काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको २२ औं स्थापना दिवस कार्यक्रममा जिललाका उत्कृष्ट साकोहरु सम्मानित भएका छन् । बैशाख २१ गते भएको संघको स्थापना दिवस कार्यक्रमको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्धघाटन गरेका थिए ।
उक्त अवसरमा विगतमा सहकारी अभियानमा योगदान पुर्याउने संघका निवर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाजु सहित निवर्तमान संचालक र निवर्तमान लेखा समिति संयोजक र सदस्यहरूलाई कदरपत्रद्वारा सम्मान गरेको थियोे । साथै, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८२ अन्तर्गत जिल्लास्तर र नगरस्तरका उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कृत गरिएको छ।
जिल्लास्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार पारिजात बचत तथा ऋण सहकारी संस्थाले प्राप्त गरेको छ । त्यसैगरी नगरस्तरमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि., सिमल बचत तथा ऋण सहकारी संस्था लि. र झझल्को बचत तथा ऋण सहकारी संस्था लि. पुरस्कृत भएका छन् ।
प्रभातफेरी कार्यक्रम अन्तर्गत विभिन्न नगरपालिकाबाट उल्लेखनीय सहभागिता जनाउने सहकारी संस्थाहरू भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., बाराही बचत तथा ऋण सहकारी संस्था लि., लोकेश्वर बचत तथा ऋण सहकारी संस्था, शुभकामना बचत तथा ऋण सहकारी संस्था पुरस्कृत भएका छन् ।
त्यसैगरी समाजसुधार बचत तथा ऋण सहकारी संस्था लि., जनता बचत तथा ऋण सहकारी संस्था लि., युवा बचत तथा ऋण सहकारी संस्था लि., मुहान गणेश बचत तथा ऋण सहकारी संस्था लि., चम्पक बचत तथा ऋण सहकारी संस्था लि.र दिपज्योती बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहभागिता पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले कुनै पनि समस्याको समाधान बन्द गरेर नहुने भन्दै अध्यादेशले बचत तथा ऋण सहकारी संघहरुले स्थापनाकाल देखि गर्दै आएको कार्यमा रोक लगाउनेगरी आएको बताए । राज्यले सहकारीमा बचत रकम फिर्ता र ऋण असुलीका समस्याको समाधानका नाममा सहकारी संघहरुको बचत तथा ऋणको कारोबार रोकेर झन् समस्या बल्झिने उनको भनाइ थियो ।
उनले सहकारीहरू करेक्सन मोडमा जानुपर्ने भन्दै सहकारीको नाम बेचेर केहीले व्यक्तिगत स्वार्थ पूरा गरे पनि समग्र सहकारी अभियानलाई एउटै डालोमा राखेर हेर्न नहुने बताए । उनले अध्यादेश संशोधन हुनेमा आशा एवं विश्वास रहेको बताए ।
संघका अध्यक्ष हरिकृष्ण बल्लले जनताले नचाहेका अव्यवहारीक ऐन नियमको कार्यान्वयन नहुने बताए । उनले सदस्यहरुको साथ सहयोगमा संघ अबका दिनमा अझ सशक्त ढंगले अघि बढ्ने र सदस्य संस्थाहरूको सुरक्षाका लागि प्रतिबद्ध रहने बताए ।
निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजुले राष्ट्र बैंकले सहकारी हेर्न नसक्ने भन्दै सहकारीका लागि छुट्टै र प्रभावकारी नियमनकारी निकायको आवश्यकता रहेको बताए । उनले संघहरुमा सदस्य नभएर संस्थाहरुमा समस्या आएको स्पष्ट पादै संघहरुमा संस्थाहरुको अनिवार्य आबद्ध हुनुपर्ने कानुनी व्यवस्था हुनुपर्नेमा उल्टै संघहरुलाई कमजोर बनाउने गरी अध्यादेश जारी भएकोमा विरोध गरे ।
कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका पुर्व अध्यक्ष राधेश्याम सुवाल, जिल्ला सहकारी संघका उपाध्यक्ष विरेन्द्र भक्त प्रधानाé, जिल्ला बहुउद्देश्यीय सहकारी संघका कार्यवाहक अध्यक्ष टंकराज काफ्ले, कर्जा सूचना केन्द्रका टिम लिडर कृषा थापा लगायतको उपस्थिति रहेको थियो । कर्जा सूचना केन्द्रका जुनियर अफिसर अभिषेक थापाले सहकारीहरू केन्द्रमा आबद्ध हुनुपर्ने सम्बन्धी प्राविधिक प्रस्तुती गरेका थिए । कार्यक्रम संघका सदस्य संस्थाहरुबाट २३० जनाको सहभागिता रहेको थियो ।
Leave a comment