरहेका छौं ।

हाम्रो संस्थामा अहिले १६ हजार सदस्य रहेका छन् र उनिहरुसंग संस्थाले बचत ऋणको कारोबार गरिरहेको छ । सहकारी बैंकलाई ब्यवसायिक संस्था, सहकारीहरुको बैंक बनाउने चुनौती छ, त्यो चुनौती सामना गर्नसक्ने संचालकहरु छनोट गरेर पठाउनुपर्छ भन्न चाहन्छु ।

वित्तिय ज्ञान भएको, वित्तिय क्षेत्र बुझेको ब्यक्ति आउन पर्छ

विजयकुमार महतो ( ब्यवस्थापक: शुभश्री साकोस धनुषा )

अहिलेसम्म सहकारी बैंकले आफूलाई मात्र सहज हुनेगरी सहकारीहरु संग कारोबार गरेको देखिन्छ, सहकारीलाई अफ्ठ्यारो पर्दा सहयोग गर्नेभन्दा पनि सहकारी बैंकमा तरलताको अवस्था हेरर संस्थालाई ब्यवहार गर्छ । सहकारी बैंकलाई सही दिशानिर्देश गर्नेखाले परिपक्क नेतृत्व आउन जरुरी छ ।

सहकारी बैंक पूर्णरुपमा वित्तिय क्षेत्र हो वित्तिय कारोबार गरेको हुन्छ । त्यसैले प्रविधि र वित्तिय ज्ञान भएको, वित्तिय क्षेत्र बुझेको ब्यक्ति आउन जरुरी छ । सहकारी बैंकलाई राष्ट्र बैंकको पछिल्लो निर्देशनले धेरै स्टिक गरेको देखिन्छ, त्यो मापदण्डलाई पुरा गर्नसक्ने ऐन कानुन पालना गरेर सदस्य संस्थाहरुलाई सेवा प्रभाव गर्नसक्ने, अभियानमा योगदान गर्नसक्ने नेतृत्वको आवश्यकता छ।

सहकारी बैंकको चुक्ता पूँजी साढे २ अर्ब भनेको छ, प्राथमिक पूँजी ४ प्रतिशत र कूल पूँजीकोष ८ प्रतिशत भनेको छ, यस्ता निर्देशनहरु पुरा गर्नसक्ने सहकारी बेंकका चुनौतीहरुलाई साामना गर्नसक्ने संचालकहरुको टिमको आवश्यकता छ । यसको अर्थ सहकारीमा बसेर काम गरेको वित्तय ज्ञान भएको, ब्यवसायिक संचालकहरुको खाँचो हो र त्यही प्रकारको नेतृत्व चयन गरेर पठाउनुपर्छ ।

सहकारी बैंकले राज्यसंग सहुलियतको कर्जा लिएर साना साना सहकारी मार्फत सदस्यलाई लगानी गर्नसक्नुपर्छ । नयाँ संचालकहरुमा सहकारी अभियानको लागि केही गर्छौ र अभियानलाई उँचो बनाउछौं भन्ने ढृणता, आत्मविश्वास र अभियान बुझेको ब्यक्तिहरुलाई छनोट गरौं ।



Leave a comment