पछिल्लो समय सहकारीमा राजनीतिक दलको हस्तक्षेपले गर्दा सहकारीकर्मी सही नेतृत्व छनोट गर्ने अवसरबाट बञ्चित हुँदैगएका छन् । सहकारीको जिल्लादेखि केन्द्रसम्म र सहकारी बैंक तथा राष्ट्रिय सहकारी महासंघसम्म नेतृत्व छनोटमा दलकै हस्तक्षेप बढेकोले सहकारीमा योगदान गरेका अभियानकर्ताहरु अभियानको नेतृत्वमा पछि पर्दैगएका छन् । जसका कारण एउटा त सहकारी अभियानले सहि गति लिन सकिरहेको छैन भने, अर्को सहकारीको शाख गुम्दैगएको छ ।
त्यसैले सहकारी अभियानको हितकोलागि सहकारीको नेतृत्व पनि सहि हुनुपर्छ र नेतृत्व छनोट सहकारीकर्मीले नै गर्न पाउनुपर्ने आवाज उठिरहेको छ । त्यसैले सहकारी अखबारले आसन्न सहकारी बैंकको निर्वाचनलाई मध्यनजर गर्दै सहकारीकर्मी प्रतिनिधि पात्रहरुसंग सहकारी बैंकको अवको नेतृत्व कस्तो हुनुपर्ला भन्ने जिज्ञासालाई निरन्तर पस्किरहेको छ । यसै सन्दर्भमा सहकारी बैंकको शनिबार सम्पन्न २२औं वार्षिक साधारण सभामा अध्यक्ष गिरीले व्यक्त गरेको धारणा जस्ताको त्यस्तै प्रकाशन गरेका छौं ।
सहकारी बैंकलाई कसैको क्लब नबनाऔं, प्रोफेशनल व्यक्तिहरुले चलाउनुपर्छ
महेन्द्रकुमार गिरि (अध्यक्षः राष्ट्रिय सहकारी बैंक)
मेरो भनाइ के हो भने, सहकारी बैंक कि त ! प्रोफेशनल व्यक्तिहरुले चलाउनुपर्छ, होइन भने भएका व्यक्तिहरु पनि प्रोफेसनल बन्नुपर्छ । यो मान्यता अब स्थापित गरिएको छ । हामीले दुःख गर्यौ अब आउनेहरुले क्रेडिट पाउँछन । एक अर्बदेखि २ अर्ब नाफा हुँदैछ ।
यद्यपि, सञ्चित नोक्सानी ३ अर्ब बढी भएकाले नाफा बाँड्न भने सकिएन । अब आउने समितिले अलिकति बल गर्ने र खट्ने हो भने अवस्था निक्कै राम्रो हुन्छ । खुसीको कुरा अहिले सरकारले पनि बैंकलाई पत्याएको छ। सस्तो ब्याजदरको पैसा ल्याउनु जरुरी छ ।
विदेशबाट इम्प्याक्ट फण्ड ल्याउनु जरुरी छ र केही कुराहरु सुरुवात भएका छन् । सहकारी बैंकका १६ हजार सदस्य भएपनि धेरैको भोट दिने बेलामा मात्रै पत्र आउँछ । केवाइएम ६ हजारले मात्र भरेका छन् । १० हजार भन्दा बढी सक्रिय सदस्य छैनन् ।
६ हजार नाम मात्रका सदस्य छन् । उनीहरुको लागि शाखा खोलेको छ । त्यसैले गुणस्तरीय सदस्य अर्को चुनौती हो बैंकको लागि । ठूलो नभइ सानो सानो ऋण लगानी गर्नुपर्ने हुन्छ । अब लाभांस होइन सदस्य संस्थाहरुलाई सुविधा दिनुपर्छ भन्ने तर्फ बैंक गएको छ । ब्याजदर न्यून गर्न बेसरेट घटाउनुपर्यो । ५ प्रतिशतमा लगानी गर्न सक्नुपर्यो । बैंक पुनर्लगानी गर्ने संस्था भएकोले बेस रेट घटाउनुपर्छ ।
यी यावत कारणले गर्दा म भन्छु कुरा बुझ्ने साथी बैंकको सञ्चालक समितिमा आउनुपर्यो । चण्डीजी, डम्बरजीसहित हाम्रो जुम्लाको साथी सबै रहर गरी रहनुभएको छ । सबैलाई मेरो अनुरोध आउनुहोस् तपाईहरु । बिग्रेको केही छैन । अब कसरी राम्रो बनाउने भन्नेमा लागौं । धेरै कुरा हामीहरुले व्यवस्थित गरिसकेको छ ।
पुस १२ गतेको निर्वाचनमार्फत राम्रो नेतृत्व ल्याउने काममा सबैको सक्रिय सहभागिताको अपेक्षा र विश्वास गर्दछु । सल्लाहकारहरुलाई पनि त्यही आग्रह गर्छु । किनकि यहाँ अलि त्यस्तै त्यस्तै नै हुन्छ । त्यसलाई चाहिं अलि मिलाएर राम्रो टिम बनाउन यहाँहरुले भूमिका खेल्नुपर्छ ।
सहकारी बैंकलाई कसैको क्लब नबनाऔं । काम गर्ने साथीहरु जुनसुकै वा जताको भएपनि राम्रो हिसाबले आऔं । सौहार्दपूर्ण हिसाबले आऔं । यो मात्र होइन, नेफ्स्कून महासंघ आदि जहाँ जहाँ हुन्छ काम गर्ने प्रोफेशनल सबै क्षेत्रको साथीहरु आउँदा बेटर हुन्छ । यसको लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गर्दछु ।
Leave a comment